News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम एसियामा देखिएको तनावले बिटुमिन अभाव भएर काँकडभिट्टा–लौकही सडक निर्माण सुस्ताएको छ।
- नेपाल आयल निगमले डिजेलमा लगाएको कोटा प्रणालीले आयोजनामा पर्याप्त डिजेल उपलब्ध नगराएको छ।
- काँकडभिट्टा–लौकही सडक पूर्वीखण्ड ४५ किलोमिटर लम्बाइको १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको छ।
२८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ अभावले निर्माणाधीन काँकडभिट्टा–लौकही सडक निर्माण सुस्ताएको छ ।
पश्चिम एसियामा देखिएको तनावले पर्याप्त सडक कालोपत्र गर्न आवश्यक बिटुमिन अभाव भएको निर्माण कम्पनी इभ्रास्कन कालिका जे.भी.का प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंले बताए ।
काँकडभिट्टा लौकही सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जे.भी.ले स्तोन्नतिको काम गरिरहेको छ । सडक कालोपत्र गर्ने मुख्य सिजनमा कम्पनीले स्टकमा राखेको बिटुमिनले १०–१५ दिन पुग्ने कम्पनीका प्रोजेक्ट म्यानेजर प्रसाईं बताउँछन् ।
वर्षाअघि पहिलो लेयरको कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्यायर तयार पारिएको कम्पनीका प्रतिनिधि प्रसाईंले बताए । बेस बिछ्याइएको क्षेत्रमा कालोपत्रे गर्न आवश्यक बिटुमिन महङ्गो मूल्यमा खरिद गरिएको भएपनि पर्याप्त नरहेको प्रसाईंले जानकारी दिए ।
नेपाल आयाल निगमले डिजेलमा लगाएको कोटा प्रणालीले आयोजनामा पर्याप्त डिजेल उपलब्ध नगराउँदा काम रोकिने अवस्थामा पुगेको प्रसाईंले गुनासो गरे । निर्माण कम्पनीसँग स्टकमा रहेको बिटुमिनले मात्रै कालोपत्रे गर्ने अवस्था रहेको काँकडभिट्टा लौकही सडक योजना पूर्वीखण्डका योजना प्रमुख सीडीई सुनिलबाबु पन्तले बताए ।
पश्चिम एसियामा देखिएको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेर काम गर्न नसक्ने अवस्थाको जानकारी निर्माण पक्षले आयोजनालाई गराएको पन्तले बताए । निर्माण व्यवसायीले बिटुमीन आयात गर्न खोलेको एलसी समेत फिर्ता भएको जानकारी आयोजनालाई गराएको उनले बताए ।
पश्चि एसिया तनाव नरोकिए यो सडक योजनाको काम हप्ता दश दिनमै रोकिने अवस्था रहेको आयोजना प्रमुख पन्त बताउँछन् । पूर्वीखण्ड अन्तर्गत काँकडभिट्टा सीतापुरीसम्म ४५ किलोमिटर लम्बाइ रहेको यो सडक १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको छ ।
प्रतिक्रिया 4