तपाईं हामी आज जुन शरीरसँग बाँचिरहेका हुन्छौँ आजको एक दशकपछि त्यो हामीसँग हुँदैन ।
यो सुन्दा अनौठो लाग्नसक्छ । उमेर अनुसार शरीरको बनावट तथा स्वास्थ्यमा अन्तर आए पनि आम मानिसले बुझ्ने कुरा के हो भने प्राण छउन्जेल मानिसको शरीर त आफूसँगै रहन्छ । तर विज्ञानले भने यसलाई गलत सावित गरिदिएको छ । वैज्ञानिकहरूका अनुसार हाम्रो शरीर हरेक ७ देखि १० वर्षमा पूर्णरूपमा नवीकरण हुन्छ । अर्थात् अहिले हामीसँग जुन शरीर छ आजको १० वर्षपछि त्यो हुँदैन, नयाँ हुन्छ ।
वास्तवमा हाम्रो शरीरका अधिकांश कोशिकाहरूको आयु सातदेखि १० वर्ष मात्रै हुन्छ । त्यसैले हरेक नयाँ दशकमा हामी ‘नयाँ संस्करण’ मा अपग्रेड भइरहेका हुन्छौं ।
वैज्ञानिकहरूका अनुसार मानव शरीर कुनै साधारण संरचना होइन, यो आफैँ मर्मत हुने जीवित मेसिन हो । यस क्रममा शरीरका पुराना कोशिकाहरू चुपचाप मर्छन् र नयाँ कोशिकाहरू उसै गरी जन्मिन्छन् ।
स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्यूटका वैज्ञानिक जोनास फ्रिजेन नेतृत्वको टोलीले परमाणु बम परीक्षणपछि वातावरणमा बाँकी रहेको कार्बन-१४ आइसोटोप प्रयोग गरेर मानव कोशिकाको उमेर मापन गरेको छ । त्यसले शरीरका हरेक अंगहरू फरक फरक गतिमा ‘रिन्यु’ भइरहने गरेको देखाएको छ ।
पेट र आन्द्रा त यति छिटो बदलिन्छन् कि केही दिनमै पुराना कोशिकाहरू इतिहास बन्छन् । छाला केही हप्तामै नयाँ हुन्छ, रगत चार महिनामै ‘फ्रेस स्टक’ मा पुग्छ ।
त्यसैगरी कलेजोका कोशिकाहरू केही सय दिन बाँचेर फेरिन्छन् भने हड्डी पूरै बदलिन ६/७ वर्ष लाग्छ ।
यो सुन्दा हामीलाई लाग्छ कि हरेक वर्ष थोरै थोरै गरेर हामी ‘नयाँ मान्छे’ बन्ने रहेछौँ ।
तर शरीरका सबै चिजहरू यसरी नवीकरण हुँदैनन् । शरीरका केही भाग जीवनभर उही रहन्छन् । आँखाको लेन्सका कोशिकाहरू जन्मेपछि फेरि कहिल्यै नयाँ बन्दैनन् । दिमागको सेरेब्रल कोर्टेक्सका धेरै न्युरोनहरू पनि वयस्क भएपछि बदलिँदैनन् ।
वैज्ञानिकहरूका अनुसार मानिसको चेतना, आत्मपहिचान र जीवनभरका सम्झनाहरू यिनै स्थायी न्युरोनहरूमा सुरक्षित हुन्छन् । त्यसैले, शरीर बदलिँदा पनि तपाईं आफूलाई ‘म’ भनेर चिन्न छाड्नुहुन्न ।
यदि हाम्रो शरीर निरन्तर परिवर्तन भइरहेको हुन्छ भने हामीले कोही व्यक्तिलाई गर्ने प्रेम समान रहन्छ त ? हामीले किन कुनै एक पार्टनरसँग मात्रै प्रेम गर्न सक्छौँ त ?
प्राचीन ग्रीक दार्शनिकले हजारौं वर्षअघि नै ‘थिसियसको जहाज’ भन्ने रहस्यमय रचनामा यही कुरा उठाएका थिए । जहाजका सबै भाग क्रमशः फेरिए भने के त्यो उही पूरानो जहाज रहन्छ त ?
यसलाई प्रेमको सन्दर्भसँग जोड्दा एउटा जिज्ञासा उठ्छ– तपाईंको पार्टनरको शरीर हरेक दशकमा नयाँ बन्दोरहेछ भने के तपाइँले उही व्यक्तिलाई नै माया गरिरहनुभएको हो त ?
वैज्ञानिकहरूको उत्तर झन् अनौठो छ। उनीहरूका अनुसार प्रेम भनेको छाला तथा हड्डीसँग होइन, दिमागसँग सम्बन्धित छ। अक्सिटोसिन र डोपामिनजस्ता हार्मोनले भावना बलियो बनाउँछन् र दिमागको रिवार्ड सिस्टम सक्रिय हुन्छ।
वैज्ञानिक परीक्षणले देखाए अनुसार प्रेममा परेका मानिसको दिमागले पुराना स्मरणहरूलाई झनै गहिरोसँग समातेर राख्छ । शरीर जति बदलिए पनि सम्झना र भावना भने उही रहन्छन् ।
त्यसैले विज्ञानको भाषामा भन्नुपर्दा हाम्रो शरीर रहेक ७/१० वर्षमा ‘फुल अपडेट’ भएपनि प्रेम भन्ने चिज त्यस्तो चेतनासँग गाँसिएको हुन्छ, जुन परिवर्तन हुँदैन ।
त्यसैले यदि तपाइँलाई कोही पुरानो प्रियजनले भेट हुँदा ‘तिमी पहिले जस्तो रहेनौं’ भनेर भन्यो भने तपाइँले मुस्कुराएर जवाफ दिन सक्नुहुन्छ, शरीर फेरिएको हो, प्रेम उही छ ।
(एजेन्सी)
प्रतिक्रिया 4