+
पीएम कप क्रिकेट :

करणलाई प्रतिबन्ध लाग्दा अम्पायरको प्रतिवाद गरेका सन्दीपलाई के कारबाही ?

२०८३ वैशाख  १ गते १३:३७ २०८३ वैशाख १ गते १३:३७
करणलाई प्रतिबन्ध लाग्दा अम्पायरको प्रतिवाद गरेका सन्दीपलाई के कारबाही ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलको प्रतिबन्ध र म्याच शुल्क जरिवाना गरेको थियो ।
  • मधेश प्रदेशमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सन्दीप लामिछानेले अम्पायरमाथि आक्रामक शैलीमा प्रतिवाद गरेका थिए ।
  • क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीपसहित अन्य खेलाडीको कारबाही प्रधानमन्त्री कपको पहिलो राउण्ड सकिएपछि सार्वजनिक गरिने बताएका छन् ।

१ वैशाख, काठमाडौं । खेलभावनाविपरीत अभिव्यक्ति दिएको भन्दै क्रिकेटर करण केसीलाई नेपाल क्रिकेट संघ (क्यान)ले एक खेलको प्रतिबन्ध र म्याच शुल्क जरिवाना गर्‍यो । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै करणमाथि कारबाही गरेको जानकारी दियो ।

केसीले गत शनिबार फेसबुकमा कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्दै प्रश्न गरेका थिए । आलोचना भएपछि केही समयमै उनले उक्त कमेन्ट हटाएर माफी मागिसकेका थिए ।

सोही विषयमा क्यानले करणबाट अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै एक खेलको प्रतिबन्ध र म्याच शुल्क जरिवाना गरेको हो । तर, त्यसको एक दिनअघि मैदानमै अम्पायरमाथि आक्रामक शैलीमा प्रतिवाद गरेका सन्दीप लामिछानेमाथि भने के कारबाही भए नभएको क्यानले खुलाएको छैन ।

मधेश प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटअन्तर्गत शुक्रबार मधेश प्रदेशविरुद्धको खेलका क्रममा बागमतीका कप्तान सन्दीपले अनफिल्ड अम्पायरमाथि लामो समयसम्म प्रतिवाद गरेका थिए ।

खेलको २३औं ओभरको दोस्रो बलमा बागमतीका प्रतिश जिसीले मधेशका आदिल आलमविरुद्ध एलबिडब्लुको अपिल गरेका थिए । तर, आउट नदिएपछि सन्दीपले अम्पायरसँग विवाद गरेका थिए ।

विवादका क्रममा सन्दीपले अम्पायरलाई धकेल्ने प्रयाससमेत गरेका थिए उनलाई बागमतीका इसान पाण्डे, शुभ कंसाकार र विवेक मगरले रोके । उक्त विषयमा अम्पायरहरूले गम्भीर असन्तुष्टि जनाए ।

विश्वका चर्चित लिग खेलिसकेका स्टार क्रिकेटर सन्दीपबाट भएको व्यवहार अस्वभाविक भएको उनीहरूको ठहर थियो । सामाजिक सञ्जालमा समेत चर्काे आलोचना भयो ।

म्याच रेफ्रीले पनि सन्दीपको व्यवहारलाई लिएर म्याच रिपोर्ट क्यानमा पठाइसकेका छन् । त्यसबारे क्यानले केही बोलेको छैन । क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीपसहित अन्य खेलाडीको कारबाहीको विषय एकैपटक जानकारी गराउने बताए ।

‘सन्दीपको म्याच ग्राउण्डमा अनफिल्ड अम्पायरसँग भएको कुरा हो । त्यसको नियम भनेको कोड अफ कन्डक्ट हो । त्यो अम्पायरको पनि हुन्छ । खेलाडीको पनि हुन्छ । त्यसको प्रधानमन्त्री कपको पहिलो राउण्ड सकिएपछि सबै सार्वजनिक गर्छाैं’ उनले भने ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र ब्याटर टिम डेभिड अनुशासनको कारबाहीमा परे । सोको जानकारी आइपीएलले खेल सकिएको केही समयमै दिएको छ । विश्वका धेरै प्रतियोगिताहरूमा पनि खेलाडीमाथिको कारबाहीका बारेमा स्पष्ट रुपमा जानकारी गराउने गरिन्छ । तर, क्यानले भने त्यसलाई लुकाएको छ ।

जारी पीएम कपमा यसअघि लुम्बिनी प्रदेशका कप्तान देव खनालमाथि कारबाही भएको थियो । अम्पायरको निर्णयमा असन्तुष्ट हुँदै विवाद गरेपछि उनलाई दुई डिमेरिट अंक प्रदान गरिएको थियो । २४ महिनामा उनको ५ डिमेरिट अंक पुगेपछि एक खेलको प्रतिबन्धमा परेका थिए ।

सन्दीपलाई पनि कारबाही स्वरुप डिमेरिट अंक दिइएको बुझिएको छ । उनी आजको लुम्बिनी प्रदेशविरुद्धको खेलमा भने खेलिरहेका छन् ।

करण केसी पीएम कप क्रिकेट सन्दीप लामिछाने
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय