५ चैत, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडितहरुलाई राहत स्वरुप जस्ता पाता वितरण गर्ने भएको छ । हावाले घरको छानामा पूर्ण रुपमा क्षति पुर्याएका परिवारलाई जस्ता पाता प्रदान गर्ने तयारी नगरपालिकाले गरेको हो ।
२ चैतको साँझ आएको हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पुर्याएको नगरपालिकाको तथ्यांक छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २८, लेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ५ घर परिवारलाई जस्ता प्रदान गरिने मेयर बिमला राईले जानकारी दिइन् ।
छानाको सिंगो पाटो उडाइदिएपछि खुला आकाशमुनि बस्न बाध्य पीडितलाई नगरपालिकाले तत्काल जस्ता उपलब्ध गराउने तयारी थालेको हो । विपद् व्यवस्थापन कोषबाट जस्ता खरिद गरेर पीडितलाई प्रदान गर्ने नगरको योजना छ ।
थप राहत रकम चैत ९ गतेको हिउँदे सभामार्फत बजेट संशोधन गरेर जुटाइने मेयर राईले बताइन् । हावाहुरी पीडितलाई घरको साइज अनुसार जस्ता प्रदान गर्ने नगरपालिकाले जनाएको छ । हाललाई नगरपालिकाले ३१ परिवारलाई त्रिपाल बाँडेको छ ।
यस्तै, हावाहुरीले छाप्रो उडाइदिएपछि विचल्नीमा परेका तीन परिवारलाई नगरपालिकाले ढुंगामाटोको घर निर्माण गर्न सहयोग गर्ने मेयर राईले बताइन् ।
७ विद्यालयमा क्षति
हावाहुरीले बाहुनीडाँडास्थित मालिकादेबी मावि कदुवा, पञ्चावतीदेवी आवि बेता र बेलडाँडा आवि ढोडेनीको छाना उडाइदिएको छ । यस्तै, च्यास्मीटारस्थित नमुना आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयको छाना उडाइदिएको छ ।
राजापानीस्थित जलन्धारा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयको पनि छाना छरपष्ट बनेको छ । बाहुनीडाँडाको बरडाँडा सामुदायिक खोपकेन्द्रमा समेत क्षति पुगेको वडाध्यक्ष रुद्र राईले बताए । हावाहुरीले सामुदायिक संस्था तथा मण्डलीहरुमा पनि क्षति पुगेको छ ।
प्रतिक्रिया 4