+
+
Shares

कहिले नियुक्त हुन्छन् अर्का डेपुटी गभर्नर ? 

केन्द्रीय बैंकमा दुई डेपुटी गर्भनर हुने प्रावधान छ । सरकारले मंगलबार एउटा डेपुटी गभर्नरमा पण्डितलाई नियुक्त गरे पनि अर्को रिक्त राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मंगलबार नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको छ।
  • केन्द्रीय बैंकमा दुई डेपुटी गभर्नर हुने प्रावधान भए पनि अहिले एक पद मात्र रिक्त राखिएको छ।
  • पण्डितले राष्ट्र बैंकमा करिब २० वर्ष काम गरेका छन् र बैंक सुपरिवेक्षण, विदेशी विनिमय विभागमा अनुभव छन्।

२५ चैत, काठमाडौं ।  सरकारले मंगलबार नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्‍यो ।

केन्द्रीय बैंकमा दुई डेपुटी गभर्नर हुने प्रावधान छ । सरकारले मंगलबार एउटा डेपुटी गभर्नरमा पण्डितलाई नियुक्त गरे पनि अर्को रिक्त राखेको छ ।

केन्द्रीय बैंकका १८ कार्यकारी निर्देशकबाट गभर्नरले सिफारिस गरेकामध्ये दुई जना डेपुटी गभर्नर नियुक्त गर्नुपर्नेमा सरकारले एकलाई मात्र नियुक्त गरेको हो ।

सरकारले राजनीतिक झुकाव नराखेको तथा प्रतिस्पर्धा र क्षमतावान उम्मेदवारका रूपमा पण्डितलाई पाइएपछि डेपुटी गभर्नर नियुक्त गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।

डा. युवराज खतिवडा गभर्नर हुँदा रविन्द्र पाण्डेलाई डेपुटी गभर्नर नबनाउन रिक्त पदमा पनि नियुक्ति नगरी अड्काएका थिए ।

त्यसपछि केन्द्रीय बैंकको डेपुटी गभर्नर नियुक्ति एकै पटक हुन थालेको हो । ‘पूर्वगभर्नर खतिवडाले गरेको गल्ती सच्याइएको छ,’ स्रोतले भन्यो, ‘तत्कालका लागि केन्द्रीय बैंकको उच्च नेतृत्वमा डेपुटी गभर्नर नहुँदा ग्याप फिल नहोस् भनेर अहिलेका लागि एक डेपुटी नियुक्त गरिएको हो ।’

विगतको अभ्यास पनि केन्द्रीय बैंकको डेपुटी गभर्नर नियुक्ति एक जना नियुक्त भएको केही समय पछाडि अर्को नियुक्त गर्ने अभ्यास थियो ।

‘राष्ट्र बैंकलाई अप्ठ्यारो नपरोस्, अब अहिले गभर्नर कतै जानुपरेको वा बिदा बस्नुपरेको खण्डमा चल्नै नसक्ने अवस्था बन्यो,’ स्रोतले भन्यो, ‘एकैचोटि दुइटै डेपुटी गभर्नर नहुँदा समस्या देखिएको थियो, एउटा नियुक्ति गरेपछि केन्द्रीय बैंक नेतृत्वविहीन हुने अवस्था रहेन, अर्को डेपुटी नियुक्ति पनि आगामी एक देखि तीन महिनासम्म हुन्छ, त्यसमा पनि हालका कार्यकारी निर्देशकहरूबाट सिफारिस हुने मध्येबाट योग्य, प्रतिस्पर्धी, व्यावसयिक र राष्ट्र बैंकको हितमा काम गर्ने व्यक्तिलाई नियुक्त गरिने छ ।’

कार्यकारी निर्देशकमध्येबाट अधिकांशले आफ्नालाई डेपुटी गभर्नर बनाइदिन भन्दै सम्पर्क स्थापनाको पहल गरेका थिए । आगामी डेपुटी गभर्नर के हुन्छ भन्नेमा हालका कार्यकारी निर्देशकको आगामी कार्यसम्पादनले देखाउने स्रोतको भनाइ छ ।

करिब दुई तिहाइको जनादेश आएको सरकारले तत्कालका लागि नियामक निकायमा नियुक्त भएका व्यक्तिलाई तत्काल चलाउने सोचमा नभएको समेत स्रोतले स्पष्ट पार्‍यो ।

अर्का डेपुटी गभर्नर नियुक्त गर्दा हालका निर्देशकलाई पर्खेको केन्द्रीय बैंकभित्र चर्चा हुन थालेको छ । निर्देशकमा रहेका आगामी केही समयमा कार्यकारी निर्देशक हुने र उनलाई नै डेपुटी बनाउने योजनामा सरकार रहेको हुन सक्ने अनुमान केन्द्रीय बैंकका अधिकारीहरूको छ ।

नवनियुक्त डेपुटी गभर्नर पण्डित राष्ट्र बैंक प्रवेश गरेको करिब २ दशक भएको छ । पण्डितले बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, पेमेन्ट, विदेशी विनिमय विभागमा काम गरेका छन् ।

२० फागुन २०८१ मा राष्ट्र बैंक कार्यकारी निर्देशक बढुवा भएलगत्तै भुक्तानी प्रणाली विभाग नेतृत्व गरेका पण्डितको गत कात्तिकमा विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा भएको थियो ।

निर्देशक हुँदा उनी राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा सर्वोत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएका थिए । पब्लिक युथ क्याम्पसबाट बीबीएस उत्तीर्ण उनी आफ्नो ब्याचमा त्रिभुवन विश्वविद्यालयमै सर्वोत्कृष्ट बनेका थिए । उनले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?