News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनका दुग्ध उत्पादक किसानले विगत ६ महिनादेखि ५५ करोड रुपैयाँ दुध बिक्रीको भूक्तानी पाउन सकेका छैनन्।
- जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार ठूला दूध उद्योग र दुग्ध विकास संस्थानले भूक्तानी नगर्दा किसान समस्यामा परेका छन्।
- चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ र ४० हजार किसानले दुग्ध उत्पादन गर्दै आएका छन्।
१० चैत, चितवन । चितवनका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत ५५ करोड रुपैयाँ भूक्तानी पाउन सकेका छैनन् । उनीहरूले विगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् ।
उनले भने, ‘संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ ।’ साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भूक्तानी बाँकी रहेको अध्यक्ष वगालेले जानकारी दिए ।
जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ । यहाँका ११५ दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक दूध सङ्कलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन् ।
ती सहकारीले समयमा भूक्तानी नपाउँदा किसानलाई भूक्तानी गर्न कठिन भएको उनले जानकारी दिए । जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन् ।
प्रतिक्रिया 4