३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुस्बु ओलीले आफू विरुद्ध सामाजिक सञ्जालमा दुष्प्रचार भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आफूले उजुरी दर्ता गराएको जानकारी दिएकी छन् ।
‘म विरुद्ध सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा फैलाइएको दुष्प्रचार, भ्रामक सूचना तथा मेरो चरित्रहत्या गर्ने उद्देश्यले गरिएको गतिविधिविरुद्ध आज मैले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएको छु,’ सांसद ओलीले लेखेकी छन्, ‘उक्त उजुरीमा केही व्यक्तिका फेसबुक पेज, टिकटक पेज तथा युट्युब च्यानलहरूले योजनाबद्ध ढंगले आधारहीन, भ्रामक तथा मेरो व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति पुर्याउने उद्देश्यले सामग्री प्रसारण गरेको मेरो ठहर छ ।’
यस विषयमा आफूले प्रारम्भिक चरणमै केही सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो गतिविधि रोक्न स्पष्ट भनेको उनले दाबी गरेकी छन् । ‘तर, उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिई निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भई आज साइबर ब्यूरोमा कानुनी प्रक्रिया अघि बढाएको हुँ,’ उनले भनेकी छन् ।
यस्ता गतिविधि सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने उनको दाबी छ । उनले अगाडि लेखेकी छन्, ‘बरु योजनाबद्ध रूपमा गलत सूचना फैलाउने तथा मेरो व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने उद्देश्यले गरिएको संगठित प्रयास भएको मेरो ठहर छ ।’
साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको प्रक्रियाअनुसार आवश्यक सबै कदम निरन्तर रूपमा अघि बढाउने उनले बताएकी छन् ।
‘अहिलेको समयमा घृणा नै नयाँ मुद्राजस्तो बनाइएको छ, जसले जति धेरै घृणा बेच्न सक्छ, उसले त्यति नै फाइदा उठाइरहेको छ,’ उनले भनेकी छन्, ‘तर याद राख्नुहोस्, कसैको जीवनमा क्षति पुग्ने गरी घृणा फैलाएर त्यसैबाट लाभ कमाउने प्रवृत्ति केवल अनैतिक मात्र होइन, अत्यन्तै पतित र अस्वीकार्य सोचको परिचायक हो ।’ यस्तो मानसिकता समाजका लागि खतरा रहेको बताउँदै उनले यसलाई कुनै हालतमा सामान्यीकरण गर्न नमिल्ने उनले बताएकी छन् ।
प्रतिक्रिया 4