+
+
Shares

‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा, सैनिक मञ्‍चमा मनाइयो प्रथम आरोग्य दिवस

आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्र संघले १५ अप्रिललाई \'अन्तर्राष्ट्रिय आरोग्य दिवस\' का रूपमा मान्यता दिएपछि पहिलोपटक २ वैशाखमा सैनिक मञ्च टुँडिखेलमा दिवस मनाइएको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले आगामी वर्षलाई \'नेपाल आरोग्य वर्ष २०२७\' घोषणा गरेका छन्।
  • सभामुख डीपी अर्यालले आरोग्यलाई विश्वव्यापी प्राथमिकता बनाउनुपर्ने र नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्य बनाउने आवश्यकता औँल्याए।

२ वैशाख, काठमाडौं । संयुक्त राष्ट्र संघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ ।

यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ ले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सभामुख डीपी अर्यालले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताए ।

‘आरोग्य केवल रोग नहुनुमात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो,’ उनले भने ।

सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावबीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

उनले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गरे । ‘हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ,’ उनले भने, ‘अब संख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ ।’

त्यसैगरी पर्यटनमन्त्री पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्ने र यसबाट नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्ने बताए । ‘आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नैभित्र फर्किने साहस हो, यो आत्माको मौनता बुझ्ने कला हो,’ उनले भने ।

मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै विश्वमा १ अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्‍वमा आरोग्य अतिआवश्यक भएको उल्लेख गरे । ‘मानिससँग सबै कुरा छ, तर दुई पलको शान्ति छैन, अब विश्वले खोजेको शान्ति नेपालले दिन सक्छ,’ उनले भने ।

उनका अनुसार सरकारले आरोग्य पर्यटनलाई ‘सफ्टपावर’ का रूपमा विकास गर्ने नीति लिएको छ । ‘सरकारको सय बुँदे कार्ययोजनामा नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य छ र त्यसको आधारमा सन् २०२७ लाई आरोग्य वर्ष घोषणा गरिएको हो,’ उनले भने ।

सरकारले आरोग्य पर्यटनलाई दिगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धिसँग जोड्ने लक्ष्य राखेको छ । मन्त्री पौडेलले नेपाललाई केवल घुम्ने गन्तव्य नभई ‘आफूलाई चिन्ने र आत्मिक शान्ति खोज्ने केन्द्र’ का रूपमा विश्वमा स्थापित गर्ने सन्देश दिइएको छ ।

कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको औँल्याए ।

‘नेतृत्व लिनुअघि स्वामित्व लिनुपर्छ, आरोग्यका तीन चरण छन् र नेपालमा ५० लाखभन्दा बढी मानिस स्वजाग्र ध्यानमा संलग्न छन्,’ उनले भने ।

उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउँदै आर्थिक समृद्धिसँग जोड्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा र दीर्घकालीन बसाइ नीतिको आवश्यकता औँल्याए ।

कार्यक्रम सुरुवातमा बौद्ध भिक्षुणी तथा गायिका आनीछोइङ डोल्माद्वारा मन्त्रोच्चारण गरिएको थियो भने ध्यान र योग सत्र पनि सञ्‍चालन गरिएको थियो । त्यसैगरी स्पा एसोसिएनका प्रतिनिधिले हिलिङबारे जानकारी गराएको थियो ।

कार्यक्रममा ध्यान तथा योग, आरोग्य पर्यटन रणनीति र लोगोसमेत सार्वजनिक गरिएको थियो । नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघ महासभाले १५ अप्रिललाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा औपचारिक मान्यता दिएको थियो । उक्त मान्यतापछि विश्वभरि पहिलो पटक यो दिवस मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?