+
+
Shares

संसद्का महासचिवको बयान : २४ भदौमा मैले सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेँ

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले गत २४ भदौमा आफूले सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले २४ भदौमा सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेको बताएका छन्।
  • पाण्डेयले संसद भवन क्षतिको न्यूनीकरणका लागि पूर्वनियोजित Contingency Plan नभएको स्वीकार गरेका छन्।
  • पाण्डेयले संसद भवन सिंहदरबार परिसरभित्र स्थानान्तरण भएपछि सुरक्षा प्रणाली सुदृढीकरण आवश्यक रहेको सुझाव दिएका छन्।

११ चैत, काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले गत २४ भदौमा आफूले सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेको बताएका छन् ।

जाँचबुझ आयोगको प्रतिवेदनमा पाण्डेयको बयान समेटिएको छ । आयोगमा बयान दिँदै पाण्डेयले भदौ २४ गते काठमाडौँ र ललितपुरमा कर्फ्यू जारी भएकाले आफू घरमै बसेको बताएका छन् ।

घरमै बसेर प्रहरी उपरीक्षक विमल बस्नेत, प्रहरी नायव उपरीक्षक हरि खतिवडा तथा सचिवालयका कर्मचारीहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तर सो दिन सुरक्षाकर्मीहरू केही हतास देखिएको महसुस मैले गरें ।’

घटना हुनु अगाडि नै उच्च जोखिमको अनुमान नगरिएको पनि उनले बताएका छन् ।

‘संसद भवन क्षतिको न्यूनीकरणका लागि पूर्वनियोजित Contingency Plan नभएको कुरा म स्वीकार गर्छु’ उनले भनेका छन्, ‘घटनाअघि संसद भवन उच्च जोखिम मा पर्छ भन्ने सम्भावना स्वत: कल्पना गरिएको थिएन र सुरक्षा निकायबाट गम्भीर किसिमको थ्रेट लेवल वा पूर्वसूचना नआएकै कारण उच्च पर्खाल, बलियो गेट, बुम ब्यारियर, इलेक्ट्रिक फेन्स जस्ता पूर्वाधार मजबुतीकरणका पहल पनि भएनन् ।’

साथै सुरक्षा निकायमा ROE (Rule of Engagement) जस्ता औपचारिक संरचनाहरू व्यवस्थित रूपमा नहुनु पनि समस्याको एउटा पाटो रहेको उनले औंल्याएका छन् ।

भित्रैबाट सुरक्षाकर्मी र संसद सचिवालयबीच निरन्तर समन्वय भइरहे पनि जोखिमको स्तर पहिल्यै पहिचान गर्न नसक्नु, २४ भदौका दिन सुरक्षामा कमजोरी देखिनु र संसदीय परिसरमा प्रवेश नियन्त्रण असफल हुनु नै घटनाका प्रमुख कारण बनेको उनले बताएका छन् ।

‘यी दिनका प्रदर्शनबाट भएको ठूलो क्षति रोक्न पहिलो जिम्मेवारी प्रदर्शनकारीहरूको नै हुन्छ, किनकि आगजनी र तोडफोड उनीहरूबाटै सुरु भएको थियो,’ उनले बयानमा भनेका छन्, ‘दोस्रो जिम्मेवारी सुरक्षाकर्मीहरूको ठहरिन्छ, जसले अत्यन्त संवेदनशील क्षेत्र पर्याप्त रूपमा सुरक्षित गर्न सकेनन् । तेस्रो, नागरिक राष्ट्रसेवकहरूले समयमै आन्दोलनकारीलाई सम्झाई बुझाई हस्तक्षेप गर्न नसक्नु पनि कमजोरीकै रूपमा देखिन्छ ।’

भविष्यमा संसद् भवन सिंहदरबार परिसरभित्र स्थानान्तरण हुने भएकाले सरकारले सिंहदरबारकै समग्र सुरक्षा योजनाभित्र संसद् सुरक्षा प्रणाली समाहित गर्नुपर्ने सुझाव उनले दिएका छन् ।

सुरक्षाको स्तर उकास्न पूर्वानुमान प्रणाली, पर्याप्त उपकरण, बलियो पूर्वाधार, रोइ, अन्तर–निकाय समन्वयको सुदृढीकरण र नियमित जोखिम मूल्यांकन अत्यावश्यक रहेको उनले बताएका छन् ।

संसद भवनमा घटेका यी घटनाले सुरक्षा प्रणालीको कमजोरी, पूर्वतयारीको अभाव र आकस्मिक योजनाको कमी स्पष्ट रूपमा देखाएको भन्दै उनले थपेका छन्, ‘घटनाको व्यवस्थापनमा म संयोजक तथा सम्पर्ककर्ता भूमिकामा रहे पनि जोखिमको स्तर पहिल्यै अनुमान गर्न नसकिएको कुरा म आत्मालोचनासहित स्वीकार गर्छु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?