News Summary
Generated by OK AI. Editorially reviewed.- कविताले आङीको आँखामा हराएका सपनाहरू र समयसँगै नफेरिएको आँखा रङको कथा सुनाएको छ।
- आस्याङले छोडेको फूलबुट्टे झोला आँसु, अपहेलना र सङ्घर्षले भरिएको छ र आज चितामाथिको बाटो भएर बिदा भएको छ।
- नयाँ साल र ऋतु परिवर्तनले प्रकृतिमा नयाँ जीवन ल्याए पनि आङीको आँखाको रङ फेरिएको छैन भन्ने भाव कवितामा व्यक्त गरिएको छ।
आफ्नै उज्यालोभित्र
गुमनाम,
एउटा आशाको दीप–
झ्याप्प निभेको
कठ्याङ्ग्रिँदो
रात !
आङीको धमिलो
आँखाभित्र
नुनिला सपनाहरू,
बादलभित्र
हराएको एक्लो जुनझैँ,
हराएर गयो,
अनकन्टार चिसा
बस्तीहरूमा,
छरिएर बतासका
झोक्काहरूमा !

हरेक वर्ष
नयाँ साल,
पृथ्वीको एक
चक्कर काटेर
आङीको आँगनको
चौकोसमा आइपुग्छ
ऋतुहरू बदलिएर
बारीका डिलहरूमा
वसन्त आइझुल्छन्,
आकाशका बादल लामो
सुस्केरा हाल्दै
धर्तीलाई भेट्न
आउँछन्,
दूधिलो र
कुटमिरोका हाँगाहरूले पनि
नयाँ पालुवा फेरिसके
तर फेरिएन,
फेरिएन आङीको
आँखाको रङ !
कुन साल, के याम ?
धेरै समय भइसकेछ,
आस्याङले– त्यो
नासो
एउटा फूलबुट्टे
झोला
छोडेर गएको !
आँसु, अपहेलना र सङ्घर्षले भरिएको,
निकै गरुङ्गो
त्यो फूलबुट्टे झोला
विश्राम नै
नलिई–नलिई,
उकाली र ओराली
गर्दै,
बिसौँ कोस दूर
आइपुगिसकेछ
र आज अनायासै,
आङीलाई नै नसोधी–
कहिल्यै नफर्किने
चितामाथिको बाटो
भएर,
बिदा भएछ !
आज आमाको मुख
हेर्ने दिन रहेछ !
(इलाका प्रहरी कार्यालय, सिजुवाका प्रमुख)
प्रतिक्रिया 4