News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै बाहिरिएको छ।
- बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बनेको छ।
- नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरेपनि गोल गर्न सकेन र बंगलादेशले उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
१८ चैत, काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।
बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल फेरिपनि स्तब्ध बन्यो । गत संस्करणको सेमिफाइनलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बन्यो । नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरेपनि गोल फर्काउन सकेन ।
बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भारत र भुटानबीचको खेल आजै राति हुँदैछ ।
उमेर समूहमा नेपालले दुई र बंगलादेशले एक-एक पटक उपाधि जितेका छन् । तर पछिल्ला संस्करणहरुमा बंगलादेश नेपालका लागि चुनौती बन्दै आएको थियो ।
सन् २०२४ मा नेपालमै भएको साफ यू-२० मा बंगलादेशले नेपाललाई फाइनलमा हराएर उपाधि जितेको थियो । त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरेपनि फाइनलमा भने त्यही नतिजा दोहोर्याउन नेपालले सकेन ।
यस पटक माल्दिभ्स जानुअघि नेपाल यू-२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि सर्वाधिक चार पटकको च्याम्पियन भारतसँगै बंगलादेश नै कठिन प्रतिद्वन्दी भएको बताएका थिए ।
उपाधि जित्ने लक्ष्य बनाएर माल्दिभ्स पुगेको नेपालको यात्रामा फेरि एकपटक बंगलादेश नै बाधक बन्यो ।
यस उमेर समूहमा नेपालले सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेपछि उपाधि जित्न सकेको छैन ।
त्यसपछि भारतले २०१९ देखि २०२३ सम्म लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो भने २०२४ मा बंगलादेशले जित्दा २०२५ मा फेरि भारत नै च्याम्पियन भएको थियो ।
२०२५ कै समूह उपविजेता भएर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा बंगलादेशसँग २-१ ले पराजित हुँदा फाइनल पुग्न सकेन ।
प्रतिक्रिया 4