+

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

२०८२ चैत  २४ गते २१:०५ २०८२ चैत २४ गते २१:०५

खेलाडीले असन्तुष्टि जनाउँदा कारबाही बेहोर्छन्, तर अम्पायरले बारम्बार गल्ती गरिरहँदा कुनै कारबाही हुन्न । यो प्रवृत्ति नेपाली क्रिकेटको टाउको दुखाइ बनेको छ ।

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले अम्पायरको स्तर सुधारका लागि पहिलोपटक ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरिरहेको छ।
  • अम्पायरको प्रदर्शनको निगरानी टेक्निकल कमिटीले गरिरहेको छ र म्याच रेफ्रीसँगको छलफलमा सुधारका सुझाव दिइरहेको छ।

२४ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेटअन्तर्गत मधेश प्रदेशविरुद्धको खेलमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाएपछि लुम्बिनीका कप्तान देव खनालले एक खेलको प्रतिबन्ध बेहोरे ।

खेलको आठौं ओभरको अन्तिम बलमा रूपेश सिंहको बलमा अपर कटको प्रयास गरेका देवलाई विकेटकिपरको क्याचपछि आउट दिइएको थियो । अम्पायरले आउट दिँदा देवले आपत्ति जनाए । र, केहीबेर मैदानमै रहे । त्यसपछि उनलाई कारबाहीस्वरूप म्याच रेफ्रीले एक खेलको प्रतिबन्ध लगाएका हुन् ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध चितवन राईनोजका रिजन ढकालले एलबीडब्लुको अपिल गरे । अम्पायरले आउट नदिएपछि उनले असन्तुष्टि जनाए । सोहीकारण उनलाई कारबाही भएको थियो ।

अम्पायरबाट एलपीएलको यो संस्करणबाट कयौं गलत निर्णय भएको भन्दै चर्काे आलोचनासमेत भएको थियो ।

गत वर्षको जय ट्रफीका क्रममा क्रिकेटर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक रहेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेका थिए । उनले लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेतर्फ संकेत गरे । त्यसपछि उनलाई एक खेलको प्रतिबन्ध लाग्यो ।

अम्पायरबाट एलपीएलको यो संस्करणबाट कयौं गलत निर्णय भएको भन्दै चर्काे आलोचनासमेत भएको थियो ।

उल्लेखित घटनामा खेलाडीलाई कारबाही हुँदा अम्पायर र अम्पायरको निर्णयमाथि भने कुनै कारबाही भएको छैन । यसबारे नेपाल क्रिकेट संघ(क्यान)ले पनि कुनै क्रिया–प्रतिक्रिया दिने गरेको छैन ।

यसबारे केही अम्पायर समेत असन्तुष्ट सुनिन्छन् । ‘खेलाडीले केही गल्ती गरे कारबाही गर्छाैं । तर, कुनै अम्पायरले पटकपटक गलत निर्णय दिँदा केही भइरहेको छैन,’ एक सिनियर अम्पायर भन्छन्, ‘उनीहरूलाई क्यानले कारबाही नै गर्दैन । अनि कसरी अम्पायरिङको स्तर सुध्रिन्छ त ?’

अम्पायरको स्तरप्रति लुम्बिनी प्रदेशका मुख्य प्रशिक्षक वसन्त शाही पनि सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘अम्पायरिङको निर्णयमा हामी मात्र होइन, सायद कुनै पनि टिम सन्तुष्ट छैनन् । पीएम कपमा अम्पायरिङको स्तर राम्रो देखिएको छैन । त्यसमा केही सुधार ल्याउनुपर्ने हुन्छ ।’

हरेक खेलमा अम्पायरको निर्णयप्रति प्रत्येक टिमले सुझाव दिएका हुन्छन् । उक्त सुझावका आधारमा गल्ती गर्ने अम्पायरलाई कारबाही र राम्रो गर्ने अम्पायरलाई प्रोत्साहन गर्नुपर्ने हो । तर, त्यसतर्फ क्यानले ध्यान दिएको देखिँदैन ।

‘हाम्रो अम्पायरिङको स्तर गिरेको छ । हामीले अम्पायरको मुल्यांकन गर्ने स्वतन्त्र समिति बनाएका छैनौं,’  एक सिनियर अम्पायर भन्छन्, ‘जबसम्म सही र योग्य मान्छेलाई अगाडि राख्दैनौं । क्लब, जिल्ला, प्रदेशको मान्छे, कोही सचिव, अध्यक्षको मान्छे भनेर नियुक्ति गर्छौं भने यस्तो समस्या आइरहन्छ ।’

अम्पायरलाई पनि खेलाडी जसरी नै रिपोर्टअनुसार मुल्यांकन गर्नुपर्ने लुम्बिनीका मुख्य प्रशिक्षक शाहीको तर्क छ । ‘खाली खेलाडीलाई मात्रै कारबाही गरिन्छ । तर, म्याच रिपोर्टका आधारमा अम्पायरको पनि मुल्यांकन हुनुपर्छ । राम्रो गर्नेलाई अगाडि बढाउनुपर्‍यो, नराम्रो गरिराख्नेलाई तल राखेर नयाँलाई अवसर दिनुपर्‍यो,’ उनले भने । नत्र यहीप्रकारले अम्पायरिङ र क्रिकेटको स्तर कहिले नसुध्रिने उनको समीक्षा छ ।

क्रिकेट अम्पायर तथा स्कोरर संघ नेपाल (कुसान)का अध्यक्ष समीर खान पनि अम्पायरबाट गल्ती भइरहेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘इरर भइराखेको छ । यसलाई इन्कार गर्न मिल्दैन । त्यो हुनु हुँदैन । त्यसलाई कसरी न्यूनीकरण ध्यानाकर्षण भएको छ ।’

नेपालमा सञ्चालन हुने प्रतियोगिताहरूमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागु हुन सकेको छैन । त्यसकारण पनि नेपालमा अम्पायरबाट गल्ती हुने गरेको कुसानका अध्यक्ष खानको अनुभव छ । ‘यो नेचुरल प्रक्रिया नै हो । विश्व क्रिकेट जगतमा पनि यहाँभन्दा धेरै इरर भइराखेको छ । अम्पायर पनि मान्छे हो । केही सेकेन्डमा नै निर्णय दिनुपर्दा कहिलेकाहीँ गल्ती हुन जान्छ,’ उनी भन्छन् । त्रुटि घटाउन विभिन्न कार्यक्रम भइरहेको उनको दाबी छ ।

क्रिकेट अम्पायर तथा स्कोरर संघ नेपाल (कुसान)का अध्यक्ष समीर खान पनि अम्पायरबाट गल्ती भइरहेको स्वीकार गर्छन् ।

खेलाडीजस्तै तत्कालै कारबाही गर्ने प्रावधान नभए पनि गलत निर्णय दिने अम्पायरलाई कारबाही हुने गरेको खानको दाबी छ । ‘खेलाडीलाई जस्तो अम्पायरलाई इमिडिएट कारबाही त हुँदैन । प्रतियोगितापछि बोर्डले म्याच रिपोर्टअनुसार अम्पायरलाई कारबाही गर्नसक्छ,’ उनी भन्छन् ।

लुम्बिनीका मुख्य प्रशिक्षक शाहीले अम्पायरलाई पनि खेलाडी जसरी प्रदर्शनका आधारमा जिम्मेवारी दिनुपर्ने उल्लेख गरे । ‘नेपाली टोलीमा कोही नराम्रो खेलिराखेर बस्न सक्दैन नि त । प्रदर्शन दिएरै बस्ने हो । प्रदर्शन नभए त अर्काे आइहाल्छन् नि,’ उनी भन्छन्, ‘त्यो अम्पायरको हकमा भएन । क्यानले त्यो किसिमको वातावरण बनाइदियो भने अम्पायरलाई पनि मैले पाएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ भन्ने हुन्छ ।’

‘मुल्यांकनका आधारमा ग्रेडिङ गर्दैछाै‌ं’

अम्पायरको गल्तीका बारेमा क्यान जानकार नभएको पनि होइन । तर, विवादमा आउँदा चासो लिने र पछि बिर्सने परम्पराले नेपाली क्रिकेट अम्पायरको स्तर माथि उठ्न सकेको देखिँदैन ।

अम्पायरको विषयमा हालै भएको क्यान बोर्ड बैठकमा पनि कुरा उठेको थियो । अहिले क्यानले काम र योगदानका आधारमा अम्पायरको ग्रेडिङ गर्ने तयारी क्यानको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले अम्पायरको गुणस्तर वृद्धि गर्न पहिलोपटक ग्रेडिङ गर्न लागिएको जानकारी दिए । ‘अम्पायरको विषय बैठकमा पनि उठेको थियो । क्यानमा एउटा टेक्निकल कमिटी छ । त्यसले दिएको रिपोर्टमा रहेर क्यानले अम्पायरको ग्रेडिङ गर्छ । त्यसो हुँदा अम्पायरको क्वालिटीमा पनि वृद्धि हुन्छ,’ उनले भने ।

टेक्निकल कमिटीले अम्पायरले गरिरहेको प्रदर्शनको मुल्यांकन गरिरहेको लामाले बताए । ‘टेक्निकल कमिटीले अम्पायरको प्रदर्शनको निगरानी गरिराखेको छ,’ उनले भने, ‘म्याच रेफ्रीसँगको छलफल र रिभ्यूका आधारमा कसरी अगाडि बढाउँदा ठिक हुन्छ भनेर उक्त कमिटीले क्यानलाई रिपोर्ट दिन्छ ।’

अम्पायरिङ एरर नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय