+
+
Shares

मध्यपहाडी लोकमार्ग : जयराम-हलेसी सडक स्तरोन्नतीमा सरकारको चरम बेवास्ता

मध्यपहाडीको अन्य खण्ड मापदण्डअनुसार बनाइँदा जयराम–हलेसी ३५ किलोमिटर खण्डलाई पूरै बेवास्ता गरिएको छ ।

दमन राई दमन राई
२०८२ चैत २६ गते १६:५७

२६ चैत, खोटाङ । खोटाङको जयराम–हलेसी सडक खण्डलाई मध्यपहाडीको मापदण्डअनुसार स्तरोन्नती गर्न ढिलासुस्ती भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गको ‘एलाइनमेन्ट’मा पर्ने भए पनि यो सडक खण्ड मापदण्डअनुसार चौडा गर्न सरकारले बेवास्ता गरेको छ ।

मध्यपहाडीको अन्य खण्डको चौडाइ कम्तीमा नौ मिटर कायम गरिएको छ । मध्यपहाडीको अन्य खण्ड मापदण्डअनुसार बनाइँदा जयराम–हलेसी ३५ किलोमिटर खण्डलाई पूरै बेवास्ता गरिएको छ । जयरामघाट–हलेसी सडकखण्डको चौडाइ हाससम्म बढीमा पाँच मिटर मात्र छ ।

जयराम–हलेसी सडकखण्ड २०६५ देखि २०६७ सालमा ओटासिल पिच गरिएको थियो । पछि ०६९/०७० मा मध्यपहाडी लोकमार्ग आयोजना सुरु गर्दा जयराम–हलेसी सडक छाडेर अन्य खण्डमा मात्रै स्तरोन्नतीको काम भयो ।

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने यो सडक खण्ड काठमाडौंलगायतका अन्य सहर आवत–जावत गर्ने एकमात्र मार्ग हो । यो सडकमा दैनिक हलेसी र दिक्तेल आउनेजाने सवारी साधनको संख्या ठूलो हुन्छ ।

सडक साँघुरो र जिर्ण हुँदा सबैभन्दा धेरै हलेसी आएर फर्कने दर्शनार्थी मारमा परेका छन् । भक्तजनले हलेसी आउनेजाने क्रममा जोखिम मोलेर साँघुरो सडक पार गर्नुपरेको भन्दै गुनासो पोख्ने गरेको हलेसीका व्यावसायी राजेश राई बताउँछन् ।

‘जयराम–हलेसी सडक खण्ड साँघुरो छ । मोडहरूमा लामो गाडीलाई टर्निङ गर्न कठिन छ,’ उनले भने, ‘नियमित मर्मत अभावमा उत्तिकै खाल्डाखुल्डी बनेको छ । खाल्डोमा वर्षा याममा पानी जमेर आहाल बन्ने गरेको छ ।’

पुर्व–पश्चिम जोड्ने बाटो खुलेपनि बीचमा पर्ने जयराम–हलेसी खण्डको अवस्था नाजुक हुँदा त्यसले आगन्तुकसम्म जिल्लाकै छविमा नराम्रो छाप परेको उनी बताउँछन् । ‘यसलाई मध्यपहाडीको मापदण्ड अनुसार बनाइनुपर्‍यो । त्रि–धार्मिकस्थल हलेसीमा भक्तजन आउनुहुन्छ । यत्रो ठूलो धार्मिकस्थल छ तर बाटोचैं किन यती साँघुरो भयो भनेर प्रश्न गर्नुहुन्छ,’ उनले भने ।

आवधिक मर्मत अन्तरगत सडक विभाग र पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले जयराम–हलेसी सडकलाई पटक–पटक मर्मत गर्दैआएको छ । सडक विभागले हेर्दैआएको सो खण्ड आफ्नो ‘एलाइनमेन्ट’मा परेपछि मध्यपहाडीले रेखदेख गर्दैआएको छ । तर सो खण्डलाई मध्यपहाडीको मापदण्ड अनुसार स्तरोन्नती गर्नुको सट्टा टालटुल गर्ने गरिएको छ ।

मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक खण्ड । तस्वीर : दमन राई/अनलाइनखबर

यसैबीच खोटाङका प्रतिनिधिसभा सदस्य आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाह र भौतिक पुर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई भेटेर हलेसी–जयराम सडकलाई मध्यपहाडीको मापदण्ड अनुसार निर्माण गर्न लिखित माग राखेका छन् । मध्यपहाडीको मापदण्ड अनुसार बनाउन छुटेको हलेसी–जयराम सडकलाई मापदण्ड अनुसार बनाउनका लागि १५ करोड बजेट माग गरिएको प्रतिनिधिसभा सदस्य राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?