+
+
Shares

इरानलाई अन्तिम र उत्कृष्ट अफर दिएका छौं : जेडी भान्स

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १०:३४

२९ चैत, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताका क्रममा आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

उनले इरानसँगको वार्तामा ट्रम्प पनि अप्रत्यक्ष रूपमा वार्तामा संलग्न रहेको संकेत गरे । इरानसँगको वार्तामा ट्रम्प पनि संलग्न रहेको र यस क्रममा उनले ट्रम्पसँग आधा दर्जनदेखि एक दर्जन पटकसम्म कुराकानी गरेको बताए ।

भान्सले अमेरिकाले एकदमै सहज प्रस्ताव दिएको र यही नै अन्तिम र उत्कृष्ट अफर रहेको जिकिर पनि गरे । उनले भने, ‘हामी हेर्नेछौं कि इरानीहरूले यसलाई स्वीकार गर्छन् या गर्दैनन्।’

इरानसँगको वार्तापछि एक पत्रकार सम्मेलनमा दुवै देश सम्झौताको अवस्थासम्म पुग्न नसकेको उल्लेख गर्दै उनी इस्लामावादबाट बाहिरिइसकेका छन् ।

वार्ताको हतारो छैन : इरान

इरानी समाचार एजेन्सी तस्निमले एक जानकार स्रोतलाई उद्धृत गर्दै ‘बल अमेरिकाको कोर्टमा’ रहेको र ‘वार्ताका लागि इरानलाई कुनै हतार नभएको’ जनाएको छ।

‘इरानले वार्तामा उचित पहल र प्रस्तावहरू पेस गर्‍यो। अब मुद्दाहरूलाई यथार्थपरक रूपमा हेर्ने बल अमेरिकाको कोर्टमा छ,’ स्रोतलाई उद्धृत गर्दै अलजजिराले भनेको छ ।

स्रोतले अमेरिकालाई युद्धमा जस्तै वार्तामा पनि गलत आकलन गरेको आरोप लगाउँदै ‘अमेरिका कुनै उचित सम्झौतामा सहमत नभएसम्म’ होर्मुज स्ट्रेटमा केही पनि परिवर्तन नहुने चेतावनी दिएको छ। स्रोतको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ, ‘इरानलाई कुनै हतार छैन ।’

सम्भावित अर्को चरणको वार्ताका लागि कुनै मिति वा स्थान तय गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?