१ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पश्चिम एसियाको युद्धका कारण विश्वको आर्थिक वृद्धि यसअघि प्रक्षेपण गरेभन्दा ०.३ प्रतिशत विन्दुले घटाएको छ । यसअघि आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्र ३.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेकोमा अप्रिल २०२६ को वर्ल्ड इकोनोमिक आउटलुकले त्यो अनुमानलाई घटाएर ३.१ प्रतिशतमा झारेको छ ।
नेपालको आर्थिक वृद्धि पनि यो वर्ष २.९५ प्रतिशत रहने प्रक्षेपण आईएमएफको छ । आगामी वर्ष भने आर्थिक वृद्धि ४.५ प्रतिशत हुने प्रक्षेपण आईएमएफले गरेको छ ।
बदलिँदो व्यावसायिक वातावरणलाई निजी क्षेत्रले अपनाएको, अमेरिकाले सुरुमा घोषणा गरेकोभन्दा भन्सार दर घटेको तथा प्रविधिको उछाल र अनुकूल वित्तीय अवस्थाका कारण सन् २०२६ को सुरुवातमा विश्व अर्थतन्त्रमा उत्साह देखिएको थियो ।
तर फेब्रुअरीको अन्त्यमा पश्चिम एसियामा सुरु भएको युद्धले यो गतिलाई अवरुद्ध गरिदिएको आईएमएफले जनाएको छ । ‘मध्यपूर्वको द्वन्द्वले आर्थिक वृद्धिको गतिलाई रोकिदिएको छ र क्षतिलाई कम गर्न सही नीति र बलियो विश्वव्यापी सहयोगको आवश्यकता छ,’ आईएमएफका आर्थिक सल्लाहकार पिएरे–ओलिभर गोरिन्चासले मंगलबार फ्ल्यागसिप प्रकाशन वर्ल्ड इकोनोमिक आउटलुक सार्वजनिक गर्दै बताए ।
युद्ध लम्बिँदै गए र ऊर्जा पूर्वाधारमा थप क्षति पुगेमा यो दर २ प्रतिशतसम्म झर्न सक्ने प्रक्षेपण पनि आइएमएफले गरेको छ । आईएमएफले यस पटकको प्रतिवेदनको थिम नै ‘युद्धको छायामा विश्व अर्थतन्त्र’ राखेको छ ।
युद्ध कति लम्बिन्छ र त्यो कुन ढंगले अघि बढ्छ, तनाव अन्त्य भएपछि ऊर्जा उत्पादन र ढुवानी कति चाँडो सामान्य स्थितिमा फर्किन्छ भन्ने कुरामाथि यसले पार्ने प्रभाव के हुन्छ त्यो निर्भर हुने गोरिन्चासले बताए ।
खास गरी यसको प्रभावलाई तीन वटा परिदृश्यमा हेरेर विश्व अर्थतन्त्रको विस्तार त्यसमा निर्भर हुने पनि आईएमएफले जनाएको छ ।

द्वन्द्व छोटो अवधिमै सकियो र २०२६ मा ऊर्जाको मूल्य १९ प्रतिशतको मध्यम हिसाबले मात्रै वृद्धि भयो भने यस वर्ष विश्व आर्थिक वृद्धिलाई ३.१ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । यो परिदृश्यमा मुद्रास्फीति ४.४ प्रतिशत पुग्ने जुसले पछिल्ला वर्षहरूमा देखिएको वैश्विक अपस्फीतिकरणको प्रवृत्तिलाई उल्ट्याउने आईएमएफले जनाएको छ ।
दोस्रो– स्ट्रेट अफ हर्मुजमा लामो अवरोध भयो र ड्रिलिङ तथा रिफाइनिङ सुविधाहरूमा थप क्षति पुग्न सक्ने परिदृश्यको आकलन आईएमएफले गरेको छ । त्यसो भयो भने विश्व अर्थतन्त्र अझ गहिरो र दीर्घकालीन रूपमा अवरुद्ध हुने आईएमएफको भनाइ छ ।
यस्तो प्रतिकूल परिदृश्यमा यस वर्ष ऊर्जाको मूल्यमा अझ धेरै वृद्धि हुने, मुद्रास्फीति थप बढ्ने एवम् वित्तीय स्थितिमा कडाइ हुने हुँदा वृद्धिदर २.५ प्रतिशतमा झर्ने र मुद्रास्फीति ५.४ प्रतिशतमा पुग्ने प्रक्षेपण आईएमएफको छ ।
त्यसभन्दा पनि गम्भीर बन्यो भने आर्थिक वृद्धि अझै कमजोर हुने र मूल्यवृद्धिमाथिको चाप अझै थपिने आकलन आईएमएफको छ । ऊर्जा आपूर्तिको अवरोध अर्को वर्षसम्म तानियो, मुद्रास्फीति अपेक्षा उल्लेख्य रूपमा अस्थिर भयो र वित्तीय अवस्था निकै नै कसियो भयो भने विश्वको आर्थिक वृद्धि यस वर्ष मात्रै होइन अर्को वर्ष पनि २ प्रतिशतमा सीमित हुने र मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि पुग्ने प्रक्षेपण आईएमएफको छ ।
अहिले अस्थायी युद्ध विरामका समाचार आए पनि धेरै नै केही क्षति भइसकेको र त्यसले वृद्धिदरलाई न्यून बनाउने जोखिम अझै पनि उच्च नै रहेको आईएमएफले जनाएको छ ।
प्रतिवेदनका अनुसार आयातमा निर्भर रहेका न्यून आय भएका र विकासोन्मुख देशहरू सबैभन्दा बढी मारमा पर्नेछन् । खास गरी यसको कारणले उत्पत्ति हुने मूल्यवृद्धिको मारमा गरिब देश र त्यहाँका जनता पर्ने जोखिम धेरै हुन्छ ।
‘पश्चिम एसियामा श्रमिक आपूर्ति गर्ने देशहरूमा विप्रेषणको प्रवाह घट्नेछ,’ आईएमएफका आर्थिक सल्लाहकार गोरिन्चासले बताए ।
यो नेपालजस्ता पश्चिम एसियाली देशमा ठूलो मात्रामा श्रमिक पठाउने देशहरूका लागि चिन्ताको विषय हो । नेपालमा औपचारिक रूपमा प्राप्त हुने रेमिट्यान्सको ४१ प्रतिशत पश्चिम एसियाली मुलुकबाट भित्रने नेपाल राष्ट्रबैंकको प्रक्षेपण छ ।
युद्धका कारण पर्यटकीय र व्यावसायिक गतिविधि सुस्त हुँदा नेपाली श्रमिकहरूको रोजगारी र आम्दानीमा प्रत्यक्ष असर पर्ने सम्भावना पनि छ । यो संकटका कारण पुँजी पलायनको जोखिमलाई पनि आईएमएफले देखाएको छ ।
विश्वव्यापी जोखिम बढेसँगै लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा अमेरिकी डलरतर्फ आकर्षित हुने, जसले गर्दा विकासोन्मुख देशहरूको मुद्रा कमजोर हुने र ऋण तिर्ने क्षममा ह्रास आउने सम्भावना भएको पनि आईएमएफले जनाएको छ ।
‘न्यून आय भएका र विकासोन्मुख अर्थतन्त्रहरू- विशेष गरी पहिलेदेखि जोखिममा रहेका र र सीमित बफर रहेका देशहरू यसबाट सबैभन्दा धेरै प्रभावित हुने सम्भावना छ,’ गोरिन्चासले भनेका छन् ।
आईएमएफले सन् २०२२ को युक्रेन युद्धको संकटबाट पाठ सिक्नुपर्ने बताएको छ । सरकारहरूलाई सुझाव दिँदै गोरिन्चास लेख्छन्, ‘मूल्य नियन्त्रण र निर्यात प्रतिबन्धले समस्या समाधान गर्दैनन्, बरु उल्टो असर गर्छन् ।’
आवश्यक परेमा, जोखिममा रहेका घरपरिवार र कम्पनीहरूलाई प्रत्यक्ष र लक्षित नगद हस्तान्तरण गर्नु व्यापक अनुदान दिनु भन्दा कम लागतमा बढी राहत दिने उपाय भएको उनको भनाइ छ ।
देशहरूलाई आफ्नो खर्चको प्राथमिकता पुनरावलोकन गर्न र वित्तीय अनुशासन कायम राख्न समेत आईएमएफले आग्रह गरेको छ ।
युद्धले मानवीय क्षतिका साथै ठूलो र स्थायी आर्थिक लागत निम्त्याउने चेतावनी आईएमएफले दिएको छ । ‘विश्व अर्थतन्त्र थप बहु ध्रुवीय हुँदै जाँदा थप विखण्डित हुनु हुँदैन । हामीले विश्वव्यापी सहयोगलाई सुदृढ गरिरहनुपर्छ,’ गोरिन्चासले भने ।
प्रतिक्रिया 4