+
+
Shares

वर्ष २०८२ : राजनीतिक उथलपुथलले साहित्यमा सन्नाटा

केही पुराना समस्याहरू भने यस वर्ष पनि सल्टिन सकेनन् । जस्तो, साझा प्रकाशनको हबिगत यस पटक पनि सुध्रिन सकेन ।

सापेक्ष सापेक्ष
२०८२ चैत ३० गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ मा राजनीतिक घटनाक्रमका कारण साहित्यिक गतिविधि केही खस्किएको भए पनि पुस्तक प्रकाशन र नवलेखकको प्रवेश निरन्तर रह्यो।

२०८२ को मैझारोमा फर्किएर हेर्दा यो वर्ष साहित्य क्षेत्र औसत नै देखियो ।

विशेषत: ठूला राजनीतिक घटनाक्रम भइदिँदा साहित्यिक गतिविधिहरू ओझेलमा परे । यद्यपि केही हिसाबले साहित्यिक क्षेत्र जीवन्त र गतिशील पनि देखियो । नेपाल प्रज्ञाप्रतिष्ठानदेखि साहित्य सम्बन्धी स्थानीय संस्थाहरूसम्म, काठमाडौंदेखि विदेशका नेपाली बस्तीसम्म रचना वाचन, पुरस्कार विमोचन, महोत्सव भए ।

यद्यपि सम्बन्धित क्षेत्रका व्यक्तिहरू विगतका वर्षहरूभन्दा साहित्यिक गतिविधि तथा बजार केही खस्केको बताउँछन् । उनीहरू यसको प्रमुख कारण स्वदेश र विदेशमा विकसित राजनीतिक गतिविधिलाई मान्छन् । यद्यपि यस्तोमा पनि पुस्तक प्रकाशन निरन्तर हुनु, फरक-फरक विषयमा लेखिनु, नयाँ लेखकहरू आउनुलाई उनीहरू उपलब्धि मान्छन् ।

पुस्तक प्रकाशन गृह बुकहिल पब्लिकेशनका अध्यक्ष भुपेन्द्र खड्का जेनजी आन्दोलन र निर्वाचनले गर्दा पाठक र बजार लामो समय मौन भएको बताउँछन् । यसले प्रत्यक्ष रूपमा साहित्यिक बजारमा असर परेको खड्काको अनुभव छ ।यद्यपि अहिले अवस्था विस्तारैमा लयमा फर्कन थालेको उनले सुनाए ।

यो वर्ष आधा दर्जन नवलेखकहरूलाई स्थान दिएको बुकहिलले प्रकाशन गरेका मध्ये केही किताबहरूले राम्रै गरेको सञ्चालक खड्का बताउँछन् । विधागत आधारमा हेर्दा यो वर्ष लामो कथासंग्रह प्रकाशन गरेको उनले जानकारी दिए । जुन विधा नेपाली साहित्यका लागि नौलो भएको उनको दाबी छ । आगामी दिनमा पनि यो विधालाई निरन्तरता दिने खड्काले बताए ।

यस वर्ष दुई दर्जन जति पुस्तक प्रकाशन गरेका उनले अङ्ग्रेजी पुस्तकको नेपाली अनुवाद विधा पनि राम्रो भएको बताए । यो वर्ष बुकहिलले पोखरामा बुकहिल बुकान्जा नामक एउटा कार्यक्रम पनि गरेको थियो ।

000

त्यस्तै अर्को प्रकाशन गृह फाइन प्रिन्टले यस वर्ष ‘फाइनप्रिन्ट फिभर- घुम्ती साहित्य उत्सव’ भनेर देश दौडाह गर्यो । देशका प्रमुख शहरहरूमा यसले लेखक/साहित्यकारहरूसँग विभिन्न विषयमा विमर्श गर्दै साहित्यिक गतिविधि गरेको थियो । यस वर्षको मदन पुरस्कार यसै गृहले निकालेको छुदेन काविमोको ‘उरमाल’ले पाएको थियो ।

यसैगरी पब्लिकेशन नेपालयले नयाँ युवा लेखकहरूलाई ठाउँ दिने गरी २५ वर्षमुनिका ७५ लेखक छान्यो । हुन त उसले गत वर्ष नै घोषणा गरेको कार्यक्रम हो, यो । नेपालयले आफ्नो प्रकाशन यात्रा २० वर्ष पुगेको उपलक्ष्यमा गत पुषमा ७५ जना नयाँ लेखकका (कथा, कविता, निबन्ध)को नाम सार्वजनिक गरेको थियो । यद्यपि यसै वर्ष पुस्तक विमोचन गर्न भने नेपालय असमर्थ रह्यो ।

त्यस्तै लेखक सुविन भट्टराईको वर्ष समीक्षा पनि मिश्रित छ । उनले पनि जेनजी आन्दोलन तथा पश्चिममा भएको युद्धका कारण नेपालको साहित्यमा प्रत्यक्ष-अप्रत्यक्ष असर पुगेको सुनाए । मान्छेले तत्कालीन विकसित हुने घटनामा बढी चासो दिने हुनाले पुस्तक चर्चा कम हुन गएको उनको अनुभव छ ।

यद्यपि साहित्यिक गतिविधि निरन्तर हुनु, नवलेखक प्रवेश गर्नु, फरक-फरक विषयवस्तुमाथि लेखिनुलाई नै उनी यो वर्षको साहित्यिक उपलब्धि मान्छन् । र, यसलाई सकारात्मक रूपमा हेर्नु पर्ने उनको भनाइ छ ।

उनी स्वयंले यस वर्ष कथा संग्रह ‘चमेलीको फूल बैजनी रूमाल’ ल्याएका थिए । व्यक्तिगत रूपमा यो पुस्तकबाट विगतका तुलनामा देशभर पाठकहरूसँग भेट्न पाएको उनको अनुभव छ ।

यसबाहेक २०८२ मा सदा जस्तै नियमित नै देखिएको थियो । आफ्नो पुस्तक ‘मदर म्यारी कम्स टू मी’को प्रवर्धनका लागि अरुन्धती रोय नेपाल आएकी थिइन् । लेखक कुमार नगरकोटी पहिलो पटक कविता कन्सर्ट गर्दै मञ्चमा उक्लिएका थिए । नवीन प्यासीका कविताहरूलाई गीत बनाएर रिदम कँडेल मञ्चमा उक्लिएका थिए ।

 

त्यस्तै केही चर्चित लेखकहरूले भने यस वर्ष विधा परिवर्तन पनि गरे । हालै मात्र कवि/गीतकार श्रवण मुकारूङ ‘सलह’ नामक उपन्यास लिएर आए । कवि/गीतकार डा. नवराज लम्साल ‘डाँफेको रङ’ उपन्यास लिएर आए । पुराना सहित्यिक पुस्तकहरू नयाँ कलेवरमा प्रकाशन गर्ने काम पनि भए । लेखक तथा अनुवादक गनेस पौडेल प्रतिनिधिसभा सदस्यमा चुनिए । कास्की २ बाट निर्वाचित भएका उनको पैताला उपन्यास र मुसा मानुष नामक कृति अनुदित छ ।

यद्यपि केही पुराना समस्याहरू भने यस वर्ष पनि सल्टन सकेनन् । जस्तो, साझा प्रकाशनको हबिगत यस पटक पनि सुध्रिन सकेन । नेपाली भाषा/साहित्यको विकास गर्न बनेको नेपाल प्रज्ञाप्रतिष्ठानले नियमित कामहरू गर्नेबाहेक कुनै नवीन काम गरेन ।

सारांशमा, अब स्वदेशमा ठूलो राजनीतिक सङ्कटपश्चात राजनीतिक स्थिरता प्राप्त भएका हुनाले साहित्यिक व्यक्तिहरू आउँदो वर्ष यो क्षेत्र केही चलायमान हुने विश्वास व्यक्त गर्छन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?