News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ग्लोबल फोरम (ओईसीडी)को १७३ औं सदस्य बनेको छ र यसले सूचना आदानप्रदानका विश्वव्यापी मापदण्ड कार्यान्वयन गर्नेछ।
- आन्तरिक राजस्व विभागले सदस्यताले वैदेशिक कर छली र सम्पत्ति शुद्धीकरण विरुद्धको अभियान सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
- नेपालले पियर रिभ्यु प्रक्रियामा भाग लिने र कानुनी, नियामक सुधार गरी विश्वव्यापी सर्वोत्तम अभ्यासहरू अपनाउने प्रतिबद्धता जनाएको छ।
५ चैत, काठमाडौं । पारदर्शिता र कर प्रयोजनका लागि सूचना आदानप्रदान सम्बन्धी ग्लोबल फोरम (ओईसीडी)को १७३औं सदस्यका रूपमा नेपाल आबद्ध भएको छ ।
अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले यसबारे जानकारी गराएको हो । विभागले यस कदमलाई ऐतिहासिक उपलब्धी भनेको छ । यसबाट नेपालको अन्तर्राष्ट्रिय कर सहयोग र सुदृढ वित्तीय सुशासनतर्फको यात्रा अझ सुदृढ हुने विभागको विश्वास छ । ग्लोबल फोरमको सदस्यतासँगै नेपालले अब सूचना आदानप्रदानका विश्वव्यापी मापदण्ड कार्यान्वयन गर्ने अन्तर्राष्ट्रिय निकायहरूसँग प्रत्यक्ष सहकार्य गर्ने सूचनामा उल्लेख छ ।
सदस्य बनेसँगै अवैध वित्तीय प्रवाह नियन्त्रण हुने विश्वास लिइएको छ । यसबाट वैदेशिक कर छलीको निगरानी र सम्पत्ति शुद्धीकरण विरुद्धको विश्वव्यापी अभियान सुदृढ हुने भएको छ । आन्तरिक स्रोत परिचालन वृद्धि हुने समेत विभागको भनाइ छ । निष्पक्ष कर संकलनमार्फत राष्ट्रिय विकास आयोजनाका लागि पूँजी जुटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । यसले विश्वव्यापी प्रतिष्ठा बढ्ने छ । नेपालले वित्तीय पारदर्शिताका विश्वव्यापी मापदण्ड पालना गर्छ भन्ने सन्देश प्रवाह गरी वैदेशिक लगानीकर्ताको आत्मविश्वास बढाउने विभागले बताएको छ ।
नयाँ सदस्यका रूपमा अब नेपालले ‘अनुरोधमा सूचना आदानप्रदान’ र ‘साझा रिपोर्टिङ मापदण्ड’अन्तर्गत ‘सूचनाको स्वचालित आदानप्रदान’ सम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ । यसका लागि नेपालले ‘पियर रिभ्यु’ प्रक्रियामा समेत भाग लिने विभागले जनाएको छ।
सरकारले नेपालको कानुनी र नियामक ढाँचाहरूलाई विश्वव्यापी सर्वोत्तम अभ्यासहरूसँग मेल खाने गरी सुधार गर्न ग्लोबल फोरम सचिवालयसँग नजिक रहेर काम गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
ग्लोबल फोरम कर पारदर्शिता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू विश्वभर कार्यान्वयन गर्ने अग्रणी निकाय हो । यसमा ओईसीडी, जी–२० का सदस्य राष्ट्रहरूसहित १७३ वटा क्षेत्राधिकार सामेल रहेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया 4