News Summary
Generated by OK AI. Editorially reviewed.- अल्लू अर्जुनले आफ्नो ४४औं जन्मदिनको अवसरमा निर्देशक एट्लीसँगको नयाँ एक्सन फिल्म 'राका' को पोस्टर सार्वजनिक गरेका छन्।
- फिल्म 'राका' मा अल्लू अर्जुन र दीपिका पादुकोण मुख्य भूमिकामा रहनेछन् र यो विज्ञान-कथा तथा फ्यान्टेसी जनरामा निर्माण हुँदैछ।
- 'राका' सन् २०२७ को गर्मीयाममा रिलिज हुने अपेक्षा गरिएको छ र यसको अनुमानित बजेट ६०० देखि ८०० करोड भारतीय रुपैयाँसम्म रहेको छ।
मुम्बई । ‘पुष्पा २’ बाट विश्वब्यापी पहिचान बनाएका भारतीय अभिनेता अल्लू अर्जुनले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गर्दै फ्यानलाई विशेष उपहार दिएका छन् ।
बुधबार ४४ वर्ष पुगेका उनले निर्देशक एट्लीसँगको आगामी एक्सन फिल्मको शीर्षक पोस्टर सार्वजनिक गरेका हुन् । फिल्मको नाम ‘राका’ राखिएको छ, जसमा अर्जुनको पूर्णतः फरक र आक्रामक लुक देखिएको छ ।
पोस्टरमा उनी ब्वाँसोको जस्तो हात, लामो धारिला नङ र तिखा आँखा सहित देखिन्छन् । आधा अनुहार पञ्जाले ढाकिएको छ भने काजलको गाढा रेखाले उनको दृष्टिलाई अझ रहस्यमय बनाएको छ । कपालको शैली पनि फरक छ, जसले उनको सम्पूर्ण अवतारलाई अनौठो तुल्याउँछ । यो लुकले फ्यानलाई आकर्षित गरेको छ ।
‘राका’मा अल्लू अर्जुनसँगै अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा रहने बताइएको छ । ‘पुष्पा २’को ठूलो सफलतापछि अर्जुनको यो कमब्याक फिल्म भएकाले यसको प्रतीक्षा पहिले नै उच्च थियो । सार्वजनिक भएको केही समयमै पोस्टरले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया पाएको छ ।
समाचार तयार पार्दासम्म करिब ३० मिनेटमै इन्स्टाग्राममा झन्डै ६ लाख लाइक र एक्स (ट्विटर) मा ७ लाखभन्दा बढी भ्युज प्राप्त भइसकेका थिए ।
फ्यानले पोस्टरलाई उत्साहजनक प्रतिक्रिया दिएका छन् । धेरैले यो फिल्म ब्लकबस्टर हुने दाबी गरेका छन् । केहीले अर्जुनको लुकलाई ‘डर लाग्दो तर आकर्षक’ भनेका छन् भने केहीले पोस्टरको गाढा रंग संयोजन र भिजुअल शैलीलाई पनि प्रशंसा गरेका छन् ।
अल्लू अर्जुनले हालै फिल्म क्षेत्रमा २३ वर्ष पूरा गरेका छन् । निर्माता अल्लू अरविन्दका छोरा अर्जुनले बाल कलाकारका रूपमा सन् १९८५ मा ‘विजेता’बाट अभिनय सुरु गरेका थिए भने २००३ मा ‘गंगोत्री’बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका हुन् ।
८ अप्रिल १९८२ मा जन्मिएका उनी आज भारतीय सिनेमा क्षेत्रका महँगा र प्रभावशाली कलाकारमध्ये पर्छन् । उनी ‘फोर्ब्स इन्डिया’को ‘सेलिब्रिटी १००’ सूचीमा समेत निरन्तर समावेश हुँदै आएका छन् । आफ्नो करियरमा २५ भन्दा बढी फिल्ममा काम गरिसकेका उनले एक राष्ट्रिय फिल्म पुरस्कार, ६ फिल्मफेयर अवार्ड (दक्षिण) र ३ नन्दी अवार्ड जितेका छन् ।
‘राका’लाई विज्ञान-कथा र फ्यान्टेसी जनरामा निर्माण गरिँदैछ । विभिन्न रिपोर्टका अनुसार फिल्ममा अर्जुन फरक-फरक भूमिकामा देखिन सक्छन् । कथा पुनर्जन्म, समानान्तर ब्रह्माण्ड र समय यात्रा जस्ता अवधारणामा आधारित हुने अनुमान गरिएको छ ।
साथै, पिता-पुत्रको भावनात्मक सम्बन्धलाई पनि कथामा समेटिने बताइएको छ । केही विवरणअनुसार फिल्ममा ‘दिव्य योद्धा’ र पौराणिक तत्वको संयोजन पनि हुन सक्छ, जसले ब्रह्माण्डमा फैलिएको संकटसँग जुध्ने कथालाई प्रस्तुत गर्नेछ ।
एट्ली निर्देशित यो फिल्म उच्च स्तरको एक्सन र भिजुअल इफेक्टसहित तयार हुँदैछ । यसको अनुमानित बजेट ६०० देखि ८०० करोड भारतीय रुपैयाँसम्म रहेको बताइएको छ । सन पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘राका’ सन् २०२७ को गर्मीयाममा रिलिज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4