News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर सवारी धनीलाई हस्तान्तरण गरिएको छ।
- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत साउन यता ३९४ वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको छ।
- चोरीमा संलग्न ३६ जना नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरी परिसरमा पठाइएको छ।
३० चैत, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर सवारी धनीलाई हस्तान्तरण गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३३ वटा मोटरसाइकल र १७ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित भीमढुङ्गा, स्वयम्भू, नेपालटार, चमती, कपन, थली, बौद्ध, साँखु, नयाँबस्ती, गोकर्ण, माछापोखरी, महाराजगंज, सुकेधारा, पुल्चोक, साङ्ला, फस्कु, चापागाँउ, गठ्ठाघर, एयरपोर्ट, कमलबिनायक, मालिगाउँ, काँडाघारी, जनसेवा, जम्बुडाँडा, मण्डिकाटार र चुनदेवी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका ५० वटासहित ३९४ वटा सवारी साधन गत साउन यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ ।
चोरीका २२ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३६ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै जीपीएस जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
प्रतिक्रिया 4