+
+
Shares

प्रविधिमार्फत सरकारलाई खबरदारी गर्न डिजिटल प्रतिपक्ष

बलियो सरकार बनेसँगै बलियो प्रतिपक्षीको आवश्यकता महसुस गर्दै युवाहरूले डिजिटल प्रतिपक्ष बनाएर सरकारको खबरदारी गर्ने ट्रेन्ड बढाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवाहरूले रास्वपा नेतृत्वको सरकारका १०० दिने प्रतिबद्धता ट्र्याक गर्न डिजिटल प्रतिपक्ष सुरु गरेका छन्।
  • डिजिटल प्रतिपक्षले सरकारको १०० वटा कार्यसूचीलाई तथ्य र प्रमाणका आधारमा ट्र्याक गर्नेछ।
  • डिजिटल प्रतिपक्षले सांसदहरूको हाजिरी, विधेयक ट्र्याकिङ र नागरिक सहभागितामा जोड दिएको छ।

२६ चैत, काठमाडौं । ‘गभर्मेन्ट हन्ड्रेड प्रमिसेस इन हन्ड्रेड डेज् !’

रास्वपा नेतृत्वको सरकारका हरेक प्रतिबद्धता ट्र्याक गर्ने उद्देश्यसहित युवाहरूले डिजिटल प्रतिपक्ष बनाएर खबरदारी गर्न थालेका छन् ।

‘हामीले देश परिवर्तन हुने आशासहित मत हाल्यौँ । तर कुनै पनि लोकतन्त्र मतपेटिका गएर टुंगिदैन । यसबाट झन् खबरदारी र प्रश्न सुरु हुन्छ । सरकारले १०० दिने वाचा गरेको छ, अब यसलाई प्रतिपक्षको रूपमा हेर्न र खबरदारी गर्न हामीले डिजिटल प्रतिपक्ष ल्याएका हौं,’ डिजिटल प्रतिपक्षको पृष्ठभूमिमा भनिएको छ ।

योसँगै टाइमलाइन देखाइएको छ, जसमा दिन/घण्टा/मिनेट/सेकेन्ड गरेर सरकारले आफैं तोकेको समयसीमाको काउन्टडाउन गरिएको छ । यसरी डिजिटल प्रतिपक्ष नामक वेबसाइट खोल्नासाथ देखाइएको यो सन्देश ‘स्किप’ गरेपछि विस्तृतमा सबै कुरा हेर्न सकिन्छ ।

यसरी डिजिटल प्रविधिको प्रयोग गरेर सरकारलाई खबरदारी गर्न चाहेका युवाहरूले आफ्नो पहिचान भने खोल्न चाहेनन् । उनीहरू नेपथ्यमै रहेर सरकारमाथि तथ्यगत प्रश्न गर्न चाहन्छन् । प्रविधिको तागतको अगाडि कुनै व्यक्ति अगाडि आएर प्रचारबाजी गर्न आवश्यक नरहेको ती युवाहरूको बुझाइ छ ।

‘हामीले सकेको खबरदारी गर्नेछौँ । यसको लागि हामी कोही नेता बन्न अगाडि आउनु छैन । बरु निष्पक्ष र पूर्वाग्रहबाट बाहिर आएर सरकारलाई प्रश्न र खबरदारी गर्छौं,’ यसका सञ्चालकमध्ये एक युवाले भने, ‘संसदीय अंकगणितमा प्रतिपक्ष कमजोर देखिए पनि बाहिर रहेका हामीले सचेततापूर्वक खबरदारी गरिरहन्छौँ । हरेक गतिविधि र सरकारकै वाचाहरूलाई ट्र्याक गर्छौं ।’

संसद् भित्रको प्रतिपक्ष संख्यामा कमजोर भए पनि प्रविधिको माध्यमबाट आम जनताको आवाजलाई शक्तिशाली बनाउन यो केन्द्रित हुने उनीहरूको भनाइ छ ।

यी युवाका अनुसार, वर्तमान राजनीतिक परिदृश्यमा सत्तापक्षको गणितीय उपस्थिति यति विशाल छ कि, संसद् भित्र प्रतिपक्षी दलहरूको भूमिका खुम्चिने र सरकारमाथि उठ्ने प्रश्नहरू कमजोर हुने जोखिम बढ्दो छ । यही रिक्ततालाई पूर्ति गर्न र लोकतन्त्रमा नागरिकको ‘वाचडग’को भूमिकालाई प्रभावकारी बनाउन ‘डिजिटल प्रतिपक्ष’ सुरु गरिएको हो ।

संसद् भित्रको प्रतिपक्ष संख्यामा कमजोर भए पनि प्रविधिको माध्यमबाट आम जनताको आवाजलाई शक्तिशाली बनाउन यो केन्द्रित हुने उनीहरूको भनाइ छ ।

तत्कालको लागि डिजिटल प्रतिपक्षको सबैभन्दा बलियो पक्ष यसको ‘१०० बाचा ट्र्याकर’ हो । सरकारमा सहभागी दलहरूले सत्ता सम्हाल्दा गरेका वाचा र प्रतिबद्धताहरू केवल कागजमा सीमित या काम भइरहेका छन् भन्ने कुरा यसले तथ्य र प्रमाणका आधारमा सार्वजनिक गर्छ । यसमा सरकारले हालै सार्वजनिक गरेको १०० वटा कार्यसूचीलाई ट्र्याक गर्नेछ । सरकारको कार्यसम्पादनको वस्तुनिष्ठ मूल्याङ्कन गर्छ ।

डिजिटल प्रतिपक्षमा हरेक सांसदहरूको विवरण राख्नेछ । नागरिकले आफ्ना प्रतिनिधिले संसद्मा कस्तो भूमिका खेलिरहेका छन्, उनीहरूको हाजिरी कस्तो छ र संसद्मा कति पटक जनसरोकारका विषय उठाए भन्ने कुरा सजिलै हेर्न सक्छन् । यो हेर्न भने यसमा आईडी बनाएर लगइन गर्नुपर्छ ।

त्यस्तै, ‘विधेयक ट्र्याकर’ मार्फत संसद्मा पेस भएका विधेयकहरूको मस्यौदादेखि निर्णय प्रक्रियासम्मको चक्रलाई हेरिने छ । यसले गर्दा नीतिगत भ्रष्टाचार हुने सम्भावनालाई न्यूनीकरण गर्न र नागरिकको हित विपरीतका कानुन बन्न नदिन डिजिटल स्पेसबाटै खबरदारी गर्ने तयारी यसका सञ्चालक समूहको छ ।

डिजिटल प्रतिपक्षमाझै यसमा पनि सरकारले आफूले तोकेको काम गर्न कति समय बाँकी छ भनेर काउन्टडाउन गरिएको छ ।

यसमा नागरिकले हेर्ने मात्र होइन, आफूलाई समेत सहभागी गराएर खबरदारी गर्न सक्छन् । ‘नागरिक जनमत’ मार्फत शासन प्रक्रियामा प्रत्यक्ष सहभागी हुनेछन् । कारण, राष्ट्रिय महत्त्वका मुद्दाहरूमा जनताको राय संकलन आवश्यक हुन्छ । त्यसैले सबैका कुरा समेटेर सरकार र संसद्सम्म पुर्‍याउने काम यसले गर्ने उनीहरूको दाबी छ ।

त्यस्तै, अर्को प्लेटफर्म छ– प्रतिपक्षडटकम । यस प्लेटफर्मको उद्देश्य पनि सरकारका वाचाहरू ट्र्याक गरेर काम भए–नभएको देखाउने देखिन्छ । ‘जनताको आवाज, सत्ताको जवाफ’ नारा यसले दिएको छ, जसले डिजिटल निगरानी गरेर सरकारको खबरदारी गर्ने उद्देश्य राखेको छ ।

डिजिटल प्रतिपक्षमाझै यसमा पनि सरकारले आफूले तोकेको काम गर्न कति समय बाँकी छ भनेर काउन्टडाउन गरिएको छ । वेबसाइटमा सरकारको प्रतिबद्धता, पूरा भएका काम, कार्यन्वयनको क्रममा रहेको, असफल भएका काम लगायतका विषयवस्तु समेटिएको छ । खासमा यो सरकारको ‘प्रमिस ट्र्याकर’को रूपमा देखिएको छ ।

यसरी बलियो सरकार बनेसँगै बलियो प्रतिपक्षी आवश्यक रहने भन्दै युवाहरूले डिजिटल प्रतिपक्ष बनाएर सरकारको खबरदारी गर्ने ट्रेन्ड बढाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?