२८ चैत, बार्सिलोना । स्पेनको इतिहासमै पहिलोपटक आयोजना गरिएको पाँच दिने आध्यात्मिक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।अप्रिल ५ देखि ९ तारिखसम्म बार्सिलोनामा सम्पन्न महोत्सवमा स्पेनका विभिन्न शहरबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको आयोजनामा सम्पन्न महोत्सव ‘नेपाल घर’ निर्माणको दीर्घकालीन लक्ष्यसहित आयोजना गरिएको थियो।कार्यक्रममार्फत ३ लाख युरोभन्दा बढी आर्थिक सहयोग संकलन भएको आयोजकले जनाएको छ ।
एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार हालसम्म बैंक र नगदमार्फत झन्डै एक लाख युरो संकलन भइसकेको छ भने बाँकी २ लाख युरोभन्दा बढी रकम प्रतिबद्धताका रूपमा रहेको छ। ‘स्पेनमा ‘नेपाल घर’ निर्माण अत्यन्त आवश्यक परियोजना हो। यहाँका नेपालीहरूले गरेको प्रतिबद्धता पूरा गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु,’ उनले अनलाइनखबरसँग भने ।
महोत्सव अवधिभर हजारौं भक्तजनको सहभागिता रहेको थियो।व्यस्त प्रवासी जीवनबीच आध्यात्मिक ऊर्जा र सांस्कृतिक एकताको सन्देश फैलाउन कार्यक्रम सफल भएको आयोजकको भनाइ छ ।
वाचन पण्डित दीनबन्धु पोखरेलले प्रवासमा आयोजित कार्यक्रमहरूमध्ये स्पेनको महोत्सव ऐतिहासिक, अद्वितीय तथा अत्यन्त उत्साहपूर्ण रहेको बताए । उनका अनुसार यो महायज्ञ सबै आयामबाट अपेक्षाभन्दा धेरै सफलतासहित सम्पन्न भएको हो। ‘यूरोपकै इतिहासमा सबैभन्दा सफलमध्ये एक महायज्ञका रूपमा यसलाई लिन सकिन्छ। हजारौं भक्तजनको उपस्थिति र उनीहरूमा देखिएको श्रद्धा तथा ऊर्जा अविस्मरणीय रह्यो,’ उनले भने।
उनले ‘नेपाल घर’ निर्माणको उद्देश्यले आयोजना गरिएको यस महानुष्ठानबाट ३ लाख युरोभन्दा बढी सहयोग संकलन हुनु प्रवासी नेपालीहरूको एकता र प्रतिबद्धताको उदाहरण भएको उल्लेख गरे। साथै, उनले आयोजक एनआरएनए स्पेन, विभिन्न संघ-संस्था, स्पेनवासी नेपाली समुदाय तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने सबैलाई बधाई तथा शुभकामना दिए।
आध्यात्मिक महोत्सवमा स्पेनको मायोर्का निवासी व्यवसायी बालकृष्ण तिवारीले १५ हजार ५५५ युरो सहयोग प्रतिबद्धता जनाउँदै सबैभन्दा ठूलो रकम घोषणा गरेका छन् ।

प्रतिक्रिया 4