३ वैशाख, पाँचथर । बिहान घामको झुल्को देखिएको थिएन । तर हिउँले गोठका छानो छोपिसकेको थियो । गोठको आगनमा चौँरी भेला भइसकेका थिए ।
पाँचथरको फालोटमा २०६० अगाडिदेखि नै चौँरी पालन गरेर बसेका नगेन्द्र रिजाल ढुङ्ग्रो लिएर दुहुन थाले ।
‘तातो फिरेपछि उभौली लाग्यो । अब चौँरीले बच्चा जन्माउने, दूध दुहुने सिजन सुरु भयो । असोजसम्म हामी यही हुन्छौँ’, उनले भने, ‘हामीले समूहमा चिज फ्याक्ट्री खोलेका छौं । म आफै चिजको प्राविधिक पनि हो । अब हामी उधौली लागेसम्म यही खट्छौं ।’
फालोट अधिकांश गोठमा चौँरी आही पुगिसकेका छन् । याक, चौँरी व्यवसायीको दूध उत्पादन गर्ने, छुर्पी, घिउ, चिज बनाएर बेच्ने सिजन सुरु भएको छ । चिसो बढ्दै गएपछि याक, चौँरी तलतिर झरेका हुन्छन् ।

याक, चौँरी व्यवसायी महासंघका अध्यक्ष पाविहाङ राईका अनुसार समुद्र सतहदेखि ३ हजार ५ सय मिटरको उचाइसम्म चौँरी र त्यो भन्दा माथि याक/नाक रहन्छन् । उनका अनुसार नेपालका २६ जिल्लामा याक/चौँरी पालन गरिएको छ ।
हिमालको गहना मानिएका चौँरी, याक उच्च पहाडी तथा हिमाली क्षेत्रमा पालिन्छ । कार्तिक–मंसिरदेखि पशु–चौपाया पनि जाडो बिदा मनाउन औल आइपुग्छन् ।
पाँचथर, ताप्लेजुङका अधिकांश गोठमा चहलपहल सुरु भएको छ । चौँरीका विभिन्न नाम र प्रजाति रहेका छन् । चौँरीका विभिन्न चक्र रहेका छन । दूधजन्य उत्पादनका लागि नाक, चौँरीको महत्त्वपूर्ण मानिन्छ ।

परम्परागत रूपमा चौँरी, याक, भेडा पालन गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा चहर्ने चौँरी डुलाउनमा ठूलो सङ्ख्याले रोजगारी पाएका छन् । घरभन्दा टाढा बसेर सुविधा कम भएका ठाउँमा पशुपालन गर्नेको जीवन शैली छुट्टै छ ।
वैदेशिक रोजगारी आठ वर्ष कतार बसेर फर्केर फालेलुङमा चौँरी गोठ थालेका नवीन साउदेनका अनुसार दूधजन्य उत्पादन जोड दिइएको छ । ‘यहाँकै भूगोलमा रमाएका छौं, चौँरीको घिउ, छुर्पीको महत्त्व निक्कै छ,’ उनी भन्छन्, ‘हामीलाई यहीको हावापानी रमाइलो लाग्छ । नानीहरू पढाउन र पाल्न सहज भएको छ ।’ उनले चौँरी नै आफ्नो परम्परा र संस्कृति रहेको बताए ।

कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, ताप्लेजुङ, इलाम, पाँचथरमा चौँरी पालन हुन्छ । पाँचथरको याङ्वरक र फालेलुङ गाउँपालिकामा चौँरी पालन हुने गरेको छ ।
पाँचथरमा ४४ वटा गोठमा एक हजार ३५० को हाराहारीमा याक/चौँरी रहेको बताइएको छ । ताप्लेजुङका मैवाखोला, मेरिङदेन, मिक्वाखोला, फक्ताङ्लुङ, सिरिजङ्गा, सिदिङ्वा गाउँपालिका र फुङलिङ नगरपालिकामा याक, चौँरी पालन हुन्छ । ‘ताप्लेजुङमा ६ हजार हाराहारीमा याक, चौँरी रहेका छन् । जिल्ला भरीमा ९५ गोठ रहेका छन्’, याक–चौँरी व्यवसायी महासंघ ताप्लेजुङमा अध्यक्ष नुपु शेर्पाले भने, ‘कोभिडपछि याक चीन बेच्न नपाउँदा समस्या भइरहेको छ ।’
व्यावसायिक वृद्धि गर्न चिज उत्पादन थालिएको फालोटका चन्द्रलाल नेपालले बताउँछन् । चिजको माग बढ्दै गएको उनको भनाइ छ ।
प्रतिक्रिया 4