१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्नसक्ने हल्लाबीच भक्तपुरको गुण्डुस्थित निवासमा नेता कार्यकर्ता जम्मा हुन थालेका छन् ।
ओली निवासमा एमालेका शीर्ष तहदेखिकै नेताहरू जम्मा भएका छन् । त्यस्तै, निवास बाहिर केही संख्यामा कार्यकर्ताहरू पनि पुगेका छन् । विभिन्न गाडीहरू ओलीको निवास वरपर रोकिएका छन् ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका छन् ।
प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको छ । मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।
तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया 4