१४ चैत, कुवेत । पश्चिम एसिया क्षेत्रमा सम्भावित आपतकालीन अवस्थालाई मध्यनजर गर्दै कुवेतस्थित तमु समाजले वृहत् रक्तदान कार्यक्रम गरेको छ । कुवेतस्थित सेन्ट्रल ब्लड बैंकको अनुरोधपछि तमु समाजले १० औँ वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
जाब्रीयास्थित सेन्ट्रल ब्लड बैंकमा सम्पन्न कार्यक्रममा १२६ जना रक्तदाताले उत्साहपूर्वक सहभागी भएर रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाली मात्र नभई भारतीय, फिलिपिन्स, बाङ्लादेशी तथा श्रीलंकाली नागरिकले समेत सहभागिता जनाएका छन् ।
कार्यक्रमले बहुराष्ट्रिय सहभागिताले संकटको घडीमा मानवीय एकता र सहकार्यको सन्देश दिएको तमु समाजकी अध्यक्ष रञ्जना गुरुङले बताइन् ।
‘मध्यपूर्वको संवेदनशील परिस्थितिमा ब्लड बैंकबाट आएको विशेष अनुरोधलाई गम्भीरतापूर्वक लिँदै कार्यक्रम आयोजना गरिएको हो,’ उनले भनिन् ।
कार्यक्रममा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथि रहेकामा एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र सर्वसाधारण नेपाली सहभागी थिए ।
प्रतिक्रिया 4