News Summary
Generated by OK AI. Editorially reviewed.- पीएम कप २०२६ मा लुम्बिनी प्रदेशले सुपर ओभरमा विभागीय टोली एपीएफ क्लबलाई पराजित गरेको छ ।
- लुम्बिनीले १२५ रनको लक्ष्य पछ्याउने क्रममा १२४ रनमा अलआउट भएपछि खेल टाई भएको थियो ।
- सुपर ओभरमा लुम्बिनीले १४ रन बनाएको थियो भने एपीएफले ६ रन मात्र जोड्न सक्यो ।
१८ चैत, काठमाडौं । पीएम कप २०२६ मा भएको पहिलो सुपर ओभरमा लुम्बिनी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई पराजित गरेको छ ।
एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी पनि १२४ रनमा अलआउट भएपछि खेल टाई भएको थियो । त्यसपछि भएको सुपर ओभरमा लुम्बिनी विजयी भयो ।
सुपर ओभरमा लुम्बिनीले एक छक्का र बाईको एक चौकासहित १४ रन बनाएको थियो । अभिशेष गौतमको पहिलो बलमा देव खनालले डट खेले भने दोस्रो बलमा १ रन लिए । तेस्रो बलमा आकाश त्रिपाठी आउट भए ।
चौथो बलमा सन्तोष यादवले छक्का प्रहार गरे । पाँचौं बल वाइड भयो भने त्यसपछि सन्तोषले १ रन लिए । अन्तिम बलमा बाईको चौका भयो ।
जवाफमा एपीएफले ६ रन मात्र जोड्न सक्यो । पहिलो बलमा कप्तान रोहित पौडेललाई लुम्बिनीका सन्तोष यादवले १ रन दिए । दोस्रो बलमा लोकेश बम बोल्ड भए । त्यसपछि सन्दीप जोराले २ बल डट खेले । पाँचौं बलमा एक रन लिए भने छैटौं बलमा रोहितले चौका प्रहार गरेपनि पर्याप्त भएन ।
खेलमा १२५ रनको लक्ष्य पछ्याउँदा राम्रो सुरुवात गरेको भएपनि लुम्बिनीले लय गुमाउन पुगेको थियो । १६ ओभरमा ७४-१ को अवस्थामा भएको लुम्बिनी त्यसपछि ७४-२ हुँदै ८४-३ अनि १०२-७ को अवस्थामा पुग्यो ।
त्यसपछि लुम्बिनी केही समय सम्हालियो । ११९ रन पुग्दा भने फेरि आठौं विकेट गुमायो । त्यसपछि १२४ रनमै नवौं अनि १०औं विकेट गुमाएपछि खेल टाई भएको थियो ।
कप्तान देव खनालले सर्वाधिक ४५ रन बनाए भने आकाश त्रिपाठीले ३२ रन बनाए । दर्श सोनारले १६ रन बनाए ।
एपीएफका कप्तान रोहित पौडेलले ३ विकेट लिए भने युवराज खत्री, अभिशेष गौतम र भुवन कार्कीले २-२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफ ३९.४ ओभरमा १२४ रनमा अलआउट भएको थियो । बलर अभिशेष गौतमले सर्वाधिक २८ रन बनाए, ओपनर दीपक बोहराले २० रन बनाए । सन्दीप जोराले १७ तथा आसिफ शेख र लोकेश बमले समान १५ रन बनाए ।
लुम्बिनीका अजय चौहानले ४ विकेट लिए भने सन्तोष यादवले ३ विकेट लिए । निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए ।
प्रतिक्रिया 4