News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले स्थायी राजनीतिक वातावरण बनाएपछि निजी क्षेत्रले लगानी बढ्ने अपेक्षा राखेको छ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गरी पुराना कानुन खारेज गर्ने र लगानीमैत्री वातावरण बनाउने बताए।
- नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै आर्थिक पुनरुत्थान र दिगो विकासमा गति आउने बताए।
१३ चैत, काठमाडौं । जेनजी आन्दोलनबाट डराएको निजी क्षेत्र शुक्रबारको नयाँ सरकार गठनपछि एकाएक हौसिएको छ ।
स्थायी सरकार अभावका कारण लगानीमैत्री वातावरण अभाव झेलेको निजी क्षेत्र राजनीतिक स्थायित्वको संकेतले सकारात्मक देखिएको हो ।
नयाँ सरकारको गठनसँगै उद्यमीहरू लगानी बढ्ने तथा सरकारले पनि सोही अनुसार तालमेल गरेर अघि बढ्ने अपेक्षा राखेका छन् । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताइसकेका छन् ।
उनले निजी क्षेत्रको मनोबल बलियो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी आफूलाई आएको बताएका छन् । यसले पनि उद्यमी व्यवसायीलाई सकारात्मक बनाएको छ ।
साथै, उनले उद्योगी–व्यवसायीलाई दु:ख दिने पुराना कानुन खारेज गर्ने बताएका वाग्लेले भने, ‘निजी क्षेत्रलाई विश्वास लिएर अघि बढ्नका लागि सरकारले आवश्यक वातावरण बनाउँछ ।’
उद्योगी व्यवसायीलाई निरुत्साहित गर्ने राज्यका केही संरचना समेत खारेज गरिने उनले बताए ।
नवनियुक्त प्रधानमन्त्री बालेन्दै साह नै ४० वर्षभन्दा कम उमेका भएकाले आफूहरू धेरै उत्साहित भएको नेप्लिज योङ आन्ट्ररप्रेनर फोरम अध्यक्ष सुदीप घिमिरेले बताए ।

युवाले नेतृत्व गरेको सरकारले आगामी दिन युवाले नेतृत्व लिएका व्यवसायी संस्थाहरूको पनि सल्लाह, सुझाव लिने उनको अपेक्षा छ ।
‘युवा उद्यमीहरूको संघसंगठनलाई प्रोत्साहन गरिनुपर्छ,’ घिमिरेले भने, ‘नीति निर्माण तहमा युवाहरूलाई पनि समावेश गराइनुपर्छ, सबैभन्दा ठूलो आशा–अपेक्षा नै यही छ ।’
उद्योग–व्यवसायका लागि बाधा बनेका केही ऐन खारेज गर्ने विषय निकै स्वागतयोग्य रहेको घिमिरेको भनाइ छ । ‘स्थायी सरकार बनेको हुनाले युवा उद्यमीमा विश्वास, भरोसा, आश गर्ने वातावरण विकास भएको छ,’ उनले भने, ‘यसले आगामी दिनमा देशले लय लिने तथा अर्थतन्त्र सबल हुने मागदर्शन गर्ने छ ।’
सरकारले व्यवसायीहरूको क्षेत्र अनुसारका समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ । त्यसको लागि डिजिटल गभर्नेन्स कार्यान्वयनमा आउँछ भन्ने विश्वास घिमिरेको छ । डिजिटल, हस्पिटालिटी, टुरिज्म, शिक्षा लगायत सेवा निर्यातका लागि यो सरकारले उपयुक्त वातावरण बनाए उद्योगी–व्यवसायी प्रोत्साहन गर्ने उनको अपेक्षा छ ।
त्यसैगरी युवा नेतृत्व नयाँ सरकार उद्यमीहरूका लागि अवसर बन्ने अपेक्षा उद्योग परिसंघ युवा उद्यमी फोरम अध्यक्ष मनिष श्रेष्ठले बताए ।
‘उद्यम–व्यवसाय गर्न सहज हुनुपर्यो,’ श्रेष्ठले भने, ‘सानो–सानो विषयले गाह्रो परिराखेको अवस्था छ, यस्ता झन्झटिया समस्या समाप्त हुनुपर्छ ।’
कम्पनी दर्तादेखि अनुमति लिनेसम्मका प्रक्रियागत झन्झटमा सुधार भएको खण्डमा प्रत्यक्ष वैदेशिक लगानी समेत बढ्ने उनको भनाइ छ । सरकारले आफ्ना योजना कार्यान्वयन गरेको खण्डमा सरकारी खर्च बढ्ने हुँदा उद्योग–व्यवसायलाई पनि सकारात्मक प्रभाव पर्छ भन्ने बुझाइ सरकारको हुनुपर्ने उनको भनाइ छ ।
‘हिजो राजनीतिक अस्थिरता भयो, लगानीको वातावरण नभएको अवस्था हो, कुनै पनि उद्योगका लागि आवश्यक कच्चापदार्थ बोर्डरबाट सजिलैसँग ल्याउन सकिए पनि अनावश्यक झन्झटका कारण उत्पादन लागत बढ्ने समस्या समाधान हुनुपर्छ,’ उनले भने, ‘आफैंले उत्पादन गरेर वस्तु तथा सेवा बजारसम्म पुर्याउँदा आउने बाधा धेरै छन्, ती हट्नुपर्छ ।’

स्वदेशी उद्यम–व्यवसाय बचाउन सीमा क्षेत्रलाई प्रभावकारी नियमन गर्नुपर्ने बताउने उनी अबको पाँच वर्ष एउटै सरकार हुँदा लगानी स्वाभाविक रूपमा बढ्नेमा ढुक्क छन् ।
अहिलेको सरकारबाट हरेक युवा उद्यमी लगानी विस्तार गर्ने वातावरण बन्नेमा आशावादी छन् । उद्यमीका मर्म बुझेको व्यक्ति अर्थमन्त्री भएकाले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नेमा आफू ढुक्क भएको उनले सुनाए ।
नेपालका नयाँ प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारप्रति समर्थन र विश्वास रहेको बताउँदै सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले स्थायी राजनीतिक वातावरणमा लगानी बढ्ने बताए ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले नवनियुक्त प्रधानमन्त्री साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मुलुकले राजनीतिक तथा नीतिगत स्थिरता हासिल गर्ने बताए ।
‘लगानीमैत्री नीतिहरूको प्रवर्द्धन, आर्थिक पुनरुत्थान र दिगो आर्थिक विकासमा थप गति लिने विश्वास छ,’ ढकालले भने, ‘समग्र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रसँग सहकार्य गर्दै समृद्धिको यात्रा अगाडि बढाइने छ ।’
प्रतिक्रिया 4