काठमाडौं । वैज्ञानिकहरूले केही कोभिड-१९ विरुद्धका खोपहरू लगाएपछि विरलै देखिने ‘रगत जम्ने’ (ब्लड क्लट्स ) समस्याको मुख्य कारण पत्ता लगाएका छन् ।
‘फ्लिन्डर्स युनिभर्सिटी’ र जर्मनीको ‘ग्रिफ्सवाल्ड युनिभर्सिटी’ का शोधकर्ताहरू सम्मिलित एक अन्तर्राष्ट्रिय टोलीले वर्षौँदेखि रहस्य बनेको यो समस्याको आणविक जड फेला पारेका हुन्।
यो सफलतासँगै अब भविष्यमा अझ सुरक्षित खोपहरू विकास गर्ने बाटो खुलेको छ।
प्रतिरोधात्मक प्रणालीको ‘झुक्क्याउने’ खेल
अध्ययनका अनुसार मानव शरीरको प्रतिरोधात्मक प्रणालीले एडेनोभाइरसमा आधारित खोप वा प्राकृतिक संक्रमणपछि एउटा गम्भीर गल्ती गर्ने गरेको पाइएको छ।
शरीरले भाइरसको प्रोटिन र रगतमा हुने ‘प्लेटलेट फ्याक्टर ४’ नामक प्रोटिनबीचको भिन्नता छुट्याउन नसक्दा यो समस्या निम्तिने गरेको हो।
खोप लगाएपछि शरीरले भाइरसमाथि आक्रमण गर्नुपर्नेमा झुक्किएर आफ्नै रगतको प्रोटिन विरुद्ध एन्टिबडीहरू बनाउन थाल्छ। यसले रगतमा ढिक्का जमाउने प्रक्रिया (क्लटिङ) सुरु गरिदिन्छ।
यो प्रतिक्रिया अत्यन्तै दुर्लभ भए तापनि यसअघि ‘एस्ट्राजेनेका’ जस्ता खोप लगाएका केही व्यक्तिहरूमा देखिएको थियो, जसलाई चिकित्सकीय भाषामा भीआईटिटी भनिन्छ ।
आणविक जासुसी (मोलिक्युलर स्लुथिङ) बाट सफलता
फ्लिन्डर्स युनिभर्सिटीकी अनुसन्धानकर्ता डा. जिङ जिङ वाङका अनुसार, टोलीले ‘मास स्पेक्ट्रोमेट्री सिक्वेन्सिङ’ जस्तो आधुनिक प्रविधि प्रयोग गरेर भाइरसको प्रोटिन र रगतको प्रोटिनबीचको समानता फेला पारेका हुन्।
उनले यसलाई ‘मिसिङ लिंक’ को संज्ञा दिएकी छन्। यो खोजले सामान्य प्रतिरोधात्मक प्रतिक्रिया कसरी दुर्लभ अवस्थामा हानिकारक बन्न पुग्छ भन्ने कुराको वैज्ञानिक व्याख्या गरेको छ।
अनुसन्धान टोलीका प्रमुख प्रोफेसर टम गोर्डनले यो खोजलाई ‘विश्वव्यापी सहकार्यको उत्कृष्ट नतिजा’ भनेका छन्। उनले यसअघि सन् २०२२ र २०२४ मा भएका अध्ययनहरूको जगमा उभिएर यो अन्तिम रहस्य सुल्झाउन सफल भएको बताएका छन्।
भविष्यका खोपहरू अब झन् सुरक्षित हुने
यो खोजको सबैभन्दा सकारात्मक पक्ष भनेको अब खोप उत्पादकहरूले एडेनोभाइरस प्रोटिनको संरचनामा सामान्य परिवर्तन गरेर यो जोखिमलाई पूर्ण रूपमा हटाउन सक्नेछन्। भाइरसको ‘pVII’ प्रोटिनलाई परिमार्जन गर्दा खोपको प्रभावकारितामा कुनै असर नपर्ने तर रगत जम्ने जोखिम भने अन्त्य हुने वैज्ञानिकहरूको दाबी छ।
मेलबर्न विश्वविद्यालयका प्रोफेसर जेम्स म्याक्लुस्कीले यसलाई विज्ञानको ठूलो उपलब्धि भन्दै खोपप्रतिको विश्वास जगाउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
यो खोजपछि विशेष गरी विकासोन्मुख देशहरू जहाँ एडेनोभाइरस आधारित खोपको प्रयोग बढी छ, त्यहाँ सुरक्षित खोप वितरणमा ठूलो मद्दत पुग्ने देखिएको छ ।
प्रतिक्रिया 4