+

मोनालिशा ‘गिफ्ट अफ चेस’ को एम्बासडर घोषित

२०८२ चैत  २५ गते २१:०५ २०८२ चैत २५ गते २१:०५
मोनालिशा ‘गिफ्ट अफ चेस’ को एम्बासडर घोषित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्र संघको मान्यता प्राप्त संस्था द गिफ्ट अफ चेसले मोनालिशा खम्बूलाई नेपालका लागि एम्बासडर घोषणा गरेको छ ।
  • खम्बूले नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा १ हजार चेस सेट वितरण गर्ने गिफ्ट अफ चेसको अभियानमा सहयोग गर्नेछिन् ।
  • हिमालयन चेस एकेडेमीकी संस्थापक खम्बूले दुई वर्षमा २ सय बढीलाई प्रशिक्षण दिइसकेकी छन् र १४ प्रतियोगिता आयोजना गरेकी छन् ।

२५ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ ।

न्यूयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले आफ्नो एक्स (पूर्वट्वीटर) र इन्स्टाग्राम अकाउन्टमार्फत् विहीबार खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन् । बोर्डभित्र र बाहिरका उपलब्धिका लागि मोनालिशा खम्बूलाई एम्बासडर चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ ।

उनको चेसमा दुई दशक बढी यात्राको कथा पोष्ट गर्दै गिफ्ट अफ चेसले खम्बूको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा १ हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ । २०२० डिसेम्बरमा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन् २०३० सम्म विश्वभरि १० लाख चेस सेट वितरण गर्ने अभियानमा रहेको छ । उसले ७० देशमा २ लाख चेस सेट वितरण गरिसकेको बताएको छ ।

खम्बू महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन, हईएस्ट रेटेड खेलाडी (फिडे रेटिङ १८७७), पहिलो इन्टरनेसनल आबिर्टर (आईए) हुन् । १४ वर्षकी छँदै एसियन गेम्स (सन् २००६ दोहा) मा देशको प्रतिनिधित्व गरेकी उनले एसियन गेम्स २ पल्ट, इन्डोर एसियन गेम्स ३ पल्ट, चेस ओलम्पियाड ३ पल्ट खेलेकी छन् ।

उनी चेस ओलम्पियाड (सन् २०२२ चेन्नाई) मा आर्बिटर बन्ने पहिलो नेपाली महिला पनि हुन् । नेपाल चेस महासंघमा उपमहासचिव रहेकी उनी विश्व चेस महासंघको फिडे कमिसन फर वुमेन्स चेसकी सदस्य पनि हुन् ।

उनले दुई वर्षअघि हिमालयन चेस एकेडेमी स्थापना गरेयता २ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हलमा प्रशिक्षण दिइसकेको छ । एकेडेमीले स्कुल, समुदाय, महिलासहित अटिजम प्रभावितलाई समेत नियमित चेस ट्रेनिङ दिइरहेको छ ।

दुई वर्षभित्रै क्लासिकल, र्‍यापिड, ब्लिज र पजल सोल्भिङ गरी चेसका १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको एकेडेमीले करिब तीन दर्जन प्रतियोगिताको व्यवस्थापन पनि गरेको छ ।

मोनालिशा खम्बू

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय