+
+
Shares
विशेष सम्पादकीय :

बालेन सरकारले बोक्नुपर्ने छ संविधानको जनादेश र सुशासनको मतादेश

संघीय संविधानमा निहित ऐतिहासिक जनादेश र रास्वपाले चुनावमा पाएको युगान्तकारी मतादेशमध्ये कुनै एकलाई उपेक्षा गर्न सम्भव देखिंदैन । यो तथ्य बालेन, उनको मन्त्रिपरिषद् र रास्वपाले हरेक दिन हेक्का राख्दै अघि बढ्नुपर्नेछ । इतिहासको यो विशेष घडीमा दश वर्षअघि जारी संविधानको भरपर्दो कार्यान्वयन र समयानुकूल संशोधनको खाँचो अझ बढी महसुस भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते ९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा वरिष्ठ नेता बालेन शाह आज सिंहदरबार प्रवेश गर्दै नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्न लागेका छन्।
  • बालेनसँग दुईतिहाइ निकट बहुमत छ र उनले संविधानको मर्म अनुसार सुशासन र समुन्नतिको आधार तयार पार्ने जिम्मेवारी पाएका छन्।
  • रास्वपा सभापति रवि लामिछानेले बालेनलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रोजेक्ट गरेका थिए र दुवैबीच सहकार्य टिकाउने चुनौती छ।

नेपालको इतिहासमै कान्छामध्येका एक प्रधानमन्त्रीका रूपमा रास्वपा वरिष्ठ नेता बालेन शाह आज सिंहदरबार प्रवेश गर्दैछन्। राष्ट्रको प्रमुख कार्यकारी पद र उनको व्यक्तिगत कद परस्परमा यसरी मिसिएका छन् कि, नागरिकसामु त्यसैकारण अपेक्षाको चरमचुली निर्माण भएको छ।

२१ फागुनको चुनाव मार्फत मुलुकले दिलाएको ऐतिहासिक मतादेश, अनि इतिहासका ठूला संघर्ष र आन्दोलनहरूको मूल्यमा प्राप्त संविधानको जनादेशलाई एकआपसमा तालमेल मिलाउँदै लैजानु नयाँ प्रधानमन्त्री बालेनको मुख्य जिम्मेवारी हुनेछ।

बालेनसँग दुईतिहाइ निकटको बहुमत छ, जसको अर्थ संविधानको मर्म अनुसार सुशासन र समुन्नतिको आधार तयार पार्ने हो। किनभने यो संविधानमा ती पात्रको मात्रै छाया देखिंदैन, जसले विगतमा यसलाई जारी गरेका थिए, अनि बालेन र रास्वपाले तिनलाई चुनाव मार्फत भर्खरै ठूलो मतान्तरमा पराजित गरेका छन्। यो संविधानमा ती पात्रको छाया देखिन्छ, जो युगौंसम्म बहिष्कृत, वञ्चित र निर्बलिया थिए।

इतिहासका ठूला जनादेशले संघीय संविधानको समावेशी मर्मलाई स्मरण गराइरहन्छन्। चुनावको मतादेशले सुशासन र डेलिभरी, रोजगारी र आर्थिक अवसर सिर्जनाको स्मरण गराउँछन्। रास्वपाको वाचापत्रमा लेखिएका आह्वानहरूले अब कस्तो आकार लिन्छन्, सबैको चासो छ। स्मरणरहोस्, इतिहासको जनादेश र चुनावको मतादेशमध्ये कुनै एकलाई उपेक्षा गर्न सम्भव देखिंदैन।

यो तथ्य बालेन, उनको मन्त्रिपरिषद् र रास्वपाले हरेक दिन हेक्का राख्दै अघि बढ्नुपर्नेछ। इतिहासको यो विशेष घडीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले दश वर्षअघि जारी गरेको संविधानको भरपर्दो कार्यान्वयन र समयानुकूल संशोधनको खाँचो अझ बढी महसुस भएको छ।

एउटा कलाकारका रूपमा बालेनले विगतमा वञ्चितहरूका पक्षमा गीत बनाएका छन्, कविता लेखेका छन्। २३ र २४ भदौको जेनजी आन्दोलनका बेला नै प्रधानमन्त्रीका रूपमा बालेनको खोजी भएको थियो। उनी त्यसबेला आफू काठमाडौंको मेयर रहेको तथा जेनजी उमेर समूहको नरहेको भन्दै नेतृत्व लिन अनिच्छुक देखिए। त्यसपछि प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरिएको थियो।

संविधानले लिक छाडेको अवस्था सिर्जित थियो। विद्रोहले घाइते बनाएको संविधान राख्ने कि नराख्ने बहस समेत भएका थिए। अनलाइनखबरले त्यसबेला शक्तिशाली नागरिक सरकार गठन र चुनावको मार्गचित्रले मात्रै संविधानलाई लिकमा राख्नसक्ने तर्क गर्दै विशेष सम्पादकीय लेखेको थियो।

संयोग नै मानौं, ती संविधान राख्ने कि फाल्नेवाला बहसकर्ता समेतलाई चुनावले अनुमोदन गर्दै संसद्मा ल्याइदिएको छ। र सांसदहरूले शपथ लिएसँगै अब संविधान लिकमा फर्केको हाम्रो विश्लेषण छ। यो संविधानको रक्षा र उन्नयन गर्नु प्रतिनिधिसभा सहित सिंगो संघीय संसद्को कर्तव्य हुनेछ।

बालेनले आफ्नो चुनावी यात्राका क्रममा नेपालको विविधतालाई धार्मिक–सांस्कृतिक सम्पदाहरूको भ्रमण मार्फत सम्मान गरे। मधेशी समुदायबाट पहिलो प्रधानमन्त्री बन्ने इतिहास उनकै नाममा लेखिंदैछ। जनकपुरमा मिठो मैथिल भाषण मार्फत चुनावी यात्रा थालेका बालेनले संघीय संविधानको भावनालाई त्यसै अनुरुप समात्ने अपेक्षा राख्नुपर्छ।

आवाजविहीन ठानिएकाहरूलाई संगीत र शब्द मार्फत आवाज दिंदै सत्ताको बागडोर सम्हाल्न आइपुगेका बालेनले अब नेपालको संविधान, कानूनको कार्यान्वयन गर्ने सबैभन्दा मुख्य जिम्मेवारीमा रहेका बेला त्यसको कार्यान्वयन कसरी गर्नेछन्, आशापूर्वक प्रतीक्षा गर्नुपर्ने भएको छ।

आजै अधिकांश मन्त्रीहरूको नियुक्ति र शपथग्रहण तयारी छ। योग्य र नागरिक उत्तरदायित्व बहन गर्न सक्ने पात्रहरूले त्यहाँ प्रवेश पाउने, बालेन सरकारको स्वरुप त्यसै अनुसार झल्किने अपेक्षा यस बेला गर्न सकिन्छ। युवामय देशमा पछिल्लो जेनजी नवयुवा विद्रोहले दिलाएका आकांक्षाको भारी बोक्न सक्ने चुस्त र कामकाजी मन्त्रिपरिषद् बन्न सकोस्, हाम्रो शुभकामना।

बालेनले आफ्नो चुनावी यात्राका क्रममा औपचारिक र अनौपचारिक दुवै शैली अपनाए। थोरै बोलेर दिएका सन्देश जस्तै नबोली दिएका संकेतहरू उत्तिकै महत्वपूर्ण रहे। उनले नेपालको विविधतालाई धार्मिक–सांस्कृतिक सम्पदाहरूको भ्रमण मार्फत सम्मान गरे। मधेशी समुदायबाट पहिलो प्रधानमन्त्री बन्ने इतिहास उनकै नाममा लेखिंदैछ। जनकपुरमा मिठो मैथिल भाषण मार्फत चुनावी यात्रा थालेका बालेनले संघीय संविधानको भावनालाई त्यसै अनुरुप समात्ने अपेक्षा राख्नुपर्छ।

सेलेब्रिटी हुनुको क्रेजलाई बालेनले सार्वजनिक जीवनमा कम देखिएर, लगभग नबोलेर बचाउँदै आएका छन्। अब त उनी नागरिकको मतले प्रधानमन्त्री बन्दैछन्। जनताले करले चलेको राज्यको प्रमुख प्रतिनिधिका रूपमा बालेन अब पनि नबोली बस्लान् भन्ने अपेक्षा छैन। विगतका कतिपय प्रधानमन्त्रीले जस्तो हरेक दिनजसो उद्घाटन, शिलान्यास, पट्यारलाग्दा कार्यक्रम र भाषणमा संलग्न हुनु जरूरी छैन। तर बालेनसामु प्रेसका प्रश्नहरू छलेको, जवाफदेहिता देखाउनुपर्ने ठाउँबाट पन्छिएको आरोप लाग्दै आएको छ। उनले नियमित प्रेस ब्रिफिङ, संसद्को उपस्थिति जस्ता उपाय अवलम्बन गरेर नागरिकप्रतिको सिधा संवाद कायम राख्न सक्छन्।

यस बेला रास्वपा सभापति रवि लामिछानेको प्रसंग यहाँ सान्दर्भिक छ। काठमाडौं महानगरको मेयर बन्दा बालेनसँग नारा थियो: आजसम्म दलले गरे, अब बदल्नेले गरौं। तिनै बालेन समेतको विजयको प्रेरणामा २०७९ असारमा रास्वपा खुलेको थियो। रविले आफ्नो लोकप्रिय व्यक्तित्वको बलमा उठाएको रास्वपाले तत्कालै संसद्को चौथो शक्ति बन्ने ताकत देखाएको थियो। स्थापनाको साढे तीन वर्ष बित्दा अत्यधिक मत र सिट सहित देशकै सबैभन्दा ठूलो पार्टी रास्वपा बन्दैगर्दा बालेन समेत यो भँगालोमा जोडिन पुगेका छन्।

उम्मेदवारी मनोनयनको सन्निकट पुगेका बेला रवि लामिछानेले जुन शक्तिशाली निर्णय गरेर बालेन जस्ता दलीय राजनीतिमा कहिल्यै परीक्षण नगरिएका पात्रलाई आफू पछिको वरीयता वरिष्ठ नेता, अनि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रोजेक्ट गरे, आजको राजनीतिक बदलाव उनको त्यसै निर्णयको उपज हो।

रवि र बालेन बीचको एकता, सहकार्य निर्माण जति महत्वपूर्ण थियो, त्यसलाई स्वार्थरहित टिकाएर लैजाने चुनौती त्यति नै छ। संसद्मा यसअघि देखिंदै आएको शीर्ष नेताहरूको पक्ष, प्रतिपक्ष बेन्च नै बदल्न सफल बालेन, रविले सत्ता सञ्चालनको जोडघटाउका क्रममा यसअघि देखिंदै आएका कुप्रवृत्तिहरू समेत विराम लगाउनेछन् भन्ने नागरिकको आशा छ।

यसअघि विगतमा हामीले शीर्ष भूमिकामा रहेका नेताहरूको इगो टकराव, व्यक्तित्व व्यवस्थापनको सदाबहार संकट देख्दै आयौं। राजनीति मात्रै होइन, हरेक क्षेत्रमा यस्ता टकराव कतिपय अर्थमा स्वाभाविक पनि हुन्। तर सत्ताको टकरावमा जुन शक्ति समूह तथा केन्द्रहरू सामेल हुन्छन्, त्यस क्रममा उत्पन्न हुने अस्वस्थ प्रतिस्पर्धा तथा प्रतिशोध समेतले देशकै भविष्यलाई असर पार्छ।

विगतमा केपी शर्मा ओली र पुष्पकमल दाहालको टकराव, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव, अनि इतिहासमा बीपी–मातृका कोइराला, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल र वामदेव गौतम तथा अरू थुप्रै ठूला साना तथा क्षेत्रीय दल समेतका टकरावले राष्ट्रिय राजनीतिलाई नराम्रोसँग ध्रुवीकृत गरेका छन्। दल विभाजन हुँदा नागरिकका सपनाले ठूलो मूल्य चुकाउनु परेको छ। यसपल्ट यस्तो नहोस्। नयाँ पुस्ताका दुई नेता रवि र बालेन त्यो इगो व्यवस्थापनमा अब्बल भएर निस्कनेछन्, पुराना भनिएकाहरूले गरेका गल्ती दोहोर्‍याउँदैनन् भन्ने कामना गरौं।

अन्तिममा फेरि पनि जोड दिऊँ: संविधान केही नेताको होइन, नागरिकको हो, जसको नाममा बालेनले हिजो बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन्। बिहीबारै उनले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको जय महाकाली गीतका शब्दहरू, अनि प्रस्तुत फुटेजहरूलाई लिएर समीक्षकहरूले अन्तर्य केलाइरहेका छन्। हामी त्यसलाई एउटा कलाकारको अभिव्यक्ति स्वतन्त्रताका रूपमा सम्मान तथा गर्न चाहन्छौं। कुनै पनि पार्टी र सरकारका लागि गीत नीति होइनन्, बाचा र घोषणापत्र हुन्। संघीय संविधान नै आधुनिक नेपालको साझा लय हो, जसलाई प्रधानमन्त्रीदेखि सर्वसाधारण समेतले समात्न जरूरी छ।

पाँचवर्षे मतादेश सहित नयाँ प्रधानमन्त्री बन्दै गरेका बालेन शाह र उनलाई यो हैसियत दिलाउने रास्वपालाई धेरै बधाई तथा शुभकामना। यो उचाइले नागरिकसामु थप विनम्र र उत्तरदायी बनाउँदै लैजाओस्। शासक होइन, सेवक सरकारको आम चाहना साकार बन्न सकोस्। सरकार गठन गर्ने रास्वपालाई विशाल सन्देश सहितको जनमत दिने नागरिकहरूलाई यो उल्लासको दिनमा थप बधाई सहित निरन्तर सुझाव तथा चनाखो खबरदारी रहिरहोस् भन्ने अपेक्षा राख्छौं। नेपाली पाठकले सर्वाधिक पछ्याउँदै आएको मुख्य न्यूज पोर्टलका रूपमा अनलाइनखबरले त्यो काम अझै जिम्मेवारीबोधसाथ गर्दै रहनेछ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?