News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा विश्व रङ्गमञ्च दिवस मार्च २७ का दिन आइटिआइ नेपाल सेन्टरले प्राडा अभि सुवेदीलाई सम्मान गरेको छ।
- अभि सुवेदीलाई उनका नाटकका पात्रहरूले मञ्चीय प्रस्तुतिका साथ अभिनन्दन गरेका थिए।
- आइटिआइ नेपालको पुनःस्थापना घोषणा गर्दै नयाँ कार्यकारी बोर्ड गठन गरिएको छ।
काठमाडौं । संसारभरका रङ्गकर्मी र रङ्गप्रेमीले विश्व रङ्गमञ्च दिवस मार्च २७ मनाउने क्रममा नेपालमा ‘अभि-अभिनन्दन’ समारोहका बीच विश्व सन्देश आदानप्रदान गर्दै मनाइएको छ ।
नाट्यकलाको विश्व संगठन इन्टरनेसनल थिएटर इन्टिच्युटको नेपाल सेन्टर (आइटिआई) नेपालले नेपाली रङ्गमञ्चमा अनुकरणीय योगदान पुर्याउनुहुने प्राडा अभि सुवेदीलाई सम्मान-अभिनन्दन गरेका हो ।
डा. सुवेदीलाई उनैले लेखेका नाटकका पात्रहरूले नै मञ्चीय प्रस्तुतिका साथ अभिनन्दन गरिएको हो । उनका मञ्चन भएका नाटकका पात्रको भूमिकामा अभिनय गर्ने कलाकारमध्ये भोला सापकोटा, घिमिरे युवराज, सरस्वती चौधरी, कार्म, सरोज अर्याल, पवित्रा खड्का, दिलिप रानाभाटले मञ्चीय प्रस्तुतिका साथ सम्मान गरेका हुन् ।
सुवेदीको नेपाली रङ्गमञ्चमा नाटककार, अनुसन्धानकर्ता, समिक्षक तथा नाट्य अभियन्ताका रुपमा विशिष्ट योगदान छ । अभिनन्दन पछि उनले नेपाली रङ्गमञ्चको उभारप्रति खुशी व्यक्त गर्दै आइटिआइको गतिशिलतामाथि चर्चा गरे ।

समारोहमा नाट्यकलाको विश्व संगठनबाट जारी विश्व सन्देशको नेपाली भावानुवाद रङ्गकर्मी सरस्वती चौधरीले वाचन गरेका थिए । यस वर्ष अमेरिकी प्रख्यात रङ्गकर्मी तथा चलचित्रकर्मी विलियम डाफोले प्रविधिको युगमा रङ्गमञ्चको अर्थ र महत्व झनै बढेको उल्लेख गर्दै रङ्गमञ्च थप जिम्मेवार हुनुपर्नेे विश्व सन्देश दिएका थिए ।
शिल्पी थिएटर बत्तीसपुतलीमा आयोजित विश्व रङ्गमञ्च दिवस समारोहबाटै आइटिआइ नेपालको पुनः स्थापनाको औपचारिक घोषणा समेत गरिएको छ । करिब एक दशकदेखि आइटिआइ वल्र्डसँग विच्छेद भएको सम्बन्धलाई यस पुनः स्थापनाले जोडेको छ ।
पुनः स्थापित आइटिआइ नेपालको कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दिक्षित, देव न्यौपाने, सुशिलालक्ष्मी महर्जन, मोतीबहादुर कार्की (परिवर्तन), पवित्रा खड्का, सिजन दाहाल छन् । जसलाई आइटिआइ वर्ल्डको कार्यकारी समितिले अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया 4