News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियामा कार्यरत प्राध्यापक ठाकुर ढकालले सन् २०२६–२०२९ अवधिका लागि जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानका लागि करिब २ करोड ४० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।
- यो परियोजना दक्षिण कोरियाको योङ्नाम विश्वविद्यालय अनुसन्धान प्रतिष्ठान अन्तर्गत सञ्चालन हुनेछ र ढकाल प्रमुख अनुसन्धानकर्ता हुनेछन्।
- ढकालले सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य र नेटवर्क विस्तारका लागि आह्वान गरेका छन्।
काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपाली वैज्ञानिक प्राध्यापक ठाकुर ढकालले झण्डै साढे २ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन् ।
जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र इको–रीजियमसम्बन्धी अध्ययनका लागि दक्षिण कोरियाको नेशनल रिसर्च फाउन्डेशन (एनआरएफ) ले उनलाई सन् २०२६–२०२९ अवधिका लागि तीन वर्षे परियोजनामा आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । उक्त परियोजनाको कुल बजेट करिब २ करोड ४० लाख नेपाली रुपैयाँ बराबर रहेको छ ।
यो परियोजना दक्षिण कोरियाको योङ्नाम विश्वविद्यालय अनुसन्धान प्रतिष्ठान अन्तर्गत सञ्चालन हुनेछ । प्राध्यापक ढकालले परियोजनामा प्रमुख अनुसन्धानकर्ताका रूपमा नेतृत्व गर्नेछन् । परियोजना २०२६ मार्च १ देखि २०२९ फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत यस्तो ठूलो अनुदान प्राप्त गर्नु नेपाली वैज्ञानिकका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । विशेषगरी जलवायु परिवर्तनजस्तो विश्वव्यापी चुनौतीसँग सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्न अनुदान प्राप्त हुनु अझ अर्थपूर्ण ठानिएको छ ।
ढकालले आफ्नो सफलता सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सहयोग गर्ने सहकर्मी, अनुसन्धान साझेदार तथा संस्थाप्रति आभार व्यक्त गरेका छन् । साथै, उनले अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य र नेटवर्क विस्तारका लागि समेत आह्वान गरेका छन् ।
दक्षिण कोरियाजस्तो अनुसन्धानमुखी देशमा नेपाली वैज्ञानिकको प्रस्ताव छनोट हुनु केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली बौद्धिक समुदायका लागि पनि गौरवको विषय बनेको छ । यो परियोजनाले नयाँ अनुसन्धान तथा विकासका अवसर सिर्जना गर्नुका साथै नेपाली अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
वातावरणीय संरक्षण, जलवायु जोखिम तथा इको–रीजियम अध्ययनमा नयाँ ज्ञान उत्पादन गर्ने अपेक्षा गरिएको यस परियोजनालाई नेपाली वैज्ञानिकको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
प्रतिक्रिया 4