News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढीमा दुई ठाउँमा विद्यार्थीहरूबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
- त्रिनगर माध्यमिक विद्यालय अगाडि १५ वर्षीय सेन थरका किशोरमाथि कुटपिट भएको छ र उनको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ।
- यातायात कार्यालय जाने बाटो नजिकै १६ वर्षीय रिमाल थरका किशोरमाथि १० देखि १५ जनाको समूहले कुटपिट गरेको छ र उनीहरू फरार छन्।
१२ चैत, धनगढी । धनगढीमा बिहीबार छुट्टाछुट्टै ठाउँमा विद्यार्थीहरूबीच एकआपसमा झडप भएको छ । सो क्रममा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका—१ को त्रिनगर माध्यमिक विद्यालय अगाडि र वडा नम्बर ४ को यातायात जाने बाटो नजिकै विद्यार्थीहरूबीच झडप भएको बताए ।
दुवै ठाउँमा भएको झडपमा परेर दुई जना घाइते भएका छन् । त्रिनगर स्कुल नजिकै भएको झडपमा सोही विद्यालयमा ८ कक्षाको वार्षिक परीक्षा दिन गएका पशुपति टोल बस्ने सेन थरका १५ वर्षीय किशोरमाथि कुटपिट भएको छ ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न ८ कक्षाकै परीक्षा दिइरहेका धनगढी—२ का कोली, लुहार र नगारी थरका तीन किशोर भने फरार भएका छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
बोराडाँडीस्थित यातायात कार्यालय जाने बाटो नजिकै भएको अर्को कुटपिटमा पनि कक्षा ८ मै अध्ययनरत विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा धनगढी–३ बस्ने १६ वर्षीय रिमाल थरका किशोर रहेको प्रहरीले जनाएको छ । उनी जनता आधारभूत विद्यालयमा अध्ययनरत छन् ।
रिमालमाथि धनगढी–४ मा रहेको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयमा अध्ययनरत १० देखि १५ जनाको समूहले कुटपिट गरेको प्रहरीको भनाइ छ । कुटपिटपछि उनीहरू फरार रहेका छन् ।
प्रतिक्रिया 4