News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल जेनजी फ्रन्टले माइतीघर मण्डलामा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको कडा निन्दा गरेको छ।
- फ्रन्टले शान्तिपूर्वक आन्दोलन गर्ने अधिकारमाथि आक्रमण सह्य नहुने स्पष्ट पारेको छ।
- फ्रन्टले छानबिन प्रतिवेदन सार्वजनिक नहुने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनमा मनोबल विचलित नहुने बताएको छ।
६ चैत, काठमाडौं । भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको फ्रन्टले कडा निन्दा गरेको छ।
फ्रन्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चैत ५ गते संयोजक बममाथि भएको घटनाको घोर भर्त्सना गरेको हो। शान्तिपूर्वक भेला हुने र विचार राख्ने संवैधानिक अधिकारको प्रयोग गरिरहेकी आन्दोलनकारीमाथिको आक्रमण सभ्य लोकतान्त्रिक समाजमा सह्य नहुने फ्रन्टले स्पष्ट पारेको छ।
विज्ञप्तिमा सहिद परिवार र घाइतेहरूका आफन्तको पीडा, आक्रोश र प्रश्नहरूलाई आफूहरूले सधैँ सम्मान गर्ने उल्लेख गरिएको छ। तर, आन्दोलनकारीहरूबीच आपसमा हुने यस्ता आक्रमणले आन्दोलनलाई नै कमजोर बनाउने भन्दै फ्रन्टले सचेत गराएको छ।
‘यी प्रश्नहरूको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’
विज्ञप्तिमा संयोजक रक्षा बमको राजनीतिक अडान र इमानदारीको पनि बचाउ गरिएको छ। बमले भदौ २३ गते बिहान माइतीघरमा आन्दोलनको अनुशासनबारे बोलेको, जङ्गी अड्डामा अनधिकृत प्रवेशको विरोध गरेको र निर्वाचित राष्ट्रपतिसँग मात्र छलफल गर्ने अडान राखेको स्मरण गराइएको छ।
‘सिङ्गो देश नै परिवर्तनको पक्षमा उभिरहेको र आन्दोलनको बलमा संसद्मा पुग्न अत्यन्तै सहज रहेको अवस्थामा पनि रक्षा बमले सडक रोजेकी हुन्,’ फ्रन्टले भनेको छ।
छानबिन प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै फ्रन्टले सम्पूर्ण आन्दोलनकारी, घाइते र सहिद परिवार एउटै यात्राका साझेदार भएको बताएको छ।
यस्ता घटनाले आफ्नो प्रतिबद्धता र मनोबल कत्ति पनि विचलित नहुने र एक्लै भए पनि सही मुद्दा बोकेर लड्ने साहस फ्रन्टले व्यक्त गरेको छ ।
प्रतिक्रिया 4