News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश रुकुम पश्चिमका मुक्तककार कर्णबहादुर खत्रीलाई मकवानपुरमा 'शिव–सावित्री अधिकारी मुक्तकसम्मान २०८२' प्रदान गरिएको छ।
- झरना साहित्यिक परिवारले ३२५ औँ साहित्यिक शृङ्खलाका अवसरमा ३२ औँ मुक्तक साँझ आयोजना गरी विद्यार्थीबीच मुक्तक वाचन प्रतियोगिता सम्पन्न गरेको छ।
- प्रतियोगितामा सुमिना दहाल सर्वोत्कृष्ट भइन् र उनलाई ५ हजार ५५५ रुपैयाँ राशिको 'शिव–सावित्री अधिकारी स्मृति मुक्तक नवप्रतिभा पुरस्कार' प्रदान गरिएको छ।
२२ चैत, हेटौंडा । कर्णाली प्रदेशको जिल्ला रुकुम पश्चिमका मुक्तककार कर्णबहादुर खत्रीलाई मकवानपुरमा ‘शिव–सावित्री अधिकारी मुक्तकसम्मान २०८२ प्रदान गरिएको छ ।
झरना साहित्यिक परिवारको ३२५ औँ साहित्यिक शृङ्खलाका अवसरमा साहित्यकार रमेशमोहन अधिकारीद्वारा आफ्ना आमाबुबाका स्मृतिमा स्थापित १५ हजार ५५५ राशिसहितको ‘शिव–सावित्री अधिकारी मुक्तकसम्मान–२०८२ खत्रीलाई प्रदान गरिएको हो ।
झरनाले ३२५औं साहित्यिक शृङ्खलासँगै ३२औँ मुक्तक साँझ पनि सम्पन्न गरेको छ । कार्यक्रममा मकवानपुरकाका विभिन्न विद्यालयका कक्षा ९ देखि १२सम्म अध्ययनरत विद्यार्थीबाट छानिएका विद्यार्थीबीच मुक्तक वाचन प्रतियोगिता आयोजना गरिएको थियो ।
उत्कृष्ट नौ विद्यार्थी सहभागी प्रतियोगितामा बुद्ध मावि हात्तीसुँडेकी छात्रा सुमिना दहाल सर्वोत्कृष्ट भइन् । उनलाई ५ हजार ५५५ रुपैयाँ राशिको साहित्यकार रमेशमोहन अधिकारीद्वारा नै स्थापित ‘शिव–सावित्री अधिकारी स्मृति मुक्तक नवप्रतिभा पुरस्कार’ प्रदान गरिएको झरनाका सचिव नीलहरि ढुङ्गेलले जानकारी दिए ।

कार्यक्रममा एकल मुक्तक कृति प्रकाशन गरेका देवराज खरेल, अनिश न्यौपाने ‘भावना’, डिबी बर्तौला, राम कार्की, दीपक गौतम, बिर्खे अञ्जान, राजबाबु पहाडी, दिनेशकुमार शर्मा, एसआर मञ्जरी ओली, सुमी थिङलगायतलाई कृतिगत कदरपत्रबाट सम्मान गरिएको थियो ।सबै सम्मानित मुक्तककारहरूले आआफ्ना मुक्तकहरू वाचन गरेका थिए ।
झरनाकी सहसचिव अमृता लामिछानेले सञ्चालन, उपाध्यक्ष कृष्ण घतानीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अध्यक्ष गायत्री रूपाखेतीले सभाध्यक्षता गरेकी थिइन् । कार्यक्रमको प्रमुख आतिथ्यता मुक्तककार रमेश समर्थनले गरेका थिए ।
प्रतिक्रिया 4