+
+
Shares

हर्क साम्पाङको पहलमा पुल बन्न लागेको महाकालीमै हो ?

‘दार्चुलाको पुल बनाउँदा कुनै किसिमको राजनीतिक उद्देश्य राखेको छैन मैले, भोट नदिँदा पनि हुन्छ त्यस भेगकाले तर कसैले खुट्टा तान्ने र विरोध गर्ने नगर्नुहोला’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते २१:११

२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गर्न भनेर चन्दा आव्हान गरेपछि धेरैले अन्तर्राष्ट्रिय सिमानामा एकलौटी पुल बन्न नसक्ने प्रतिक्रिया जनाए । दार्चुलाबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश ठगुन्नाले साम्पाङले ‘स्टन्टबाजी र हावा कुरा गरेको’ प्रतिक्रिया जनाएका थिए ।

नेपाल सरकार पूर्व सचिव भीम उपाध्यायले अन्तर्राष्ट्रिय नदीमा पुल बनाउँदा कूटनीति, बोर्डर सुरक्षा, भूगोल जस्ता कुरामा ध्यान दिनुपर्ने बताए । ‘यस्ता सम्भव हुँदै नहुने काममा पनि हावाको भरमा कुदेको र अरूहरू पनि भावुक भएर उनकै पछिपछि कुदिरहेको देख्दै छु । यस्ता कुरा विज्ञको सल्लाहमा गर्ने की आफै हावामा विज्ञ बन्ने?,’ सामाजिक सञ्जाल फेसबुकमा उपाध्यायले लेखे ।

मंगलबार दार्चुला पुगेर साम्पाङले झोलुङ्गे पुलको शिलान्यास गरिछाडे । यस्तो कसरी सम्भव भयो ? ‘माननीयज्यूले ब्यास गाउँपालिकाको वडा नम्बर २ स्थित दुम्लिङकाठामा पुलको शिलान्यास गर्नु भएको हो, जुन नेपाल–भारतको सीमा नदी होइन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने ।

महाकाली नदीमा नभएर घट्टे खोलामा पुल बन्न लागेको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए । साम्पाङसँगै शिलान्यास गर्न दुम्लिङ पुगेका धामीले पहिला काठे पुल रहेको ठाउँमा पुल बन्न लागेको बताए ।

ब्यास गाउँपालिका-१ का वडाध्यक्ष अशोक ब्यासी त्यहाँको भूगोल नबुझ्नेहरूले महाकालीमै पुल बन्न लागे जसरी हल्ला गरेको बताए । उनी भन्छन्, ‘यहाँको वास्तविक भूगोल थाहा नपाउनेहरूले महाकाली नदीमा होला भनेर हल्ला गरेका हुन् ।’

दार्चुलाका सांसद ठगुन्नाले त्यहाँ झोलुङ्गे पुल आवश्यक रहेको तर साम्पाङले अनावश्यक प्रचारबाजी गरेको बताए । उनी भन्छन्, ‘उहाँले गर्नु भएको पहल सकारात्मक छ । देश विदेशका नेपालीलाई महाकालीमै पुल हाल्छु, तुइन विस्थापित गर्छु भन्नु चाहिँ स्टन्टबाजी हो ।’

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने दार्चुलाका जनतालाई सहज होस् भनेर स्वैच्छिक सहयोग आव्हान गरेर झोलुङ्गे पुल बनाउन लागेको बताए । यसमा आफ्नो पार्टीको कुनै स्वार्थ नभएको उनको भनाइ छ ।

साम्पाङले पनि आफ्नो राजनीतिक स्वार्थ नभएको बताएका छन् । ‘दार्चुलाको पुल बनाउँदा कुनै किसिमको राजनीतिक उद्देश्य राखेको छैन मैले, भोट नदिँदा पनि हुन्छ त्यस भेगकाले तर कसैले खुट्टा तान्ने र विरोध गर्ने नगर्नुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।

एक सय २० मिटर लामो पुल बनाउन करिब एक करोड लागत अनुमान गरिएको ब्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडुले जानकारी दिए । बडुका अनुसार पुलका लागि साम्पाङले पालिकासँग अनुमति समेत लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?