News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा चैत २३ देखि २५ गतेसम्म मौरी व्यवसायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने छ।
- सम्मेलनमा २५० भन्दा बढी अनुसन्धानकर्ता र मौरीपालक किसान सहभागी भएर ४२ कार्यपत्र प्रस्तुत गरिनेछ।
- सम्मेलनमा मौरी पालन, एपि थेरापि, रोग व्यवस्थापन, उत्पादन गुणस्तर र बजार विस्तारका विषयमा छलफल हुनेछ।
२२ चैत, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मौरीको क्षेत्रमा काम गर्ने विज्ञ तथा किसानहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । चैत २३ गतेदेखि २५ गतेसम्म हुन लागेको सम्मेलनमा २५० जना भन्दा बढी अनुसन्धानदाता र मौरीको व्यवसायिक पालन गरेका किसानहरु सहभागी हुनेछन् ।
कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरको कृषि संकाय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासंघको संयुक्त आयोजनामा गर्न लागिएको सम्मेलनमा चार वटा बिद्यामा ४२ कार्यपत्र प्रस्तुत गरिने छ ।
सम्मेलनका सदस्य सचिव विश्वविद्यालयका उपप्राध्यापक डा. केदार देवकोटाले मौरी पालन, एपि थेरापि, परागसेचन र मौरीसँग सम्बन्धित रोग र किराको व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुतीकरण एवं छलफल हुने जानकारी दिए ।
सम्मेलनमा मौरी तथा परागसेचन सम्बन्धी नवीन अनुसन्धान र प्रविधि आदानप्रदान, मौरीको स्वास्थ्य, रोग व्यवस्थापन तथा संरक्षणका उपायहरुको पहिचान, मौरीजन्य उत्पादनहरुको गुणस्तर, मूल्य अभिवृद्धि र बजार विस्तारका सम्भावनाको खोजीका विषयमा पनि छलफल हुने छ । साथै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सहकार्य र सञ्जाल विस्तार, नीति निर्माण तथा कार्यान्वयनमा वैज्ञानिक आधार प्रदान गर्न गर्नुपर्ने कामका विषयमा समेत छलफल गरिने कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पुष्करबहादुर पालले जानकारी दिए ।
परागसेचनमा मौरीको ७० प्रतिशत योगदान हुने हुँदा मौरीको महत्व मह खानका लागि मात्रै नहुने भन्दै उनले मौरीको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।
जैविक विविधताको संरक्षण हुँदा मौरीहरुकोसमेत संरक्षण
सम्मेलनमा नेपाल सहित भारत, थाइल्याण्ड, चीन, कोरिया, अमेरिका क्यानडा, ग्रिस, हंगेरी, स्विडेन, स्टोनिया, बंगलादेश, श्रीलंका लगायतका विभिन्न देशबाट विषय विज्ञहरु आउने विश्वविद्यालयले जनाएको छ ।
नेपाल तथा विश्वमा रहेका मौरीहरुको अवस्था, उत्पादन, मौरीपालन व्यवसायलाई अझै बढ्ता मुनाफामा आधारित बनाउन गर्नुपर्ने कामहरु, भएका अनुसन्धानहरुका बारेमा छलफल तथा ज्ञानको आदानप्रदान गरिने कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।
कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले मौरीका उत्पादनहरुको विविधीकरण गरेर भ्यालु एड गर्न सम्मेलन महत्वपूर्ण कोशेढुंगा हुने विश्वास व्यक्त गरे । उनले जैविक विविधताको संरक्षण हुँदा मौरीहरुकोसमेत संरक्षण हुने बताए ।
सम्मेलन पश्चात चैत २६ र २७ गते अतिथीहरुलाई मौरीपालन केन्द्र, अनुसन्धान फार्म तथा चितवनका पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण गराउने कार्यक्रम छ ।
चरन क्षेत्रको व्यवस्थापन चुनौती
मौरी डेढदेखि २ किलोमिटरसम्म गएर चर्ने गरेकोमा चरन क्षेत्रको व्यवस्थापन पछिल्लो समयमा चुनौतीपूर्ण बनेको बताए ।
मौरीपालन व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष पदम अम्गाईले देशभर ३५ देखि ४० हजार मौरीपालक किसान रहेको भन्दै थोरै संख्यामा मौरी पाल्ने किसान धेरै रहेको बताए । नेपालमा १२ देखि १५ प्रकारका महहरु पाइने उनले जानकारी पनि दिए ।
नेपालमा सेरेना र मोलिफेरा जातका मौरी पाल्ने गरिएको छ । बढी मात्रामा मेलिफेरा जातका मौरीपालन गर्ने गरिन्छ ।
नेपालमा १ लाख ३० हजार गोला मेलिफेरा जातका मौरी भएको तथ्यांक छ । करीब १२ हजार किसान यसमा आवद्ध छन् ।
सेरना जातको मौरीको भने व्यवसायिक उत्पादन कम हुने गर्दछ ।
महको प्रदर्शनी तथा ‘हनी बार’ राखिने
सम्मेलनका अवसरमा मह प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा नेपालमा उत्पादन हुने विभिन्न १२ प्रकारका महलाई राखिनेछ ।
प्रदर्शनीस्थलमा ८ वटा स्टल रहनेछन् तीमध्ये ३ वटा विदेशी व्यवसायीहरूले मौरीको उत्पादन राखिनेछ ।
सम्मेलनमा हनी बार सञ्चालन गरिने छ । विदेशी र सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई नेपालमा पाइने महहरु चखाउन ‘हनी बार’ राख्न लागिएको सदस्य सचिव देवकोटाले जानकारी दिए । नेपालमा उत्पादन हुने सबै क्षेत्रको महलाई बारमा राखिनेछ ।
प्रतिक्रिया 4