एडोबीले गत अक्टोबरमा ‘प्रोजेक्ट मुनलाइट’ को नाममा प्रदर्शन गरेको आफ्नो नयाँ एआई सहयोगीलाई अहिले आधिकारिक रूपमा ‘फायरफ्लाई एआई असिस्टेन्ट’को रूपमा सार्वजनिक गरेको छ।
यो असिस्टेन्टले एडोबीका विभिन्न एपहरू जस्तै फोटोशप, एक्रोब्याट, र एक्सप्रेसलाई एकसाथ जोडेर प्रयोगकर्ताका जटिल कामहरू सजिलै गरिदिनेछ।
यो एआई असिस्टेन्ट आउँदो केही हप्तामा पब्लिक बिटा परीक्षणका लागि उपलब्ध हुनेछ। यसका मुख्य विशेषताहरू यस प्रकार रहेका छन् :
-
क्रस-एप टास्क : यो असिस्टेन्टले फायरफ्लाई, फोटोशप, प्रिमियर प्रो, लाइटिङरुम, इलुस्ट्रेटर र एक्सप्रेस जस्ता धेरै एपहरूमा एकैसाथ काम गर्न सक्छ। प्रयोगकर्ताले केवल आफूलाई चाहिएको कुरा वर्णन गरे पुग्छ, बाँकी काम एआईले नै गर्नेछ।
-
स्मार्ट कन्ट्रोल र सल्लाह: यसमा टेक्स्ट प्रम्प्टका साथै बटन र स्लाइडरहरूको सुविधा पनि छ। जस्तै, यदि तपाईँ वनको पृष्ठभूमिमा फोटो सम्पादन गर्दै हुनुहुन्छ भने, एआईले स्लाइडरमार्फत रूख वा पातहरूको संख्या घटाउन वा बढाउन विकल्प दिनेछ।
-
सिकाई क्षमता: एडोबीका अनुसार यो असिस्टेन्टले समयसँगै प्रयोगकर्ताको सिर्जनात्मक शैली र प्राथमिकताहरू सिक्दै जानेछ र त्यसै अनुसार कामहरू सुझाउनेछ।
-
मल्टि-स्टेप ‘स्किल्स’ : यसले सामाजिक सञ्जालका लागि सामग्री तयार पार्ने जस्ता धेरै चरण भएका कामहरूलाई पनि स्वचालित बनाउनेछ। यसले आफैँ फोटो क्रप गर्ने, फाइलको साइज मिलाउने र विभिन्न प्लेटफर्मका लागि फाइल सेभ गर्ने काम गर्नेछ।
-
भिडियो एडिटमा सुधार: फायरफ्लाईको भिडियो सम्पादक फिचरमा आवाजबाट अनावश्यक ‘नोइज’ हटाउने, संगीत र रङ्ग समायोजन गर्ने र एडोबी स्टक लाइब्रेरीसँग सिधै जोडिने नयाँ सुविधाहरू थपिएका छन्।
एडोबीमा एआई र इनोभेसनका उपाध्यक्ष अलेक्जान्ड्रु कोस्टिनले यस प्रविधिबारे चर्चा गरेका छन्। उनी भन्छन्, “फायरफ्लाई एआई असिस्टेन्टमार्फत हामीसँग हाम्रा धेरै एपहरू चलाउन सिक्नुपर्ने झन्झटलाई हटाउने र ग्राहकहरूलाई सजिलै सबै सेवा उपलब्ध गराउने अवसर छ।”
यसका साथै एडोबीले क्लिंग ३.० जस्ता थर्ड-पार्टी एआई मोडेलहरूलाई पनि आफ्नो लाइब्रेरीमा समेट्दै लगेको छ, जसले गर्दा प्रयोगकर्ताले अझ धेरै विकल्पहरू पाउनेछन्।
प्रतिक्रिया 4