प्रविधि जगतको एउटा तरंगित पार्ने समाचार सार्वजनिक भएको छ । मेटा कम्पनीका सिइओ मार्क जुकरबर्गले भविष्यको इन्टरनेटका रूपमा प्रस्तुत गरेको मेटाभर्स अवधारणा अन्ततः असफल भएको छ । ५ वर्षसम्म अर्बौं डलर लगानी गर्दा समेत सफल नभएपछि मेटाले आफ्नो उक्त भर्चुअल रियलिटी प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ ।
मेटाका अनुसार कम्पनीको सोसल भर्चुअल रियालिटी प्लेटफर्म होराइजन वर्ल्डसलाई आगामी जुन १५ भित्र पूर्णरूपमा बन्द गरिनेछ । मार्च अन्त्यसम्म यो एपलाई मेटा क्वेस्ट स्टोरबाट हटाइनेछ । त्यसपछि प्रयोगकर्ताले यसलाई केवल मोबाइल एपका रूपमा मात्र प्रयोग गर्न सक्नेछन् । जसले भिआर अनुभवलाई लगभग समाप्त गरिदिनेछ।
८० अर्ब डलरको घाटा
मेटाभर्समा अत्यधिक लगानी गर्दा मेटा कम्पनीले करिब ८० अर्ब अमेरिकी डलर बराबरको घाटा बेहोर्नु परेको छ । सन् २०२० यता कम्पनीको रियालिटी ल्याब्स डिभिजन लगातार घाटामा चलिरहेको थियो । यसको असर कर्मचारीहरूमाथि पनि परेको छ । गत जनवरीमा कम्पनीका १ हजार जना कर्मचारी हटाइएका थिए भने आगामी दिनमा थप १५ हजार जनासम्म कटौती हुन सक्ने बताइएको छ।
के थियो मेटावर्स ? किन असफल भयो ?
मेटाभर्स एक डिजिटल भर्चुअल संसारको अवधारणा थियो, जहाँ मानिसहरूले आफ्नो अवतारमार्फत भेटघाट, कामकाज र मनोरञ्जन गर्न सक्थे । फेसबुकले सन् २०२१ मा आफ्नो नाम परिवर्तन गरेर मेटा राख्दै मेटाभर्सयसलाई भविष्यको इन्टरनेटका रूपमा प्रचार गरेको थियो ।
मेटाको रियालिटी ल्याब्सका पूर्व सदस्य वसुमान मोजाका अनुसार यो परियोजना असफल हुनुको मुख्य कारण व्यवस्थापनको कमजोरी थियो । उनका अनुसार कम्पनीको मध्यतहको व्यवस्थापनले वर्तमानका युवाहरूले प्रविधि कसरी प्रयोग गर्छन् भन्ने कुरा बुझ्न सकेन ।
उनी भन्छन्- डेभलपरहरूलाई उपयोगी हुने एउटा टूल बनाइएको थियो तर व्यवस्थापनले त्यसलाई बन्द गरिदियो र टोलीलाई अनावश्यक परियोजनामा लगाइयो । यस्ता निर्णयहरू हरेक टिममा दोहोरिएका कारण ठूलो लगानी हुँदाहुँदै पनि परियोजना सफल हुन सकेन ।
मेटाको ध्यान अब एआई र स्मार्ट चश्मातर्फ
मेटाभर्स असफल भए पनि कम्पनीले नयाँ क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको छ । विशेषगरी रेबन स्मार्ट चस्मा बजारमा सफल देखिएका छन् । यो चश्मा ७० लाख गोटाभन्दा बढी बिक्री भइसकेको छ ।
साथै कम्पनीको मुख्य ध्यान आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित भएको छ । यद्यपि यस क्षेत्रमा पनि धेरै चुनौतीहरू छन् । कम्पनीको नयाँ एआई मोडेल एभोकाडो आन्तरिक परीक्षणमा असफल भएपछि स्थगित गरिएको छ । साथै एआई क्षमतालाई सुदृढ बनाउन मोल्टबुक नामक सामाजिक सञ्जाल प्लाटफर्मलाई मेटाले खरिद गरेको छ ।
विश्लेषकहरूका अनुसार मेटाभर्सको असफलता प्रविधि उद्योगका लागि एउटा ठूलो पाठ बनेको छ । यसले केवल ठूलो लगानीले मात्र सफलता सुनिश्चित नहुने अनि प्रयोगकर्ताको आवश्यकता र व्यवहार बुझ्न नसकेमा भविष्यका रूपमा देखाइएको अवधारणा पनि धराशायी हुने तथ्यलाई यसले पुष्टि गरेको छ ।
एजेन्सी
प्रतिक्रिया 4