News Summary
Generated by OK AI. Editorially reviewed.- बिराजभक्त श्रेष्ठले बालेन्द्र साह नेतृत्वको मन्त्रिपरिषद्मा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
- श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ बाट २४ हजार ५ सय ९२ मत ल्याएर सुमन सायमीलाई पराजित गरेका थिए।
- श्रेष्ठले २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट जित हासिल गरी संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसमेत बनेका थिए।
१३ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन् ।
बालेन्द्र साह नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषद्मा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित ४४ वर्षीय श्रेष्ठ ऊर्जामन्त्री बनेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीलाई २१ हजार ३ सय ७५ मतान्तरले पराजित गरेका श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायमीले ३ हजार २ सय १७ मत मात्रै ल्याएका थिए ।
श्रेष्ठले २०७९ को निर्वाचनमा समेत सोही निर्वाचन क्षेत्रबाट जित हासिल गरेका थिए । उक्त निर्वाचनमा समेत सायमीलाई नै पराजित गरेका थिए ।
विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा बागमती प्रदेश सभा सदस्य हुँदै यसअघि संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसम्म पुगेको थियो ।
‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक श्रेष्ठले आफ्नो करियरको सुरुवात होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा जागिरेका रूपमा गरेका थिए । उनको सार्वजनिक छवि २०७२ सालको भूकम्पपछि फेरियो ।
त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र मुस्ताङदेखि बर्दीवाससम्म विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
वातावरण संरक्षणका लागि उनले ‘फोर्स नेपाल’ संस्था खोलेर ‘वान ट्री–मेरो जिम्मेवारी’ जस्ता अभियान चलाए, जसले उनलाई भुइँतहका मानिससँग जोड्न मद्दत गर्यो ।
श्रेष्ठ २०७४ को निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा होमिएका थिए । समानुपातिक सूचीबाट बागमती प्रदेश सभा सदस्य बनेपछि उनले आफ्नो कार्यशैलीबाट सबैको ध्यान खिचेका थिए ।
श्रेष्ठ हरेक वर्ष आफ्नो कामका प्रतिवेदन सार्वजनिक गर्ने थोरै नेतामध्ये पर्छन् । नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
संघीय सरकारले गुठी विधेयक ल्याउँदा उनले सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गरी नेवा: समुदायको भावनाको प्रतिनिधित्व गरेका थिए ।
विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘राजावादी’ दस्तावेज ल्याएपछि वैचारिक मतभेदका कारण उनी उक्त पार्टीबाट अलग भएका थिए ।
२०७९ को निर्वाचनमा रास्वपाबाट काठमाडौं–८ मा उत्रिएका श्रेष्ठले १० हजार १ सय १२ मत ल्याएर विजयी हुँदा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ६ हजार १ सय ७९ मत पाएका थिए ।
संघीय संसदमा रहँदा श्रेष्ठले सुशासन र खेलकुद क्षेत्रको सुधारका लागि सक्रियता देखाएका थिए । छोटो कार्यकालका लागि युवा तथा खेलकुदमन्त्री बन्दा उनले खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमले उनलाई ‘काम गर्न सक्ने युवा’ का रूपमा स्थापित गरेको थियो ।
प्रतिक्रिया 4