News Summary
Generated by OK AI. Editorially reviewed.- कोठा ताजा बनाउन बिहान वा साँझ कम्तीमा १०–१५ मिनेट झ्याल र ढोका खोल्नुपर्छ जसले गुम्सिएको हावा बाहिर निस्कन्छ।
- घरमै प्राकृतिक रूम फ्रेशनर बनाउन आधा कप पानीमा आधा कप सेतो भिनेगर र १०–१५ थोपा एसेंशियल आयल मिसाएर स्प्रे गर्न सकिन्छ।
- बेडशीट साप्ताहिक धुने र एसेंशियल आयल स्प्रे गर्दा पसिना र मृत छाला कोषबाट आउने दुर्गन्ध रोकिन्छ।
दिनभरको दौडधुप, कामको थकान र बाहिरी प्रदूषणपछि जब हामी आफ्नो बेडरूममा पुग्छौ, तब मनले चाहन्छ– कोठा शान्त, ताजा र सुगन्धित होस् । तर कहिलेकाहीँ बन्द हावा, पसिनाको गन्ध, लुगाको दुर्गन्ध वा ओसिलो कोठा हुँदा असजिलो महसुस हुन्छ ।
यस्तो समस्या समाधान गर्न घण्टौं मेहनत गर्नुपर्दैन । केवल १०–१५ मिनेटमै बेडरूमलाई ताजा, सुगन्धित र आरामदायक बनाउन सकिन्छ । यी उपाय प्राकृतिक छन्, सस्ता छन् र नियमित प्रयोग गर्दा लामो समयसम्म प्रभावकारी रहन्छन् ।
१. सबैभन्दा पहिले झ्याल र ढोका खोल्ने
कोठाको ताजगीको सुरुवात राम्रो हावा आवतजावतबाट नै हुन्छ । बिहान वा साँझको समयमा कम्तीमा १०–१५ मिनेटका लागि सबै झ्याल र ढोका खोलिदिनुपर्छ । यसले भित्र गुम्सिएको हावा बाहिर निस्कन्छ, ताजा अक्सिजन भित्र आउँछ । कोठामा जम्मा भएको ओस तथा दुर्गन्ध हट्छ ।
यदि बाहिर प्रदूषण कम छ भने क्रस–भेन्टिलेसन अगाडि र पछाडिको झ्याल एकैचोटि खोल्ने गर्नुपर्छ । नियमित रूपमा यो गर्नाले कोठामा हावा शुद्ध रहन्छ र ब्याक्टेरिया कम हुन्छ । वर्षाको समयमा भने छोटो समय मात्र खोल्ने र पर्दा प्रयोग गर्नुपर्छ ।
२. बेडशीट र तकियालाई मिलाउने
बेडरूमको सुगन्धमा सबैभन्दा ठूलो प्रभाव ओछ्यानमाथि नै पर्छ किनकि हामी रातभरि त्यहीँ सुत्छौं । समय कम छ भने बेडशीटलाई राम्रोसँग झार्ने, तकियाहरूलाई फुकेर मिलाउने र धुलो हटाउने गर्नुपर्छ । यदि समय छ भने हल्का फैब्रिक फ्रेशनर स्प्रे गर्नुपर्छ वा २–३ थोपा एसेंशियल आयल लेभेन्डर वा लेमन पानीमा मिसाएर स्प्रे गर्नुपर्छ । साप्ताहिक रूपमा बेडशीट धुने । यसले पसिना र मृत छाला कोषबाट आउने दुर्गन्ध रोक्छ ।
३. घरमै रूम फ्रेशनर बनाउने
बजारका रसायनयुक्त स्प्रे नभई घरमै सजिलै प्राकृतिक फ्रेशनर बनाउन सकिन्छ । एउटा स्प्रे बोतलमा आधा कप पानी भर्ने त्यसमा आधा कप सेतो भिनेगर वा कागतीको रस, र १०–१५ थोपा मनपर्ने एसेंशियल आयल लेभेन्डर, लेमन वा रोज हाल्ने । राम्रोसँग हल्लाएर पूरै कोठामा स्प्रे गर्ने । यसले तुरुन्तै ताजा बास्ना दिन्छ र हानिकारक रसायन हुँदैन ।
४. पर्दा र कार्पेटलाई हल्का सफा गर्ने
पर्दा, कार्पेट र सोफाले धुलो, नमी र गन्ध छिट्टै सोस्छन् । समय कम छ भने तिनलाई राम्रोसँग झट्काउने वा हल्का भ्याकुम क्लिनरले सफा गर्नुपर्छ।
कार्पेटमा बेकिङ सोडा छरेर १५–२० मिनेट वा रातभरि छोड्ने र पछि भ्याकुम गर्ने । पर्दालाई भिनेगरको पानीले स्प्रे गरेर सफा गर्न सकिन्छ । यो विधिले दुर्गन्ध हटाउँछ र कोठाको हावा हल्का बनाउँछ । नियमित सफाइले एलर्जी र धुलोका कण पनि कम हुन्छन् ।
५. मैनबत्ती वा अगरबत्ती प्रयोग गर्ने
सुगन्धित मैनबत्ती वा अगरबत्तीले केही मिनेटमै माहोल बदलिदिन्छ । लेभेन्डर, भ्यानिला वा चन्दन जस्ता मैनबत्ती र अगरबत्तीको सुगन्धले राम्रो सुगन्ध मात्र दिँदैन, दिमागलाई पनि आराम दिन्छ ।
मैनबत्ती र अगरबत्ती बाल्दा आगोको जोखिम भएकाले सुत्नुअघि निभाउन बिर्सनु हुँदैन । वैकल्पिक रूपमा इलेक्ट्रिक डिफ्यूजर वा रिड डिफ्यूजर प्रयोग गर्न सकिन्छ । एसेंशियल आयलको मिश्रण लेभेन्डर र स्यान्डलवुडले निद्रा राम्रो बनाउँछ र कोठालाई प्राकृतिक सुगन्ध दिन्छ ।
६. साना–साना सजावट मिलाउने
सुगन्ध मात्र होइन, दृश्यात्मक ताजगीले पनि कोठालाई आकर्षक बनाउँछ । ओछ्यानमा कुशनहरूलाई राम्रोसँग मिलाएर राख्ने, सानो फूलदानमा ताजा फूल गुलाब वा लेभेन्डर राख्ने वा बेडसाइड टेबल व्यवस्थित गर्ने । इनडोर प्लान्ट जस्तै स्नेक प्लान्ट वा पीस लिली राख्ने । यिनले हावा शुद्ध गर्छन् र प्राकृतिक ताजगी दिन्छन् ।
७. वार्डरोबलाई व्यवस्थित राख्ने
दराज वा वार्डरोबमा राखिएका लुगाको पुरानो गन्धले पूरै कोठालाई प्रभावित गर्छ । समय कम छ भने दराज खोलेर हावा छिर्न दिने र कपूर, सानो थैलीमा सुकेको लेभेन्डर वा बेकिङ सोडाको पाउच राखिदिने । साथै लुगाहरू धुनुअघि भिनेगर मिसाएको पानीमा भिजाउने गर्न सकिन्छ । यो दुर्गन्ध हटाउने प्राकृतिक तरिका हो ।
८. कपासको बल र एसेंशियल आयलको ट्रिक
एउटा कपासको बल वा सानो कपासको टुक्रामा ४–५ थोपा एसेंशियल आयल लेभेन्डर, रोजमेरी वा लेमन हाल्ने र कोठाको कुनामा, ओछ्यान नजिक वा वार्डरोबमा राख्ने । यसले बिस्तारै सुगन्ध फैलाउँछ र लामो समयसम्म ताजगी कायम राख्छ । सानो जारमा बेकिङ सोडा र एसेंशियल आयल मिसाएर राख्न पनि सकिन्छ । यसले गन्ध सोर्छ र नयाँ बास्ना दिन्छ ।
९. फोहोर तुरुन्त बाहिर फाल्ने
कोठामा राखिएको सानो डस्टबिन वा फोहोरले दुर्गन्ध निम्त्याउन सक्छ । दैनिक सरसफाइ गर्दा यसलाई खाली गर्न बिर्सनु हुँदैन । डस्टबिनमा बेकिङ सोडा छरिदिने वा लेमनको बोक्रा राख्ने । यो प्राकृतिक डियोडोराइजर हो । फोहोर बाहिर फाल्नुअघि प्लास्टिक ब्याग राम्रोसँग बाँध्ने गर्नुपर्छ।
१०. हल्का संगीत र नरम प्रकाश
सुगन्धसँगै वातावरणले पनि ठूलो भूमिका खेल्छ । हल्का शान्त संगीत बजाउने र डिम लाइटिङ प्रयोग गर्ने गर्ने यसले मूड तुरुन्त राम्रो बनाउँछ र कोठालाई अझ आरामदायक बनाउँछ ।
कोठालाई सुगन्धित बनाउन प्राकृतिक सामग्री प्रयोग गर्दा स्वास्थ्यलाई कुनै हानि हुँदैन र कोठा लामो समयसम्म ताजा रहन्छ ।
प्रतिक्रिया 4