News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले १३ चैतमा वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठनको तयारी तीव्र बनाएको छ।
- रास्वपाले १२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ र १३ चैतमा प्रधानमन्त्रीको शपथ हुने जनाएको छ।
- रास्वपाले १५ देखि १८ मन्त्रालय राख्ने र मन्त्रीको नाम १२ चैत साँझसम्म टुंगो लगाउने तयारी गरिरहेको छ।
८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठनको तयारी तीव्र बनाएको छ ।
२१ फागुनमा भएको प्रतिनिधिसभा चुनावमा अन्तिम परिणाम आएसँगै रास्वपाले सरकार गठनको तयारी गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समन्वयको काम पूरा भएको छ ।
‘राष्ट्रपति, प्रधानमन्त्री कार्यालय, संसद् सचिवालय र निर्वाचन आयोगसँग समन्वय भइसकेको छ । १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,’ महामन्त्री बुर्लाकोटीले भने ।
त्यसअघि १२ गते नवनिर्वाचित सांसदहरूको शपथ हुनेछ । सांसदको शपथ भएपछि दलको नेतामा बालेन शाहलाई चयन गर्ने तयारी रास्वपाको छ । दलको नेता चयन गरेर १३ गते प्रधामनन्त्रीको शपथ गर्न लागिएको हो ।
संविधानको धारा ७६ को १ अनुसार राष्ट्रपतिले प्रधामनन्त्रीको नियुक्त गर्ने छन् ।
उक्त धारामा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्ने भनिएको छ । सोही अनुसार तयारी भइरहेको रास्वपाले जनाएको छ ।
रास्वपाले झण्डै दुई तिहाइ सिट जित हात पारेको छ । प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट रास्वपाले जितेको छ । चुनावअघि नै बोलेन शाहलाई प्रधानमन्त्रीकोरुपमा अघि सारेर रास्वपा चुनावमा होमिएको थियो ।
प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरू पनि नियुक्त गर्ने तयारी छ । ‘१३ गते नै मन्त्रिमण्डल गठन हुन्छ,’ बुर्लाकोटीले भने ।
१५ देखि १८ वटा मन्त्रालय राख्ने तयारी छ । रास्वपाले वाचापत्रमा संघीय मन्त्रालयहरूको संख्या १८ मा सीमित गर्ने भनेको छ । सोही अनुसासर विज्ञताको आधारमा मन्त्री बनाउने तयारी रास्वपाको छ । महामन्त्री बुर्लाकोटीले मन्त्रीको नामबारे कुनै निर्णय नभएको बताए । ‘मन्त्रीको नाम तय भएको छैन,’ उनले भने ।
यद्यपि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले गृहकार्य गरिरहेको नेताहरूले बताएका छन् । मन्त्रीको नाम पार्टीले १२ गते साँझसम्म तय गर्ने बताइएको छ । सचिवालयको बैठक बसेर मन्त्रीको नाम टुंगो लगाउने तयारी रास्वपाको छ ।
पार्टीका केही शीर्ष तहका नेता भने सरकारमा सहभागी नहुने बताइएको छ । पार्टी सञ्चालनको लाटि टिम चाहिने भएकाले सचिवालय तहका केही नेतालाई भने ‘रिजर्भ’ मा राख्ने तयारी रास्वपाको छ ।
‘पार्टी सञ्चालनका लागि टिम चाहिन्छ । केही माथिल्लो तहकै नेता सरकारमा नजाने भन्ने समझदारी छ,’ बुर्लाकोटीले भने ।
सरकार गठनबारे गत बिहीबार रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल भएको थियो । जनअपेक्षा अनुसार कामगर्नेगरी सरकार सञ्चालन गर्ने योजना रास्वपाको छ ।
प्रतिक्रिया 4