News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगितामा निरज तामाङले उपाधि रक्षा गर्दै पाँचौं करियर उपाधि जितेका छन् ।
- निरजले फाइनलमा १०औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ ले हराउँदै नगद १ लाख प्राप्त गरे ।
- प्रतियोगितामा शीर्ष १६ खेलाडी सहभागी थिए र कुल पुरस्कार राशि ४ लाख २५ हजार रहेको थियो ।
४ वैशाख, काठमाडौं । साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि रक्षा गर्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि हो।
लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १०औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ ले हराउँदै उपाधि जितेका हुन् । जारी सिजनको दोस्रो उपाधि जितेका निरजले नगद १ लाख प्राप्त गरे ।
रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा कुनै पनि समय टंकले निरजलाई उछिन्न सकेनन् । नवौं होलको समाप्तिमा निरजले २ होलको अग्रता बनाएका थिए । १८औं होल सकिँदा भने ५ होलको स्पष्ट अग्रता बनाए । यसपछि २०औं होल टंकले जित्दै अग्रता ४ होलमा झारे । तर २२औं होलमा इगल प्रहार गर्दै निरजले पुन: ५ होलको अग्रता बनाए ।
५-० ले पछि परेका टंकले २३औं, २४औं र २५औं होल जित्दै अग्रता २ होलमा घटाए । यसपछि ३३औं होल निरजले जिते भने ३४औं होल बराबरीमा सकिँदा २ होल अगाडि निरजले ३/२ को जितका साथ उपाधि रक्षा गरे ।
टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्नबाट चुके । टंकले ७५ हजार हात पारे । छेटौं वरियताका रवि खड्का तेस्रो भए । उनले चौथो वरियताका सञ्जय लामालाई ३/१ ले हराए । तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।
तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो ।
क्वाटरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापति र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे। पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे।
प्रतिक्रिया 4