१४ चैत्र काठमाडौं । अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकनहरूले दुवै सदनको साझा सहमतिमा बनेको द्वि–दलीय सम्झौतालाई अस्वीकार गरिदिएपछि ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डीएचएस) को आंशिक ‘सटडाउन’ अझै लम्बिने भएको छ ।
सिनेटले अध्यागमन निकायहरूको बजेट कटौती गरेर अन्य सुरक्षा अङ्ग खोल्ने प्रस्ताव पारित गरे पनि सभामुख माइक जोन्सनले त्यसलाई ‘मजाक’ को संज्ञा दिँदै खारेज गरिदिएका छन् ।
यो राजनीतिक खिचातानीका कारण अमेरिकाभरका विमानस्थलमा सुरक्षा जाँचका लागि यात्रुले घण्टौँ कुर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
प्रतिनिधिसभाले शुक्रबार राति २१३ विरुद्ध २०३ मतले आफ्नै नयाँ योजना पारित गरेको छ, जसमा अध्यागमन र भन्सार प्रवर्तन (आइसीई) का लागि ६० दिनसम्मको निरन्तर बजेट व्यवस्था गरिएको छ ।
तर, सिनेटका बहुमत नेता चक सुमरले यसलाई सिनेटमा पुग्ने बित्तिकै ‘मृत’ घोषणा गरिदिएका छन् ।
डेमोक्र्याटहरूले आइसीई एजेन्टहरूबाट मिन्नेसोटामा अमेरिकी नागरिकद्वय रेनी गुड र एलेक्स प्रेटीको हत्या गरेको घटनालाई लिएर उक्त निकायको बजेटमा कडाइ गर्नुपर्ने अडान राखेका छन् ।
उनीहरूले एजेन्टहरूले मास्क लगाउन नपाउने, जातीय प्रोफाइल बनाउन नपाउने र निजी सम्पत्तिमा प्रवेश गर्न न्यायिक वारेन्ट अनिवार्य हुनुपर्ने माग गरेका छन् ।
यसैबीच, संसद दुई हप्ताको बिदामा गएपछि करिब ५० हजार टिएसए एजेन्टहरूले डेढ महिनादेखि तलब नपाएको अवस्था छ ।
ह्युस्टन विमानस्थलका उड्डयन निर्देशक जिम स्जेसियाकका अनुसार अहिले आधाभन्दा कम सुरक्षा जाँच केन्द्र मात्र सञ्चालनमा छन् ।
संकट बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै टिएसए एजेन्टलाई आगामी सोमबारदेखि नै तलब भुक्तानी गर्न निर्देशन दिएका छन् ।
यद्यपि, बजेट स्वीकृत गर्ने अधिकार संसदसँग मात्र हुने संवैधानिक व्यवस्थाका कारण ट्रम्पको यो कदमले कानुनी चुनौती झेल्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया 4