+

बालेन सरकारलाई बधाई दिँदै रोहितले भने- खेलाडीहरूमा नयाँ उत्साह थपिएको छ

२०८२ चैत  १३ गते १३:३२ २०८२ चैत १३ गते १३:३२
बालेन सरकारलाई बधाई दिँदै रोहितले भने- खेलाडीहरूमा नयाँ उत्साह थपिएको छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बालेन शाह नेतृत्वको नयाँ सरकारलाई बधाई दिएका छन्।
  • उनले संसदमा युवा ऊर्जा र नयाँ अनुहारहरूको उपस्थितिले सकारात्मक परिवर्तनको संकेत दिएको बताए।
  • प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा खेलकुदलाई ‘खेल पर्यटन’ का रूपमा विकास गर्ने अपेक्षा व्यक्त गरेका छन्।

१३ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ले बालेन शाह नेतृत्वको नयाँ सरकारलाई बधाई दिएका छन्।

हालै सम्पन्न आम निर्वाचन २०८२ मा १८२ सिटको स्पष्ट बहुमतसहित सरकार गठन गर्न सफल भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी र नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई उनले हार्दिक बधाई व्यक्त गरेका हुन्। साथै लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य गर्दै स्थिर सरकार रोज्ने आम नेपाली नागरिकलाई पनि विशेष धन्यवाद दिएका छन्।

कप्तान रोहितले यसपटक संसदमा युवा ऊर्जा र नयाँ अनुहारहरूको उल्लेखनीय उपस्थितिले सकारात्मक परिवर्तनको संकेत दिएको बताए। विशेषगरी खेलकुद र क्रिकेटप्रति रुचि राख्ने व्यक्तिहरू नीति निर्माण तहमा पुगेकाले खेलाडीहरूमा नयाँ उत्साह थपिएको उनको भनाइ छ। उनले यस्तो समावेशी प्रतिनिधित्वले खेल क्षेत्रका समस्या र सम्भावनालाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा अब बन्ने सरकारले नेपालको खेलकुदलाई ‘खेल पर्यटन’ का रूपमा विकास गर्ने अपेक्षा पनि रोहितले व्यक्त गरेका छन्। आधुनिक क्रिकेट रंगशालाको निर्माण तथा नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके नेपाली क्रिकेटले विश्वस्तरमा छुट्टै पहिचान बनाउने उनको धारणा छ।

नयाँ नेतृत्वसँगै नेपाली खेलकुदले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्णलाई शुभकामना दिएका छन्।

बालेन शाह रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय