+
+
Shares

कालीकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

विक्रम तिरुवा विक्रम तिरुवा
२०८२ चैत २६ गते ६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा भीमबहादुर अधिकारी र चालक शक्तिबहादुर शाहीको मृत्यु भएको कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले बताए।
  • दुर्घटनामा घाइते भएका कलबहादुर अधिकारी र लोकेन्द्र शाहीको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

जुम्ला । जुम्लाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँका २६ वर्षीय एम्बुलेन्स चालक शक्तिबहादुर शाहीको मृत्यु भएको कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले जानकारी दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय बुबा कलबहादुर अधिकारीलाई नेपालगञ्ज लैजाने क्रममा छोरा भीमबहादुरको सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बिरामी कलबहादुर अधिकारी र हिमा–७ का २० वर्षीय लोकेन्द्र शाही घाइते छन् । कलबहादुरको खुट्टामा चोट लागेको छ भने लोकेन्द्रको कान र पेटमा सामान्य चोट लागेको छ । घाइते दुवै जनाको हाल कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रमुख खत्रीका अनुसार सडकमा लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?