१ वैशाख ,काठमाडौं । सरकारले नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिज को रूपमा रुपान्तरण गर्ने खालको कूटनीति र परराष्ट्र सम्बन्ध कायय गर्ने प्रस्ताव सहितको राष्ट्रिय प्रतिबद्धताको अघि सारेको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूका घोषणापत्रहरूलाई जोडेर छलफलका लागि तयार गरिएको मस्यौदामा त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गर्ने उल्लेख छ ।
‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रुपमा विश्वमञ्चमा स्थापित गरिनेछ’, राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा छ ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू-राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गर्ने पनि उल्लेख छ ।
नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक ‘परफरमेन्स अडिट’ प्रणाली सुरु गर्ने उल्लेख छ ।
नेपाल कुनै पनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिलाई बाधा पुऱ्याउँदछ भन्ने मान्यता सहित सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गर्ने उल्लेख छ ।
‘सम्पूर्ण कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथमः नेपाली प्रथम’ को अवधारणा आत्मसाथ गरिनेछ। आर्थिक कूटनीतिलाई बढावा दिनुका साथै सगरमाथा सम्वाद जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ’, मस्यौदामा भनिएको छ ।
जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्धा र भूपरिवेष्ठत राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रूपमा उठाउने पनि उल्लेख छ ।
वैदेशिक रोजगारमा जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्धा र भूपरिवेष्ठत राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रुपमा उठाइनेछ’ मस्यौदामा भनिएको छ ।
प्रतिक्रिया 4