+
+
Shares

हेलो सरकारमा बढ्दो उजुरी : फेसबुकदेखि लिङ्क्डइनसम्मबाट गुनासो संकलन

‘हेलो सरकार’मा नागरिकले गुनासो टिपाउने काम नौलो भने होइन । यसअघिका सरकारले पनि यसमार्फत गुनासो सुन्ने बताए पनि अहिले भने चुस्त बनाइएको देखिन्छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ चैत २६ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारको हेलो सरकारमा बुधबार मात्रै १२ सय २४ गुनासा आएका छन्, जसमा फोन कलबाट ८५९ र पोर्टलबाट २९२ उजुरी छन्।
  • हेलो सरकारमा सबैभन्दा धेरै प्रहरी प्रशासन र लेनदेन ठगीसम्बन्धी गुनासा आउने गरेको छ, साथै वैदेशिक रोजगार र विद्यालय शुल्कसम्बन्धी उजुरी पनि छन्।
  • प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालबाट आउने गुनासोलाई पनि टिप्न थालेको छ र तीन सिफ्टमा कर्मचारी खटाएर २४ घण्टा काम भइरहेको छ।

२६ चैत, काठमाडौं । सरकारसमक्ष बुधबार मात्रै सर्वसाधारणका १२ सय २४ गुनासा आए । साँझ ५ बजेसम्मको उजुरी संख्या हेर्दा यो क्रम पहिलोको तुलनामा बढ्दै गएको देखिन्छ ।

जनताको गुनासो सुन्नको लागि बनाइएको ‘हेलो सरकार’मा नागरिकले गुनासो टिपाउने काम नौलो भने होइन । यसअघिका सरकारले पनि यसमार्फत गुनासो सुन्ने बताए पनि अहिले भने चुस्त बनाइएको देखिन्छ ।

हेलो सरकारको फोन र पोर्टलमा प्राप्त हुने गुनासो हेर्दा सबैभन्दा धेरै फोन कलमार्फत आएको देखिन्छ । जस्तो, बुधबार मात्र गुनासोको लागि प्राप्त फोन कल ८५९ रहेको छ । त्यस्तै, पोर्टलमार्फत सम्बन्धित निकायमा पुर्‍याइएको गुनासोको संख्या २९२ छ । यसरी आएका गुनासोलाई सरकारले सम्बन्धित निकायमा ‘फरवाड’ गरेर समाधानको पहल गरिरहेको हेलो सरकारको टिममा कार्यरत क्रिषी थापाले बताए ।

बुधबार दिनभरको गतिविधि हेर्दा पनि पोर्टलमार्फत समाधान भएको गुनासाको संख्या ६२५ छ । त्यस्तै, फोनमार्फत व्यवस्थापन गरिएको गुनासो ६५६ रहेको छ ।

चैत २४ गते आएको गुनासो संख्या हेर्दा पनि उल्लेख्य देखिन्छ । त्यस दिन मात्र हेलो सरकारमा १८५० गुनासो प्राप्त भयो । यसमा पोर्टलमार्फत सम्बन्धित निकायमा पठाइएको गुनासोको संख्या ५४८ रहेको छ भने पोर्टलमार्फत २७९ गुनासो समाधान भएको प्रधानमन्त्री कार्यलयले जनाएको छ । सोही दिन गुनासोका लागि मात्र १३ सय ६७ फोन कल आयो । फोनमार्फत नै १ हजार ९४ गुनासो व्यवस्थापन गरियो ।

यसैगरी, चैत २३ गते हेलो सरकारको पोर्टलमा ३६० गुनासा दर्ता भए । त्यसमध्ये २७५ गुनासालाई सम्बन्धित निकायमा पठाइयो, १६४ वटा फर्स्योट गरियो ।

चैत २२ गते पनि हेलो सरकारको पोर्टलमा ३५० गुनासा दर्ता भए । त्यसमा सम्बन्धित निकायमा पठाइएको गुनासो संख्या २६२ रहेको छ भने पर्स्योट भएको गुनासो संख्या ३२ छ ।

यसरी आमनागरिकले विभिन्न माध्यमबाट गुनासो गर्ने पुरानै प्रचलन रहे पनि बालेन शाह नेतृत्वको सरकार बनेपछि भने यो ट्रेन्ड बढ्दै गएको देखिन्छ । त्यसअघिसम्म निकै कम उजुरी आउने गरे पनि अहिले भने सो संख्या उकालो लाग्दो देखिन्छ ।

जस्तो, बालेनले प्रधानमन्त्रीको शपथ खाएकै छेकोमा हेर्दा उजुरीको संख्या एकदमै कम देखिन्छ । पहिले केही सयको अंकमा आउने गुनासो अहिले देनिक हजारमाथि देखिन्छ । हेलो सरकारले आफ्नो सामाजिक सञ्जालमा राखेकै विवरणले पनि यो कुरा पुष्टि गर्छ ।

यसरी आउने गुनासोमा विभिन्न विषय उठ्ने गरेका छन् ।

अहिलेसम्म आएका उजुरीमध्ये सबैभन्दा धेरै प्रहरी प्रशासन र लेनदेन ठगीसम्बन्धी उजुरी आउने गरेका छन् ।

जस्तो– एउटा गुनासोअनुसार, बुढानीलकण्ठ विष्णु मन्दिरको मर्मत तथा विस्तारका लागि २०४४ सालमा ४८ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो । त्यसमध्ये ७ रोपनी जग्गाको मुआब्जा दिएर अधिग्रहण भइसकेको छ र मन्दिरको हाता भित्र परिसकेको छ । तर सरकारले अझै लगत कट्टा गरेर मन्दिरको नाममा पास गर्न सकेको छैन । बाँकी ४१ रोपनीमध्ये १० परिवारको करिब ४ रोपनी जग्गामा मात्र अधिग्रहण रोक्का लगाइएको छ ।

यी १० परिवारले ४० वर्षदेखि जग्गा बेचबिखन, बैंक ऋण, नक्सापास जस्ता कुनै पनि सुविधा पाएका छैनन् । तर सरकारले उनीहरूबाट मालपोत भने नियमित असुल गरिरहेको छ । बाँकी जग्गाधनीहरूले भने सबै सुविधा उपभोग गरिरहेका छन् ।

पीडित १० परिवार विभेद र अन्यायको गुनासो गर्दै सर्वोच्च अदालत गएका थिए । अदालतले प्रक्रिया टुंग्याउन प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयलाई आदेश दिएको छ ।

तर, पनि कुनै सुनुवाइ नभएपछि अहिले पीडितहरूले रोक्का फुकुवा वा उचित मुआब्जाको माग गर्दै प्रधानमन्त्रीसमक्ष हेलो सरकारमार्फत गुनासो टिपाएका हुन् । 

यस्ता गम्भीर र पीडादायी उजुरीहरू अहिले हेलो सरकारमा बढ्दै गएको थापाले दाबी गरे, जुन क्रम अझै बढ्ने सम्भावना छ । कारण– सरकारले अब फेसबुक, इन्स्टाग्राम, टिकटक, लिंक्डइन, एक्स जस्ता समाजिक सञ्जालमा मेन्सन गरेर आएका गुनासोलाई पनि टिप्न थालेको छ ।

अहिले फोन, ह्वाट्सएप, भाइबर र अनलाइन पोर्टल गरी चार वटा च्यानलबाट गुनासो आउने गरेका थिए । अब अन्य सामाजिक सञ्जालका गुनासो पनि सुनुवाइ हुन्छन् । यीमध्ये ८० प्रतिशत गुनासो सम्बन्धित मन्त्रालय वा निकायमा फर्वार्ड गरी प्रारम्भिक समाधानको प्रयास गरिन्छ ।

अहिलेसम्म आएका उजुरीमध्ये सबैभन्दा धेरै प्रहरी प्रशासन र लेनदेन ठगीसम्बन्धी उजुरी आउने गरेका छन् । त्यस्तै, वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो पनि उत्तिकै आउने गरेको छ । विद्यालयको भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्कसँग सम्बन्धित गुनासो पनि हेलो सरकारमा आएको छ ।

यसबाहेक प्राकृति स्रोतसाधन दोहन, सेवा प्रवाह, राजस्व छली/भन्सार छली, विकास निर्माण र शान्ति सुरक्षसम्बन्धी गुनासो अहिलेसम्म हेलो सरकारमा आएको थापाले जानकारी दिए ।

‘वैदेशिक रोजगारमा म्यानपावरबाट ठगिएको, प्रहरीबाट न्याय नपाएको जस्ता गुनासा प्रमुख छन् । त्यसपछि बाटो–घाटो, खानेपानी र स्थानीय पूर्वाधारका समस्या उल्लेख्य छन्,’ थापाले भने, ‘काठमाडौं उपत्यका बाहिरका ग्रामीण र पहाडी जिल्लाहरूबाट खानेपानी तथा पूर्वाधारसम्बन्धी गुनासो बढी आउने गरेको छ ।’

तर, जनताले गुनासो मात्र सुनाउँदैनन्, कतिपयले सरकारलाई सुझाव दिन पनि हेलो सरकारको प्रयोग गर्ने गरेका छन् । त्यसैले पनि यो प्रणालीलाई थप जनमुखी बनाउन सोसल मिडियाको दायरा फराकिलो पारिएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार हेलो सरकारलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जालका गुनासो पनि टिप्न थालिएको छ ।

फेसबुक कमेन्टका साथै टिकटक र इन्स्टाग्रामबाट सरकारलाई ट्याग वा मेन्सन गरेर राखिएका गुनासोलाई पनि अटोमेटिक रूपमा दर्ता गरी सम्बन्धित निकायमा पठाउने व्यवस्था सुरु भएको छ ।

यसरी जनताका गुनासा सुन्न सरकारले छुट्टै टिम बनाएको छ, जसलाई तीन सिफ्टमा चलाइएको छ । बिहान ७ देखि २ बजेसम्म, दिउँसो २ देखि ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ७ बजेसम्म गरी तीन सिफ्टमा कर्मचारी खटाइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, यसको लागि उपसचिव दुई जना, शाखा अधिकृत ६ जना, नायब सुब्बा सरहका तीन जना र कम्प्युटर अपरेटर ६ जना राखिएको छ, जसले आमनागरिकका गुनासा सुनुवाइ र समाधानमा सहजीकरण गरिरहेका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार हेलो सरकारलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जालका गुनासो पनि टिप्न थालिएको छ ।

‘हेलो सरकार टिमले फेसबुक, इन्स्टाग्राम, एक्सदेखि लिंक्डइनसम्मका गुनासो सुन्ने र त्यसको सामाधानका लागि पहल गर्ने गति अझ बढाएको छ । गुनासो आउने क्रम पनि बढिरहेका छन्, जसको सुनुवाइ र समाधानको लागि २४ घण्टा नै काम भइरहेको छ,’ बजगाईंले भने ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?