News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले १३ चैतमा बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।
- बालेन्द्र शाह झापा ५ बाट निर्वाचित सांसद हुन् र पहिलो संसद यात्रामै प्रधानमन्त्री बनेका छन्।
- उनले काठमाडौं महानगरको मेयरबाट राजनीति सुरु गरी करिब दुई तिहाइ बहुमत सरकारको नेतृत्व गर्दैछन्।
१३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहले केहीबेरपछि शपथ लिँदैछन् । यससँगै उनी औपचारिक रुपमा नेपालको शासनको बागडोर सम्हाल्दै छन् ।
फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् । नवा युवाहरूमाझ लोकप्रिय बालेनले नेपालको राजनीतिक इतिहासमा नै विरलै प्राप्त हुने करिब दुई तिहाइको एक बहुमतको सरकारको नेतृत्व गर्दैछन् । संविधानको धारा ७६ को १ अनुसार बहुमत प्राप्त दलको नेताको रुपमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् ।
३६ वर्षीय बालेन पेशाले इन्जिनियर थिए । ४ वर्ष अगाडिसम्म र्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगे ।
२०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा राजनीतिक विश्लेषकदेखि सञ्चार माध्यमसम्मले यसलाई उल्लेख्य रूपमा नोटिसमा लिएका थिएनन् । तर चुनावको नतिजाले नेपाली समाजभित्र मतदाताको मनोविज्ञान कसरी बदलिइरहेको छ भनेर संकेत राम्रैसँग देखायो ।
मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् ।
ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका विभिन्न स्थान पुगेका छन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्यापर तथा कवि-लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।
विकासको ‘भिजन’
चुनाव जित्न मनसँगै मत पनि जित्नुपर्छ भन्ने बुझेका शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका थिए ।
मेयरको उम्मेदवार बन्दा शाह डिग्रीले भन्दा सिपले रोजगारी पाउने वातावरण बनाउने बताउँथे । उनी अहिले पनि राजनीतिभन्दा धेरै विकासका भिजनका कुरा गरिरहेका छन् ।
रास्वपा प्रवेशपछि जनकपुरको उद्घोष सभामा उनले भनेका थिए , ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ । तपाईँहरू दिनुहुन्छ ?’
संवादात्मक शैलीमा थोरै मात्रै बोल्ने शाहले मिथिलालाई वेडिङ डेस्टिनेसन बनाउनेदेखि काठमाडौं महानगरले २० हजार विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क पढाइरहेको विषयलाई देशव्यापी बनाउन चाहेको सुनाए ।
राजनीतिक मुद्दालाई नागरिकसँग जोड्न माहिर शाहले संघीयताप्रतिको प्रतिबद्धता राख्दै उनले भनेका थिए, ‘जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, हो कि होइन ? जनकपुर प्रदेशको राजधानी होइन ? हो भने काठमाडौं किन जानुपर्यो ? यहीँबाट किन हुँदैन ?’
उनले थपेका थिए, ‘पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ । काठमाडौं जाने व्यवस्था बदल्नुपर्छ । अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौं । पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन ।’
जेनजी आन्दोलनलगत्तै प्रधानमन्त्री बन्ने प्रस्ताव शाहले स्वीकारेनन् र सन्देश दिए- मेरो उद्देश्य प्रधानमन्त्री हुनुमात्र होइन । अझ उनले सबैभन्दा बढी मतान्तरसहित विजयी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न चाहे । त्यो प्रतिस्पर्धा उनले जिते ।
वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन बालेन परे । व्यक्ति र पार्टीको पक्षमा देखिएको यही चुनावी लहर उनको मुख्य अनुकूलता बन्यो ।
प्रतिक्रिया 4