+
+
Shares

जलवायु परिवर्तनले बढ्न सक्छन् बालीमा क्षति पुर्‍याउने किरा

तापक्रम बढ्दै जाँदा, वर्षाको ढाँचा अनियमित बन्दै जाँदा, खेती प्रणालीमा दबाब बढ्दै जाँदा र भूमि प्रयोग परिवर्तन हुँदै जाँदा, बाली खाने किरा जैविक रूपमा झन् अनुकूल अवस्थामा पुगेका छन्।

डा. प्रयन पोखरेल डा. प्रयन पोखरेल
२०८२ चैत ७ गते १४:३५

जलवायु परिवर्तन अब भविष्यमा आउन सक्ने सम्भावित संकट होइन, यो नेपालका लागि वर्तमानको यथार्थ भइसकेको छ। बाढी, पहिरो, खडेरी, असामान्य वर्षा, लामो सुक्खा अवधि र तापलहरजस्ता घटनाले हरेक वर्ष देशका कुनै न कुनै भागमा ठूलो क्षति पुर्‍याइरहेका छन्।

किसानले आफ्नो जीवनयापनसँग जोडिएको कृषि प्रणालीलाई दिनप्रतिदिन अनिश्चित बन्दै गएको अनुभव गरिरहेका छन्।

जलवायु परिवर्तनले खाद्य सुरक्षामा पारिरहेको एउटा गहिरो र दीर्घकालीन असर अझै पर्याप्त रूपमा सार्वजनिक बहसको केन्द्रमा आएको छैन। त्यो असर खेतमै सुरु हुन्छ। सुरुमा किराको उपस्थिति सामान्य देखिए पनि, समयसँगै बालीमा क्षति पुर्‍याउने किराको संख्या, गतिविधि र प्रभाव उल्लेखनीय रूपमा बढ्दै जान्छ।

विश्वभर बालीमा क्षति पुर्‍याउने किरा र बालीमा लाग्ने रोगका कारण हरेक वर्ष करिब ४० प्रतिशत कृषि उत्पादन नष्ट हुने अनुमान गरिएको छ। यो क्षति खेतमै हुन्छ, बजारमा पुग्नुअघि नै।

नेपालजस्तो देशमा, जहाँ अधिकांश किसान साना छन्, उत्पादन सीमित छ, भण्डारण क्षमता कमजोर छ र किसानको आय कृषि बाहेकका स्रोतबाट पूरक मात्र हुन्छ, यस्तो क्षति झन् गम्भीर हुन्छ। जलवायु परिवर्तनले यही क्षतिलाई अझ तीव्र बनाइरहेको छ।

तापक्रम बढ्दै जाँदा, वर्षाको ढाँचा अनियमित बन्दै जाँदा, खेती प्रणालीमा दबाब बढ्दै जाँदा र भूमि प्रयोग परिवर्तन हुँदै जाँदा, बाली खाने किरा जैविक रूपमा झन् अनुकूल अवस्थामा पुगेका छन्। यसको असर अहिले देखिन थालेको छ र आगामी दशकहरूमा अझ गहिरो हुने संकेत स्पष्ट छन्।

विश्व तापक्रम २ डिग्री सेल्सियससम्म बढ्दा प्रमुख खाद्य बालीमा किरा–जन्य क्षति उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ। गहुँमा यस्तो क्षति करिब ४६ प्रतिशत, धानमा १९ प्रतिशत र मकैमा ३१ प्रतिशतसम्म बढ्ने देखिन्छ।

यी तथ्यांक केवल वैज्ञानिक अनुमान मात्र होइनन्। यी नेपालका लागि प्रत्यक्ष चेतावनी हुन्। धान र मकै नेपाली खाद्य प्रणालीको आधार हुन्।

यी बालीमा किराको क्षति बढेपछि त्यसको असर केवल खेतसम्म सीमित रहँदैन। त्यसले खाद्य मूल्य बढाउँछ, आयात निर्भरता बढाउँछ, पोषण अवस्था बिगार्छ र सामाजिक तथा आर्थिक स्थायित्वमा समेत असर पार्छ।

किरा किन बलियो बन्दैछन् ?

किरा किन जलवायु परिवर्तनसँगै बलियो बन्दैछन् भन्ने प्रश्नको उत्तर किरा जीवविज्ञानमै छ। किरा चिसो रगत भएका जीव हुन्। तिनीहरूको विकास, प्रजनन र बाँच्ने क्षमता वातावरणीय तापक्रमसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ।

तापक्रम बढेसँगै किरा छिटो बढ्छन्, छिटो प्रजनन गर्छन् र एउटै बाली सिजनमा धेरै पुस्ता उत्पादन गर्न सक्छन्। पहिले कडा जाडोले धेरै किरा मर्ने वा सुप्त अवस्थामा जाने गर्थे, अहिले भने न्यानो जाडोका कारण तिनीहरू सजिलै बाँच्न थालेका छन्।

नेपालमा पछिल्ला वर्षहरूमा जाडो छोटिँदै गएको छ र न्यूनतम तापक्रम बढ्दै गएको छ। यसले कडा चिसोका कारण हुने किरा मृत्यु घटाएको छ, साथै पहिले जाडोमा निष्क्रिय रहने किरा छिट्टै सक्रिय हुन थालेका छन्।

वसन्त चाँडै सुरु हुँदा किरा पनि चाँडै देखिन थाल्छन्। यसको अर्थ बालीमा क्षति पहिलेभन्दा चाँडै सुरु हुन्छ र लामो समयसम्म जारी रहन्छ। यस्तो अवस्थामा किसानले पहिले प्रयोग गर्दै आएका रोपाइँ समय, विषादी छर्ने समय र परम्परागत नियन्त्रण उपाय धेरैजसो अवस्थामा अब मिल्न छाडेका छन्।

जलवायु परिवर्तनले किराको फैलावटको दायरा पनि बदलिरहेको छ। विश्वभर धेरै किरा चिसो क्षेत्रतर्फ र उचाइतर्फ सर्दै छन्। हिमाली देश नेपालका लागि यो परिवर्तन विशेष चिन्ताको विषय हो।

पहिले कडा जाडोका कारण सुरक्षित रहेका पहाडी र उच्च पहाडी क्षेत्रहरू अहिले धेरै किराका लागि उपयुक्त बन्दै गएका छन्। त्यसैले ती क्षेत्रमा पहिले नदेखिएका किरा देखिन थालेका छन्, जसको पहिचान र व्यवस्थापन किसान र स्थानीय निकाय दुवैका लागि चुनौतीपूर्ण बन्दै गएको छ।

यो प्रवृत्ति कृषि क्षेत्रमा मात्र सीमित छैन। पछिल्ला वर्षहरूमा उचाइका बस्तीहरूमा पनि डेंगु फैलाउने लामखुट्टे देखिन थालेका छन्, जहाँ पहिले त्यस्तो जोखिम प्रायः थिएन। यस्तै, युरोपमै हेर्ने हो भने दक्षिण युरोपका केही कीरा अहिले उत्तर युरोपका देशहरूमा समेत देखिन थालेको अनुसन्धानहरूले देखाएका छन्।

नेपालको जोखिम फरक तर गहिरो

नेपालको कृषि प्रणाली पश्चिमी देशको जस्तो ठूला क्षेत्रमा एकल बाली खेतीमा ९मोनोकल्चर० आधारित छैन। यहाँ सयौँ हेक्टरमा फैलिएका खेत, ठूलो कम्पनीद्वारा सञ्चालित कृषि र एउटै बाली मात्र लगाइने प्रणाली प्रचलनमा छैन।

यहाँ साना किसान, सिँढीदार ९टेरेस० खेती र मिश्रित बाली प्रणाली नै कृषि संरचनाको आधार हो। तराईमा धान, मध्यपहाडमा मकै, कोदो, दलहन, तरकारी र फलफूल एउटै क्षेत्रमा मिसिएर लगाइन्छ।

यो विविधता नेपालको कृषि प्रणालीको ठूलो शक्ति हो। यसले उत्पादनको जोखिम विभाजन गर्छ, माटो जोगाउँछ र पारिस्थितिक सन्तुलन कायम राख्न मद्दत गर्छ। तर यही विविधताले किराको जोखिमलाई फरक किसिमले बढाउँछ। नेपालमा समस्या एउटै किराले ठूलो क्षेत्र सखाप पार्नेभन्दा पनि धेरै किसिमका किरा फरक–फरक समयमा, फरक बालीमा देखिनु हो।

जलवायु परिवर्तनसँगै किरा समुदाय पुनःव्यवस्थित हुँदैछन्। केही किरा पहिलेभन्दा चाँडै देखिन थालेका छन्। केही पहिलेभन्दा लामो समयसम्म खेतमै टिक्न थालेका छन्। केहीले बाली परिवर्तन गर्दै क्षति पुर्‍याउन थालेका छन्। यसले किसानलाई झन् अन्योलमा पार्छ। कुन किरा कहिले आउँछ भन्ने अनिश्चितताले परम्परागत ज्ञान र अभ्यासलाई कमजोर बनाइरहेको छ।

धान प्रणालीमा बढ्दो दबाब

तराई नेपालको प्रमुख खाद्य उत्पादन क्षेत्र हो। देशको ठूलो जनसंख्या यही क्षेत्रको धानमा निर्भर छ। तर यही क्षेत्र जलवायु परिवर्तनको असर पनि सबैभन्दा तीव्र रूपमा भोगिरहेको छ।

पछिल्ला वर्षहरूमा रातिको तापक्रम उल्लेखनीय रूपमा बढेको छ। मनसुन कहिले ढिला हुन्छ, कहिले छोटो समयमा अत्यधिक वर्षा हुन्छ। कहिले लामो समयसम्म पानी नपर्ने अवस्था आउँछ। धानका धेरै किरा न्यानो र आर्द्र, अर्थात् चिस्यानयुक्त वातावरणमा छिटो बढ्छन्। पानी भरिएका खेतले किरालाई तापक्रमको चरम अवस्थाबाट जोगाउँछन्।

तापक्रम बढ्दै जाँदा धानमा किरा चाँडै लाग्न थाल्छ। धेरै पुस्ता उत्पादन हुन्छ। कटनीअघि नै ठूलो क्षति पुग्छ। विश्व तापक्रम २ डिग्री बढ्दा धानमा करिब १९ प्रतिशतसम्म किरा–जन्य क्षति बढ्ने अनुमान नेपालका लागि गम्भीर संकेत हो। धानमा यस्तो क्षतिले मूल्य बढाउँछ।

आयात निर्भरता बढाउँछ। गरीब परिवारको खाद्य पहुँच कमजोर बनाउँछ। राज्यको खाद्य भण्डारण, मूल्य नियन्त्रण र सामाजिक सुरक्षा प्रणालीमा दीर्घकालीन दबाब सिर्जना गर्छ।

फौजी र बदलिँदो किरा तराईदेखि मध्यपहाडसम्म

पछिल्ला वर्षहरूमा नेपालमा देखिन थालेको एक प्रमुख आक्रामक किरा हो फौजी किरा ९फॉल आर्मीवर्म०। यो किरा मूलतः अमेरिकाको हो र पछिल्लो एक दशकमा अफ्रिका हुँदै एसियामा तीव्र गतिमा फैलिएको छ।

नेपालमा पनि यसले गम्भीर चुनौती खडा गरेको छ। फौजी किराले ८० भन्दा बढी फरक–फरक बालीमा क्षति पुर्‍याउन सक्छ, र विशेष गरी मकै यसको मुख्य आहार हो। अनुकूल अवस्थामा यसले करिब ३० दिनमै आफ्नो जीवनचक्र पूरा गर्छ र एउटै सिजनमा धेरै पुस्ता उत्पादन हुन्छ। समयमै नियन्त्रण नभए मकै उत्पादनमा २० देखि ५० प्रतिशत वा त्योभन्दा बढी क्षति हुन सक्छ।

फौजी किरा लामो दूरी उड्न सक्छ र एकै सिजनमा धेरै जिल्ला पार गर्न सक्छ। तापक्रम बढ्दै जाँदा यो किरा तराईबाट मध्यपहाडतर्फ सर्दै गएको संकेत पनि देखिन थालेका छन्। यसले मकै मात्र होइन, धान, तरकारी र अन्य बालीमा पनि जोखिम बढाएको छ। यस्तो किराको नियन्त्रण कुनै एक किसान वा एक पालिकाको क्षमताभन्दा बाहिरको विषय हो, किनकि यसको फैलावट र समयमै पहिचान नै सबैभन्दा ठूलो चुनौती बन्छ।

मध्यपहाडमा मकै खेती प्रायः वर्षामा निर्भर हुन्छ र सिँचाइ सीमित हुन्छ। मौसम अलि बिग्रिँदा उत्पादनमा ठूलो असर पर्छ। मध्यम खडेरीले मकै कमजोर बनाउँछ र किराको आक्रमण सहन सक्ने क्षमता घटाउँछ।

तापक्रम बढ्दै जाँदा पहिले जाडोका कारण कम देखिने किरा अहिले पहाडमा पनि देखिन थालेका छन्। विश्व तापक्रम २ डिग्री बढ्दा मकैमा करिब ३१ प्रतिशतसम्म किराजन्य क्षति बढ्ने अनुमान विशेष रूपमा चिन्ताजनक छ। मकै पहाडी किसानका लागि खाने अन्न मात्र होइन, पशुपालनको आधार, नगद आम्दानीको स्रोत र धान नपुग्दा विकल्प पनि हो। त्यसैले मकैमा बढ्दो क्षतिले ऋण, वैदेशिक रोजगारी र खाद्य असुरक्षातर्फ धकेल्ने जोखिम बढाउँछ।

जलवायु परिवर्तनले किरा बढाइरहेको मात्र छैन, प्राकृतिक नियन्त्रणको सन्तुलन पनि कमजोर बनाइरहेको छ। परजीवी कीरा, सिकार गर्ने कीरा र सूक्ष्म जीवजस्ता प्राकृतिक शत्रु प्रायः ताप र चिस्यानको चरम अवस्थासँग हानिकारक किराभन्दा कम अनुकूल हुन्छन्। तापक्रम बढ्दा र चरम मौसम बढ्दा जैविक नियन्त्रण कमजोर हुन्छ।

वर्षा ढाँचाको अनियमितताले समस्या झन् जटिल बनाउँछस् ठूलो वर्षाले केही किरा बगाए पनि लामो समयको चिस्यानले धेरै किरालाई फाइदा पुर्‍याउँछ, र मध्यम खडेरीले बाली कमजोर हुँदा क्षति झन् बढ्छ।

नीति, शासन र जिम्मेवारी

यो केवल किसानको समस्या होइन। यो राष्ट्रिय खाद्य सुरक्षा, मूल्य स्थिरता र ग्रामीण जीविकासँग जोडिएको प्रश्न हो। नेपालमा केही सकारात्मक पहल छन्। लि–वर्डले किसानमैत्री अभ्यास र कृषि जैविक विविधतासँग जोडिएका कामहरू स्थानीय तहसम्म पुर्‍याइरहेको छ।

नेपाल कृषि अनुसन्धान परिषद्ले किरा पहिचान, सर्वेक्षण र व्यवस्थापनसम्बन्धी प्राविधिक सामग्री तयार गरिरहेको छ। साझेदार संस्थाले मकैमा फौजी किरा लगायत आक्रामक किराको निगरानी र व्यवस्थापनमा सहकार्य गरिरहेका छन्। तर यी प्रयासहरू अझै टुक्राटुक्रा छन् र देशभर आवश्यक पर्ने स्तरको तयारी बन्न सकेको छैन।

मुख्य कमजोरी ‘समस्या देखिएपछि’ प्रतिक्रिया दिने अभ्यास हो। नियमित निगरानी, फैलावटको नक्साङ्कन, जोखिमको पूर्वानुमान र समयमै चेतावनी दिने प्रणाली कमजोर हुँदा क्षति घटाउन गाह्रो हुन्छ। फौजी किरा जस्ता आक्रामक किरा गाउँपालिका वा जिल्ला सीमामा रोकिँदैनन्, त्यसैले नियन्त्रण पनि व्यक्तिगत किसानको प्रयासमा सीमित हुन सक्दैन। संस्थागत संयन्त्र, स्पष्ट जिम्मेवारी र निरन्तर बजेट चाहिन्छ।

युरोप र उत्तर अमेरिकातिर किरा जोखिमलाई धेरै हदसम्म प्रणालीमै बाँध्ने प्रयास देखिन्छ। त्यहाँ निगरानी र तापक्रम–आधारित पूर्वानुमानमार्फत किरा कहिले सक्रिय हुन्छ भन्ने जानकारी किसान र सल्लाहकारसम्म पुर्‍याउने ‘पूर्वानुमान सेवा’ विकास गरिएको छ।

एकीकृत किरा व्यवस्थापनलाई नीति र अभ्यासमा जोड्ने, र आक्रामक किरालाई जैविक सुरक्षाको चुनौती मानेर नियमित पूर्वानुमान र द्रुत प्रतिक्रिया संयन्त्र चलाउने अभ्यास पनि बढ्दो छ। यस्तो संरचनाले किसानलाई अन्धाधुन्ध होइन, सही समयमा र सही उपाय अपनाउन मद्दत गर्छ।

नेपालका लागि आवश्यक दिशा स्पष्ट छ। संघीय सरकारले राष्ट्रिय स्तरको निगरानी र पूर्व चेतावनी प्रणाली तथा समन्वयको नेतृत्व गर्नुपर्छ। प्रदेशले क्षेत्रअनुसार प्राथमिक किराको सूची र प्राविधिक जनशक्ति बलियो बनाउनुपर्छ। स्थानीय तहले किसानसँग जोडिने कृषि सेवा, सामुदायिक निगरानी र तुरुन्त प्रतिक्रिया संयन्त्र सक्रिय बनाउनुपर्छ।

अनुसन्धान, प्रसार र किसानको अभ्यासलाई एउटै शृंखलामा जोड्ने शासन व्यवस्था बिना किरा जोखिम नियन्त्रण सम्भव छैन। जलवायु परिवर्तनले खेतको सन्तुलन बदलिरहेको छ, किरा छिटो बदलिँदैछन्, नीति भने अझै पछाडि छ। अब निर्णय स्पष्ट छ। किरा समस्यालाई जलवायु नीतिको मुख्य प्राथमिकता बनाउने कि बालीको क्षति र खाद्य असुरक्षा बढ्दै गएको हेर्दै बस्ने ?

(जर्मनीमा कीरा विज्ञानमा विद्यावारिधि तथा पोस्टडक्टरल अनुसन्धान गरेका लेखक हाल कृषि जैविक विविधता र किरा–आश्रय सम्बन्धबारे अनुसन्धान गर्दैछन्।)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?