News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नवनियुक्त मन्त्रीहरुलाई पुल्चोकस्थित क्वाटरमा व्यवस्थापन गर्न थालेपछि त्यहाँ बसिरहेका केही न्यायाधीशहरुले बसाइँ सर्ने योजना बनाउन थालेका छन्।
- एउटै कम्पाउण्डमा मन्त्री र न्यायाधीश बस्दा न्यायसम्पादनमा असर पार्ने भन्दै वैकल्पिक बसाइँको तयारी गरिएको हो ।
- मन्त्रीहरु भैंसेपाटी निवासमा सरेपछि पुल्चोक क्वाटरलाई न्यायाधीश र मुख्य रजिष्ट्रारको निवास बनाइएको थियो । जेनजी आन्दोलनमा भैंसेपाटी निवासमा आगजनी भएकाले बस्नयोग्य छैन ।
१५ चैत, काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरुलाई पुल्चोकस्थित क्वाटरमा व्यवस्थापन गर्न थालेपछि त्यहाँ बसिरहेका केही न्यायाधीशहरु ‘बसाइँ सर्ने’ योजना बनाउन थालेका छन् । केहीले अस्थायी रुपमा भए पनि क्वाटर छाड्ने तयारी गरेका हुन् ।
एउटै कम्पाउण्डभित्रको क्वाटरमा कतै न्यायाधीशहरु बस्ने र कतै मन्त्रीहरु रहने अवस्था स्वाभाविक नहुने र त्यसबाट न्यायसम्पादनमा असर पर्नसक्ने भन्दै उनीहरुले वैकल्पिक योजनाको तयारी थालेका हुन् ।
ललितपुरको भैंसेपाटीमा सुविधासम्पन्न मन्त्री निवास बनेपछि पुल्चोक निवासबाट मन्त्रीहरु भैंसेपाटी सरेका थिए । पुल्चोकको निवासमा भने न्यायाधीशहरु बस्दै आएका छन् ।
जेनजी आन्दोलनका बेला भएको आगजनीले ललितपुरको भैंसेपाटीस्थित नवनिर्मित मन्त्रीनिवास क्षतिग्रस्त बनेको छ । त्यहाँ रक्षामन्त्री बसेको बाहेक सबै घर बस्न नमिल्नेगरी क्षतिग्रस्त भएको थियो ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका सबै मन्त्रीहरुले आ–आफ्नो निवासलाई नै मन्त्रीक्वाटर बनाएका थिए । तत्कालीन युवा मन्त्री बब्लु गुप्ताले मात्रै भैंसेपाटीको त्यो सग्लो भवन प्रयोग गरेका थिए ।
‘अहिले पुल्चोकस्थित क्वाटरमा रहेकामध्ये कम्तिमा पनि पाँचवटा घर मर्मत र रंगरोगन चलिरहेको छ । अब छिट्टै केही मन्त्रीहरु त्यहाँ बसाइँ सर्ने थाहा पाएका छौं,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘हामी बाहिर बस्नेहरुलाई समस्या छैन, तर त्यहाँ बस्ने न्यायाधीशहरुले असहज महसुस गर्न थाल्नुभएको छ ।’
आचारसंहिता आकर्षित
कतिपय न्यायाधीश बस्ने निवाससँगैको अर्को कम्पाउण्डमा मन्त्री बस्ने तयारी भएको छ । सँधियारको मुद्दा हेर्न नमिल्ने प्रचलित अभ्यास अनुसार, ती मन्त्रीहरु जोडिएको मुद्दा पेशीमा परे के गर्ने भन्नेवारे अन्यौल भएको ती न्यायाधीशले बताए ।
सँगैको निवासको बसाइँ, हिँड्डुलका क्रममा हुने भेटघाट र बोलचाल एवं अन्य व्यवहारले न्यायसम्पादनका काम कठिनाइ हुने ती न्यायाधीशले बताए ।
‘त्यस्तो बसाइँ आचारसंहिता पालनासँग पनि जोडिने विषय भएकाले उहाँहरुलाई त्यहाँ बसिरहन कठिन हुने देखियो,’ ती न्यायाधीशले भने, ‘बसिरहेको ठाउँ छाडेर हिँड्न पनि अप्ठेरो हुने भएकाले अन्यौल भएको छ ।’
हरिहरभवन कम्पाउण्डसँग जोडिएको पुल्चोकस्थित क्वाटरभित्र अहिले १९ वटा भवनहरु छन् । प्रधानन्यायाधीश बालुवाटारस्थित निवासमा रहने र कतिपय न्यायाधीशहरु आफ्नै घरमा बस्ने भएकाले पुल्चोकस्थित कम्पाउण्डभित्र रहेका सबै निवासहरु प्रयोग भएका छैनन् ।
प्रयोग नभएर खाली भएका क्वाटरहरुमा नवनियुक्त मन्त्रीहरुले बस्ने योजना बनाएका हुन् । मर्मतसम्भारको काम शुरु हुन थालेपछि न्यायाधीशहरु सशंकित भएका हुन् ।
दुई विकल्पमा छलफल
पुल्चोकस्थित निवासमा बसिरहेका एक न्यायाधीशका अनुसार, त्यहाँ रहेका न्यायाधीशहरुले दुई विकल्पमा छलफल गरिरहेका छन् ।
पहिलो, बाहिर बस्न सहज भएका न्यायाधीशहरु ‘झिटीगुण्टा’ कसेर आफ्नै निवासमा रहने र पुरानै तौरतरिकाले अदालत जाने ।
अर्काथरी न्यायाधीशहरु भने मन्त्रीहरु बस्न थालेपछि निवास खाली नगर्ने तर आफ्नो घरमै बसेर त्यहाँबाट अदालत आउजाउ गर्ने मनस्थितिमा छन् ।
ती न्यायाधीशहरुले भने, ‘हामी छलफलकै क्रममा छौं, के गर्ने भन्ने मनस्थिति बनिसकेको छैन ।’
हरिहरभवन छेवैको ७२ रोपनी जग्गा प्रयोग गरेर २०२८ सालमा मन्त्री क्वाटर बनाइएको हो । शुरुमा १४ वटा भवन रहेकोमा त्यहाँ पाँचवटा थपिएको थियो । सरकारले भैंसेपाटीमा नयाँ मन्त्रीक्वाटर बनाएपछि पुल्चोकस्थित पुरानो क्वाटर खाली भएको थियो ।
फागुन, २०७९ मा सरकारले पुल्चोकस्थित क्वाटरलाई सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारको निवास बनाउने निर्णय गरेको थियो । तर दुई वर्षपछि अर्थात भदौ, २०८१ पछि मात्रै त्यहाँ मन्त्रीहरु बस्न थालेका हुन् । कतिपय मन्त्रीहरु भने निकै ढिलो त्यहाँ बसाइँ सरेका थिए ।
प्रतिक्रिया 4